पाल्पा-२ मा नयाँ/पुराना उम्मेदवार मतदाता आकर्षित गर्न व्यस्त

पाल्पा-२ मा एमाले र नेकपाले २०७९ मै उम्मेदवार बनेकालाई नै टिकट दिएको छ । कांग्रेस र रास्वपाले भने नयाँ उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

माघ १६, २०८२

माधव अर्याल

New/old candidates busy attracting voters in Palpa-2

What you should know

पाल्पा — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा–२, मा नयाँ र पुराना उम्मेदवार मतदाता आकर्षिक गर्न व्यस्त छन् । उम्मेदवारहरूले भेला, छलफल र घरदैलो सुरु गरेपछि चुनावी रौनकसमेत थपिएको छ । मतदातालाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने दाउमा उम्मेदवार देखिएका छन् । 

यस निर्वाचन क्षेत्रमा एमाले र नेकपाले २०७९ मै उम्मेदवार बनेकालाई नै टिकट दिएको छ । कांग्रेस र रास्वपाले भने नयाँ उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । 

पाल्पा–२ बाट यसअघि २०७९ को निर्वाचनमा एमालेबाट उम्‍मेदवार भएका ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको साझा नेकपा एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई गैरेलाई पराजित गरेका थिए । गैरेले २७ हजार ८ सय १७ मत पाएका थिए भने एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८ सय ५१ मत ल्‍याएका थिए ।

उनीहरूको मतान्तर ३ हजार ९ सय ६६ थियो । त्यस निर्वाचनमा रास्वपाका उम्‍मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत ल्याएका थिए । यसअघिको निर्वाचनमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा थिए । 

यस पटक पनि एमालेबाट गैरे उम्मेदवार छन् । यसअघि एकीकृत समाजवादीलाई सघाएको कांग्रेसका तर्फबाट युवा नेता तथा पार्टी सभापति हिमालदत्त श्रेष्ठ चुनावी मैदानमा छन् । नेकपाबाट पुनः सोमप्रसाद पाण्डेय चुनावी मैदानमा छन् । जिल्लाका पुराना र अनुभवी नेता हुन् पाण्डेय । २०५१ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका पाण्डेय पूर्वमन्त्रीसमेत हुन् । राप्रपाबाट जिल्ला अध्यक्ष तथा पुराना नेता डुलबहादुर कुँवर चुनावी मैदानमा छन् । रास्वपाबाट माधव थापा चुनावी प्रतिस्पर्धामा छन् । 

विगतका निर्वाचनको मत परिणाम हेर्दा मुख्यतः एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेन पाल्पाका अनुसार क्षेत्र नं. २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ उम्मेदवार कायम छन् । क्षेत्र २ बाट मुख्य चार दलबाहेक राप्रपाबाट डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामीले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमुक्ति पार्टीमा टोपबहादुर अस्लामी, जनता समाजवादी पाटी (एकल चुनाव चिह्न) बाट खिकबहादुर रेश्मी, नेसनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामीले मनोनयन गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्व सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, नेकपा (माओवादी) बाट बिष्णु ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसीले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट मोहन कुंवर थापा मगर, केशव प्रसाद बस्यालले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् । 

नेकपाका पाण्डेय पूर्व उद्योगमन्त्री ०५१ सालबाट निर्वाचन लड्दै आएका अनुभवी नेता हुन् । कांग्रेसका श्रेष्ठ पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन् । एमालेका गैरे ०७९ को निर्वाचनमा तत्कालीन एसका पाण्डेयलाई पराजित गर्दै सांसद बनेका थिए । नेकपाका पाण्डेय साविकको २ नम्बर क्षेत्रबाट २०५१, ०५६, ०६४, ०७० का उम्मेदवार हुन् । उनले ०६४ को निर्वाचनमा मात्र हार व्यहोरेका थिए । संघीयतापछि २ क्षेत्र भएको पाल्पाको क्षेत्र २ बाट पाण्डेय २०७४ मा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमा फराकिलो मतान्तरसहित जित हासिल गरेका नेता हुन् । 

पाण्डेयले यसअघि जिल्लाका शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधार, खानेपानीजस्ता अनेक पूर्वाधार विकासका काम गरेको र बाँकी कामका लागि उम्मेदवार भएको बताउने गरेका छन् । उनले यसपटक सिद्धबाबाबाट आफ्नो चुनावी अभियान सुरु गर्दै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख एजेन्डा बनाएको बताए । 

एमालेका गैरेले पछिल्लो समय जनताका आफूप्रति केही गुनासाहरू रहेको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआउने प्रतिवद्धता जनाउँदै घरदैलोमा पुगेका छन् । उनले पाल्पाको विकास र समृद्धिका पक्षमा सडकदेखि सदनसम्म काम गर्ने बताए । ०७९ पछि ३१ महिनामा सुरु गरेका र गर्न बाँकी कामहरुलाई उपलब्धिमूलक बनाउन पुनः एकपटक आफ्नो उम्मेदवारी रहेको नेता गैरेले मतदातालाई बताउने गरेका छन् । क्रमिक रुपमा नागरिकका गुनासो सम्बोधन गर्न काम गर्ने उनले बताए । क्षेत्र नम्बर २ मै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, रामबहादुर राउतले टिकट पाए भए पनि अन्तिममा फेरबदल गरी गैरेले पाएका थिए । 

कांग्रेसका श्रेष्ठले जिल्लाका नागरिकले भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका समस्या झेल्नुपरेको बताए । विगतदेखि झेल्दै आएका समस्याको विषय आफूले राम्रोसँग बुझेको उनले बताए । उनले आफ्नो मुख्य प्राथमिकता जनताको जनजीविकाको सवाललाई उठाउने रहेको बताए । पाल्पाको समृद्धि नै पर्यटन र कृषि भएकाले सुन्तला, तरकारी, अकबरे खुर्सानीलगायतबाट किसानको आर्थिक विकासमा सहयोग गर्न सकिने उनले बताए । सबै मतदाताप्रति पूर्ण उत्तरदायी, जिम्मेवार हुने र सधैं दुःख सुखमा साथ दिने प्रतिबद्धता जनाउँदै घरदैलोमा पुगेका छन् । 

रास्वपाका उम्मेदवार थापा यसअघि कांग्रेसका जिल्ला सदस्य हुन् । अहिले थापाले विगतमा हुन नसकेका कामलाई पूरा गर्ने र युवाको काँधमा जिम्मेवारी दिनुपर्ने बताउँदै मत मागेका छन् । साथै भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शीता, जवाफदेहिता र सुशासनको पक्षमा आफूले काम गर्ने थापाले मतदातासमक्ष बताउने गरेका छन् ।

सबै उम्मेदवारसँग मित्रवत प्रतिस्पर्धा  हुने भएकाले कुनै पनि अन्य उमेदवारलाई कुनै प्रकारको आक्षेप नलगाउने थापाले बताए । आफूले जित प्राप्त गरेमा शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधार विकासमा ध्यान दिने उनले बताए । क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully