बस्तीमा बेरोजगारीसँगै स्वास्थ्य र शिक्षाको कमी छ। यही अभावका कारण हरेक पटक निर्वाचनमा ‘भोट बैंक’ बन्ने गरेको स्थानीय स्वीकार्छन्।
What you should know
पाल्पा — पाल्पाको बगनासकाली–१, घोरबन्दाकी इन्द्रकला कुमालले सामाजिक सञ्जालबाट फागुन २१ गतेको चुनावमा आफ्नो क्षेत्रका उम्मेदवारबारे जानकारी पाइन्। चुनाव लागेपछि नेता र कार्यकर्ता भोट माग्न आउने उनले बताइन्।
उनका अनुसार प्रत्येक निर्वाचनमा गाउँमा आएर उम्मेदवारले आश्वासन बाँडे पनि स्थानीयका समस्या हल गर्दैनन्। त्यसैले ५० प्रतिशत कुमाल समुदायको बसोबास रहेको बस्तीका समस्या ज्यूँका त्यूँ छन्।
‘१० वर्षअघिसम्म ज्याला मजदुरी गरेर पनि गुजारा चलाउन सकिन्थ्यो,’ उनले भनिन्, ‘गाउँमा खेतीपाती गर्न छाडियो। काम खोज्दै बजार गयो, ज्याला मजदुरी नपाउने अवस्था छ।’ यहाँ रोजगार नपाएपछि युवाजति खाडी मुलुक पलायन हुनाले गाउँमा तन्नेरीको संख्या कम भइसकेको उनले बताइन्।
स्थानीय दमन्ती कुमाल ज्याला मजदुरी गरेर खाने अवस्था नरहेको बताउँछिन्। उनका अनुसार पहिले गिट्टी–बालुवा बोक्ने काम मिल्थ्यो। अहिले ट्र्याक्टर घरसम्मै पुग्न थालेको छ। ‘ठेकेदारले जसरी सस्तो पर्छ, सोहीअनुसार काम लगाउँछन्,’ उनले भनिन्, ‘काम पाउन छाडेपछि युवाजति विदेश लागे। हामी महिलाले के गर्ने हो, खै?’
घोरबन्दाका १ सय २५ घरपरिवारमध्ये आधाले दैनिक मजदुरी नगरे खान पाउँदैनन्। पाल्पा–२ अन्तर्गत रहेको बस्ती सदरमुकाम तानसेनबाट ५ किलोमिटर टाढा पर्छ। बस्तीमा बेरोजगारीसँगै स्वास्थ्य र शिक्षाको कमी छ। यही अभावका कारण हरेकपटक निर्वाचनमा ‘भोट बैंक’ बन्ने गरेको स्थानीय स्वीकार्छन्।
‘चुनाव कता आएको छ कुन्नि,’ स्थानीय कुमारी कुमालले भनिन्, ‘चुनावले फाइदा गर्ने होइन। बेकारमा भोट हालेजस्तो लाग्छ।’ गाउँका अगुवाले ‘जुन चिन्हमा भोट हाल्न’ अर्हाउनु हुन्छ, त्यही चिन्हमा मतदान गर्दै आएको उनले बताइन्। चुनावका बेला ‘मासु–भात’ खुवाएर भोट हाल्न लगाउने गरेको उनले बताइन्।
गाउँका ६४ वर्षीय थमन कुमाललाई हिँडडुल गर्न समस्या छ। आफैंले मतदान गर्न पाउँदैनन्। ‘छोराले नभए अरूले भोट हालिदिन्छन्,’ उनले भने, ‘कसलाई भोट दिन्छन्, मलाई थाहा हुन छाडेको १० वर्ष भयो।’ उनी ज्याला मजदुरी गर्नसमेत सक्दैनन्। अहिले छोराहरू विदेश भएकाले ठूलो आर्थिक समस्या छैन।
‘यहाँ ज्याला मजदुरी गर्नसमेत नपाउने अवस्था आयो,’ उनले भने, ‘बाध्यताले ऋणधन गरेर छोरा विदेश पठाएका छौं। कमसेकम भोलिका दिनमा सुख पाउलान् भनेर हो।’ उनी कहिँकतै जान नसक्ने भएका छन्। कुमालले अपांगता परिचयपत्र बनाउन निकै सकस खेप्नुपरेको गुनासो गरे। कहिले सरकारी अस्पताल र कहिले गाउँपालिका धाउँदा अहिले वर्षको ६ हजार पाउने कार्ड पाएको उनले बताए।
