हुम्लामा भयरहित मतदानको वातावरण बनाउन आयोग र गृह मन्त्रालयलाई लाजोमको पत्र

यसअघिका स्थानीय चुनाव र प्रतिनिधिसभाको चुनावमा निर्वाचन आचारसंहिताविपरीतका कार्य हुने गरेको गुनासो हुम्लाका मतदाताको रहेको छ : टासी लाजोम

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Lajom's letter to the Commission and the Ministry of Home Affairs to create a fearless voting environment in Humla

What you should know

काठमाडौँ — हुम्लामा निष्पक्ष र भयरहित मतदानको व्यवस्था गराइदिन माग गर्दै रास्वपा उम्मेदवार टासी लाजोमले निर्वाचन आयोग र गृह मन्त्रालयमा पत्र लेखेकी छन् ।

उनले विगतमा हुम्लामा निष्पक्ष र भयरहित वातावरणमा मतदाताले मतदान गर्न नपाएको दाबी गर्दै आयोग र गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन् । 

प्रतिनिधिसभाको आगामी फागुन २१ मा हुन गइरहेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेर मनोनयन दर्ता गराएपछि मतदातासँग कुराकानी गर्दा विगतमा निष्पक्ष मतदानको अवसर नपाएको गुनासो आएको लाजोमको भनाइ छ ।

'हुम्लाको निर्वाचन संस्कारबारे जनस्तरमा धेरै गुनासो प्राप्त भयो- चुनावको दिन मतदान केन्द्रमा भने दलीय राजनीतिकरण हुने, मतदाताहरूको मतदान गर्ने अधिकारी हनन हुने, आफैंले मतदान गर्न पाउने हक हनन गर्दै मतदातामाथि दबाब, धम्कीसमेत कार्य हुने र यस्तो समयमा सुरक्षाकर्मी समेत मूकदर्शक मात्रै हुने गरेको,' उनले लेखेको पत्रमा दाबी गरिएको छ, 'यसअघिका स्थानीय चुनाव र प्रतिनिधिसभाको चुनावमा निर्वाचन आचारसंहिता विपरीतका कार्य हुने गरेको गुनासो हुम्लाका मतदाताको रहेको छ ।'

हुम्लामा निर्वाचनका बेला मतदाताको गोपनीयताको हक कायम नहुने, मतदाताले वारेसनामा कुनै व्यक्ति तथा समूहको दबाब र त्रासका कारण दिनुपर्ने बाध्यता रहेको र वारेसनामा अपाङ्ग तथा वृद्धवृद्धाको हकमा मात्र लागू हुनुपर्ने भए तापनि जाँचबुझ गर्ने अधिकृतले त्यसमा कडाई नगरेको पाइएको लाजोमको दाबी छ ।

आगामी निर्वाचनका लागि आयोगको हालसम्मको कार्य सन्तोषजनक रहेको भन्दै लाजोमले मतदानको दिन थप सक्रियता अपनाइदिन निर्वाचन आयोग र गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । 'यसपालीको निर्वाचनमा भने आयोगले यसमा निकै सक्रिय भूमिका निर्वाह गरेर मतदाताको गोपनीयताको अधिकार र भयरहित वातावरण सुनिश्चित गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेकी छु । मतदाताले कुनै व्यक्ति वा समूहको दबाबमा नपरी स्वच्छ, निष्पक्ष र भयरहीत ढङ्गले मत खसाल्न पाउनुपर्छ,' लाजोमको माग छ ।

वारेसनामाको आवश्यक अनुगमन हुनैपर्ने र मतदान केन्द्रमा सीसीटीभी जडान गर्नुपर्ने उनको माग छ । 

मतदान पछिको सुरक्षा व्यवस्थाबारे पनि आवश्यक प्रबन्ध गरिदिन उनले गृह मन्त्रालयलाई पत्र लेखेकी हुन् । 'लोकतान्त्रिक अभ्यासमा हरेक नेपाली नागरिकको मताधिकारलाई सुनिश्चित गर्नु नेपाल सरकार र निर्वाचन आयोग दुवैको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने हुनाले यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिनुहुन म यहाँलाई अनुरोध गर्दछु ,' उनले भनेकी छन् ।

हिमतपात भइरहेकोले मतदातालाई मतदान स्थलसम्म पुग्नको लागि आवश्यक प्रबन्ध गरिदिन पनि लाजोमले सम्बन्धित निकायसँग आग्रह गरेकी छन् । 

कान्तिपुर

Link copied successfully