हरेक घरमा पुग्न नसके पनि क्षेत्रगत हिसाबमा यहाँका सबैजसो उम्मेदवार अहिले भेटघाट तथा घरदैलो कार्यक्रममा सरिक भएका छन् ।
What you should know
खोटाङ — जिल्लामा यसपटक विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा देखा परेका छन् । यसरी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले आ–आफ्नो जित पक्का भएको दाबी गरेका छन् ।
फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । परम्परागत दललाई नयाँ दलले चुनौती पेस गरेका छन् ।
२०७९ सालमा समानुपातिकतर्फ एमालेले २४ हजार २ सय ७१, कांग्रेसले १८ हजार ६ सय ७२, तत्कालीन माओवादी केन्द्रले ११ हजार ८ सय ४५ मत पाएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ३ सय ६३, जनता समाजवादी पार्टी नेपालले २ हजार २ सय ४८, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २ सय ५५ मत प्राप्त गरेका थिए ।
वर्तमान अवस्था केलाउँदा जिल्लामा त्रिपक्षीय प्रतिस्पर्धा हुने नेपाल बार एसोसियसन जिल्ला सचिव अधिवक्ता ओमप्रकाश घिमिरेले बताए । ‘खोटाङमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ,’ उनले भने, ‘यसपटक थोरै मतान्तरले हार–जित हुन्छ ।’
जिल्लास्थित दलका नेताले आ–आफूले जित्ने दाबी गरेका छन् । एमालेबाट ५ पटकसम्म चुनाव लडेका विशाल भट्टराईले मैदान छाडेका छन् । एमालेले देवविक्रम राईलाई उम्मेदवार बनाएको छ । सांगठनिक अवस्था हेर्दा एमालेको जित पक्का भएको एमाले केन्द्रीय सदस्य भट्टराईले दाबी गरे । समानुपातिक मतका आधारमा एमाले पहिलो भएकाले जित पनि पार्टीको हुने भट्टराईको भनाइ छ ।
पाँचपटक उम्मेदवार बनेका भट्टराईले ०७० र ७४ मा चुनाव जितेका थिए । ०७९ को चुनावमा कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रामकुमार राईले ३१ हजार ३ सय ५१ मत ल्याएर जितेका थिए । भट्टराईले २८ हजार ६ सय ७२ मत प्राप्त गरेका थिए । यस आधारले पनि एक्लै–एक्लै चुनाव लड्दा एमालेको जित पक्का भएको भट्टराईको दाबी छ ।
कांग्रेस उम्मेदवार वीरकाजी राई पनि आफूले जित्ने दाबी गर्छन् । कांग्रेस एकढिक्का भएर चुनावमा होमिएकाले आफ्नो जित हुने उनको भनाइ छ । यसअघि पार्टीले गठबन्धन गरेका कारण जहाँ जसरी मत खसे पनि अहिलेको अवस्था यसै भन्न नसकिने रहेको कांग्रेस जिल्ला उपसभापति इवन राईले बताए । ‘अहिलेको अवस्था हेर्दा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा देखिन्छ,’ उनले भने, ‘रास्वपा र श्रम संस्कृति पार्टीले कति भोट तान्छन् भन्नेमा पनि जित/हार निर्भर छ ।’
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. हरि रोका विद्वान्, क्षमतावान्, मुलुकलाई नै मार्गदर्शन गर्न सक्ने व्यक्ति भएकाले उनको उम्मेदवारीपछि जिल्लाको बौद्धिक जमात एकजुट भएकाले जित सुनिश्चित भएको नेकपा केन्द्रीय सदस्य राजन राईले बताए ।
‘डा. हरि रोका राष्ट्रिय फिगर हुन्, उनको उम्मेदवारीले जिल्लाबासीलाई ऊर्जा प्रदान गरेको छ,’ उनले भने, ‘यसले नेकपाको जित सुनिश्चित छ ।’ यसबाहेक विभिन्न १६ वटा पार्टीको एकता, अनुभवी नेता, अब्बल सांगठनिक संरचनाले पनि नेकपाको जित निश्चित भएको राईले दाबी गरेका छन् । डा. रोका चुनावी अभियानमा जुटिसकेको राईले बताए । हरेक घरमा पुग्न नसके पनि क्षेत्रगत हिसाबमा यहाँका सबैजसो उम्मेदवार अहिले भेटघाट तथा घरदैलो कार्यक्रममा सरिक भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले बिहीबारदेखि घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताए । ‘एक महिने चुनावी कार्यक्रम तय गरेर काठमाडौंबाट खोटाङ आउँदै छौं,’ उनले भने, ‘अब चुनाव केन्द्रित घरदैलो कार्यक्रम सुरु हुन्छ ।’ श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राईले चुनावी कार्यक्रम बनाएर प्रचार–प्रसारमा लाग्ने बताए ।