चुनावका बेला गाउँमा आउने नेता, कार्यकर्ता र उम्मेदवारलाई यहाँका बासिन्दाले आफ्ना समस्या सुनाउन छाडेका छैनन्। तर अहिलेसम्म विपन्नता र गरिबी हटाउन कसैले सहयोग नगरेको घोरबन्दाकै रुपा कुमालले बताइन्। कतिपयको गतिलो घर र रोजगार छैन। भारी बोक्ने, ज्याला मजदुरी गर्ने काम पाएका छैनन्।
‘चुनावमा सबैले यो गर्छु, त्यो गर्छु भन्नु हुन्छ,’ उनले भनिन्, ‘चुनाव सकिएपछि नेता फर्केर आउँदैनन्।’ स्थानीय, प्रदेश र संघीय सरकारबाट स्वरोजगारका लागि सहयोग नपाएको उनले बताइन्। ‘पानीको दुःख थियो, अहिले भने लिफ्ट गरेर पानी आएको छ,’ उनले भनिन्, ‘सिँचाइ अभावले ६ महिना बारी बाँझै राख्नुपर्छ।’
बस्तीका अधिकांशले दिनभर कमाएको पैसाले साँझको छाक खाने गरेका छन्। अधिकांशको आफ्नै खेतबारी छैन। तानसेन बजारमा काम खोज्न जाने गर्छन्। कतिपय सिकर्मी, डकर्मी काम खोज्दै हिँड्छन्।
पछिल्ला वर्षमा कुमाल गाउँमा सडक र खानेपानीमा केही सुधार नभएको भने होइन। तर सिँचाइको राम्रो व्यवस्थापन नहुँदा वर्षमा एक बाली मात्र उत्पादन गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।
बगनासकाली–१ का वडाध्यक्ष शेरबहादुर चिदीले बस्तीसम्म पुग्ने सडक ढलानका लागि बजेट व्यवस्था गरिएको बताए। ‘सडकको बाहेक अरू माग आएको थिएन,’ उनले भने, ‘गत वर्ष माटोका भाँडा बनाउने सीप पुस्तान्तरणका लागि बजेट विनियोजन गरे पनि तालिम सञ्चालन भएन।’
बस्तीका अधिकांश बासिन्दा माटोका भाँडा बनाएर बिक्री गर्थे। दुई दशकयता बजारमा प्लास्टिकका सामान बढेपछि उनीहरूले यो पेशा छाडेका छन्। गाउँपालिकाले कुमाल समुदायका लागि आर्थिक आयआर्जन वृद्धिका लागि सीपमूलक तालिम प्रदान गर्दै आएको पालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताए।
‘सचेतनाका कार्यक्रमका साथै सीपमूलक तालिम प्रदान गर्ने र तालिम लिएपछि उत्पादनसँग जोड्ने प्रयत्न गर्दै आएका छौं,’ उनले भने।
पाल्पा–२ अन्तर्गत तानसेन नगरपालिका–७ पक्लुहवा, चिर्तुङधारा, गोर्सत, पोखराथोक, भुवनपोखरी, सिद्देश्वर, ख्याहा लगायत स्थानमा कुमाल समुदायको बसोबास छ। २०७८ को जनगणनाअनुसार नेपालमा कुमाल जातिको जनसंख्या कुल १ लाख २९ हजार ७ सय २ रहेको छ। जसमा ६२ हजार २ सय ५९ पुरुष र ६७ हजार ४ सय ४३ महिला रहेका छन्।
पाल्पामा २०७८ को जनगणनाअनुसार कुमाल समुदायको जनसंख्या ७ हजार १ सय ४ रहेको छ। जसमा ३ हजार ३ सय १ पुरुष र ३ हजार ८ सय ३ महिला छन्।
