बैतडीमा दलहरू पार्टी संगठन र कार्यकर्ताको बलमा चुनावी अभियानमा होमिएका बेला उनीहरूलाई एक जना स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले चुनौती दिइरहेका हुन् ।
What you should know
बैतडी — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । १० जनाले राजनीतिक दलबाट उम्मेदवारी दिए पनि जयप्रकाश पन्त एक्लैले स्वतन्त्र उम्मेदवारी दर्ता गरी १० दलका उम्मेदवारलाई टक्कर दिइरहेका छन् ।
बैतडीमा दलहरू पार्टी संगठन र कार्यकर्ताको बलमा चुनावी अभियानमा होमिएका बेला उनीहरूलाई एक जना स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका हुन् ।
दलगत राजनीति त्यागेर स्वतन्त्र रूपमा जनताका मुद्दालाई बोकेर जनताको अपेक्षाअनुसार काम गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको पन्तले बताए । उनले दलगत उम्मेदवारसँग 'टक्कर' नभइ 'स्वच्छ प्रतिस्पर्धा' हुने भनेका छन् ।
स्वतन्त्र उम्मेदवार पन्तले नेकपा (एमाले) बाट पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, नेपाली कांग्रेसबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व जिल्ला सभापति प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेयसँग पनि उनको प्रतिसपर्धा रहेको छ ।
उनी उम्मेदवारी दर्ता गराउनुभन्दा एक वर्ष आगाडिसम्म राप्रपाका सदस्य थिए । उनी बैतडीमा राप्रपाका संस्थापक सदस्य हुन् । उनी राप्रपामा क्षत्रीय र जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भएका थिए ।
‘लामो समयसम्म पार्टीको सदस्य भएर बृहत्तर समाजसेवा गर्ने आंकक्षाका साथ काम गर्दा जनताको काम गर्न सकेन,’ उनले भने, ‘फेरि पनि स्वतन्त्र भएर जनताको अवाज बुलन्द गर्ने ठाउँमा पुग्न उम्मेदवारी दिएको हुँ ।’ बैतडीका जनताका जनजीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवाको सुधार गर्नका लागि आफूले आवाज बुलन्द गर्नुपर्ने ठाउँमा पुग्नुपर्ने उनले बताए ।
दलका उम्मेदवारप्रति बढ्दो नागरिक असन्तुष्टिका बीच आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
