यताउता भड्किन छाडेर नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह

दाहालले चुनावअघि एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश फेरि अर्को दुर्घटनातिर जान सक्ने बताए।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Prachanda urges Biplav to stop wandering around and join the NCP

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्दलाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्।

विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट निस्केका चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै दाहालले यस्तो बताएका हुन्।

उनले जेन–जी आन्दोलनपछि चन्द राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए। उनले भने, ‘हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो।’

दाहालले समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीको रूपमा अगाडि बढाउन चाहेको बताउँदै आफू र माधव नेपालले चन्दलाई निकै ठूलो महत्व दिए पनि उनी विना कारण पछाडि हटेको बताए। उनले एकतामा समावेश नभए पनि चन्दप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै नेकपा नै चन्द समूहको वास्तविक घर भएको बताए। उनले भने, ‘यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन।’

दाहालले चुनावअघि एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश फेरि अर्को दुर्घटनातिर जान सक्ने बताए। उनले भने, ‘चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ।’

कान्तिपुर

Link copied successfully