सिन्धुपाल्चोक–१ मा नयाँ र पुरानाबीच साखको प्रतिस्पर्धा

सिन्धुपाल्चोक–१ मा एमालेबाट सरेश नेपाल, कांग्रेसका जंगबहादुर लामा र नेकपाका माधव सापकोटा उम्मेदवार छन् । रास्वपाका भरतप्रसाद पराजुली र राप्रपाका राममणि न्यौपाने पनि मैदानमा छन् ।

माघ १५, २०८२

अनिश तिवारी

Competition for credibility between the new and the old in Sindhupalchowk-1

What you should know

सिन्धुपाल्चोक — जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना नेतालाई साख बचाउने चुनौती छ । जिल्लाका दुवै क्षेत्रमा विभिन्न दलबाट ३० जना उम्मेदवार छन् । दलका उम्मेदवारलाई ६ जना स्वतन्त्रले चुनौती पेस गरिरहेका छन् । यहाँका गाउँदेखि बजारसम्म अहिले नयाँ–पुरानाबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्ने चासो छ ।

सिन्धुपाल्चोक–१ मा एमालेबाट सरेश नेपाल, कांग्रेसका जंगबहादुर लामा र नेकपाका माधव सापकोटा उम्मेदवार छन् । रास्वपाका भरतप्रसाद पराजुली र राप्रपाका राममणि न्यौपाने पनि मैदानमा छन् । प्रमुख दलका मुख्य प्रतिस्पर्धी जिल्लामा चिनिएका अनुहार हुन् । ०७४ को संसदीय निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट नेपाल बागमती प्रदेशसभा सदस्य विजयी भएका थिए । प्रदेश सरकारको वन तथा वातावरण मन्त्री बनेका थिए । तत्कालीन जिल्ला विकास समितिमा बसेर काम गरेको अनुभव नेपालसित छ । 

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका सापकोटाले नेपाललाई ३ हजार ३ सय ५६ मतान्तरले पराजित गरेका थिए । नेपालले २७ हजार १८ मत पाएका थिए । त्यसबेला लोक–बाम गठबन्धनका उम्मेदवार सापकोटा र नेपालबीच प्रतिस्पर्धा भएको थियो । यसपटक गठबन्धन छैन । सापकोटा र नेपालसित कांग्रेस जिल्ला सभापति लामा, रास्वपाका पराजुली र राप्रपाका न्यौपाने प्रतिस्पर्धामा छन् । तीनै जना प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । 

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय लामा तीन वर्षअघि जिल्ला सभापति निर्वाचित भएका थिए । पराजुली स्थापित व्यवसायी हुन् । उनी जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन् । ०६४, ०७० र ०७४ का तीनवटै चुनावमा यस क्षेत्रबाट अग्निप्रसाद सापकोटा विजयी भएका थिए । यसपटक जितलाई निरन्तरता दिने जिम्मेवारी माधव सापकोटाको काँधमा छ । 

विद्यार्थी राजनीति हुँदै सशस्त्र युद्धमा होमिएका सापकोटा क्षेत्रीय समिति इन्चार्ज, सह–सेक्रेटरी हुँदै ०७१ मा पार्टी जिल्ला अध्यक्ष भएका थिए । ०७३ मा पार्टीको केन्द्रीय सदस्य बने । उनी जिल्ला पार्टी इन्चार्ज र पोलिटब्युरो सदस्य छन् । ०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका–४ मा पञ्चायती शासनविरुद्ध कम्युनिस्ट विद्रोह ‘पिस्कर विद्रोह’मा सहभागी बनेका थिए । ०३५ सालदेखि हालसम्म नेपाल राजनीतिमा सक्रिय छन् । 

गुठी जग्गापीडितको पक्षमा वकालत गर्दै आएका छन् । पिस्कर हत्याकाण्ड विद्रोह गरेबापत भूमिगत भएका उनले ०४० देखि ०४३ सालसम्म जेलजीवन बिताएका थिए । सिन्धुपाल्चोक–१ मा कांग्रेसबाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत उम्मेदवार हुने चर्चा भए पनि अन्तिममा उनको नाम हटाइएको थियो । बस्नेत ०७९ को निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २ लाख ७४ हजार ९ सय ९८ मतदाता छन् । जिल्लामा १ सय ४६ मतदान स्थल र ३ सय ३८ मतदान केन्द्र रहेका छन् । सिन्धुपाल्चोक–१ अन्तर्गत त्रिपुरासुन्दरी, भोटेकोशी, लिसंखु पाखर, बाह्रबिसे, जुगल, बलेफी र सुनकोशी गाउँपालिका साथै चौतारा साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नम्बर वडा रहेका छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १ सय ७२ केन्द्र छन् ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully