महोत्तरी क्षेत्र नं १ मा पुरानालाई नयाँको चुनौती

नेकपाका गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतो कोइरी तेस्रो पटक एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन् ।

माघ १४, २०८२

सन्तोष सिंह

New challenges the old in Mahottari Constituency No. 1

What you should know

महोत्तरी — जिल्लाको नयाँ सहर बर्दिबास समेटिएको महोत्तरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा निर्वाचन रोचक बनेको छ । पुराना र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धाले यहाँको निर्वाचन रोचक बनेको हो ।

२०७९ को निर्वाचनमा हत्या आरोप लागेका कारण वारेसमार्फत मनोनयन दर्ता गरी वारेसमार्फत नै निर्वाचित प्रमाणपत्र बुझेर तीन वर्षसम्म संसद्मा क्षेत्रको समस्या उठाउन नसकेका नेकपा एमालेका लक्ष्मी महतो कोइरी एमालेबाटै उम्मेदवार छन् । यस क्षेत्रबाट तीन पटक निर्वाचित भएर अघिल्लो निर्वाचनमा कोइरीबाट पराजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गिरिराजमणि पोखरेल पाँचौँ पटक उम्मेदवार बनेका छन् ।

२०७४ र २०७९ मा लगातार दुई निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार नभएको यस क्षेत्रमा कांग्रेसले नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक डा मुकेश काफ्लेलाई उम्मेदवार बनाएको छ । लामो अन्तरालपछि कांग्रेसले आफ्नै उम्मेदवार पाएर मतदान गर्ने अवसर पाउँदा कांग्रेसका लागि प्रतिनिधिसभा निर्वाचन विशेष बनेको गौशाला–११ का रामभजन महतोले बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले योगनारायण महतो, जनमतले वीरेन्द्र महतो र रास्वपाका क्रसर व्यवसायी प्रमोद महतोसहित यस क्षेत्रमा २५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पुराना उम्मेदवार एमालेका लक्ष्मी महतो र नेकपाका गिरिराजमणि पोखरेललाई नयाँ उम्मेदवारहरू कांग्रेसका मुकेश काफ्ले, जसपाका योगनारायण महतो, जनमतका वीरेन्द्र महतो र रास्वपाका प्रमोद महतोले चुनौती दिँदा महोत्तरी निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक बनेको छ ।

तेस्रो पटक महतो–पोखरेल आमनेसामने

नेकपाका गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतो कोइरी तेस्रो पटक एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन् ।

नेकपाका गिरिराजमणि पोखरेल २०६४ र २०७० संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७९ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित भएका थिए । यसै क्षेत्रबाट २०७४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट प्रतिनिधिसभा उम्मेदवार कोइरी पोखरेलबाट पराजित भएका थिए ।

महतोले २०७४ मा भोग्नुपरेको हार २०७९ मा एमालेबाट उम्मेदवार बन्दा पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए । २०७९ मा कोइरीले २३ हजार ४०२ मत ल्याउँदा पोखरेलले २२ हजार ३७२ मत मात्र ल्याएका थिए । 

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका कारण प्रतिनिधिसभामा निर्वाचित भएका महतो लामो समयसम्म संसद् प्रवेश गर्न पाएनन् । महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्भवप्रसाद भट्टराईको इजलासले २०८० मंसिर २८ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको थियो । जिल्ला अदालतबाट सफाइ पाएपछि संसद् प्रवेश गरेका कोइरी दोस्रो पटक पुनः एमालेबाट निर्वाचन जित्ने तयारीमा छन् ।

२०७९ को निर्वाचनमा महतोलाई निर्वाचित गराउन रातदिन लागेका जसपाका योगनारायण महतो आफैँ उम्मेदवार बनेका छन् । संसद्मा तीन वर्षसम्म क्षेत्रको उपस्थिति शून्य बनाएको आरोप महतोमाथि लागेको छ ।

तीन वर्षे कार्यकालमा एक पटक पनि कोइरी संसद्को रोस्ट्रममा पुग्न सकेनन् । क्षेत्रको समस्या संसद्मा नउठाएकाले मतदाता उनीप्रति रुष्ट छन् भने महतोको मत आउने आधार क्षेत्रबाटै जसपाका योगनारायण महतो उम्मेदवार बन्दा कोइरी कमजोर भएको जसपाका अगुवा नेताहरू बताउँछन् ।

पटक–पटक मन्त्री भएर क्षेत्रमा प्रभाव जमाउँदै आएका नेपाली कम्युनिस्ट पार्टीका पोखरेलले गुमेको आफ्नो राजनीतिक विरासत फर्काउन लागिपरेका छन् । मन्त्री हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा थालेको कामलाई थप अगाडि बढाउने आश्वासन दिँदै पोखरेल मतदाताको दैलोमा पुगिरहेका छन् ।

कम्युनिस्टको किल्लामा काफ्लेको ‘इन्ट्री’

पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर घना जंगलले घेरिएको चुरेको फेदीको बस्ती खयरमारा हो । माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको शिविर राखिएपछि खयरमारा चर्चामा आयो । माओवादीको दबदबाकै कारण नेकपाका उम्मेदवार पोखरेललाई जिताउने मत यहीँबाट आउने गरेको छ ।

पोखरेलको जित्ने मत आउने यही खयरमाराबाट नेपाली कांग्रेसले नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक काफ्लेलाई उम्मेदवार बनाएको छ । खयरमारामा जनमुक्ति सेनाको शिविरलाई प्राविधिक शिक्षालय बनाएका पोखरेललाई यहाँबाट एकतर्फी मत प्राप्त हुने गरेको थियो । तत्कालीन माओवादीका उम्मेदवार पोखरेललाई २०७९ मा कांग्रेसको साथ थियो । कांग्रेसको साथ हुँदा पराजित भएका पोखरेलको आधार क्षेत्रबाटै कांग्रेसका काफ्ले उम्मेदवार भएका हुन् । पोखरेललाई पटक–पटक महोत्तरीबाट उम्मेदवार बनाउँदा नेकपामा आन्तरिक द्वन्द्व र विभाजन भएको बेला कांग्रेसले काफ्लेलाई उम्मेदवार बनाएको छ ।

१ लाख ५ हजार ६४६ मतदाता रहेको महोत्तरी क्षेत्र नं १ मा पुराना प्रतिस्पर्धीलाई यसपटक नेपाली कांग्रेस, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ उम्मेदवारले कडा चुनौती दिएका छन् ।

क्रसर सञ्चालक रास्वपाका उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी क्षेत्र नं १ मा प्रमोद महतो उम्मेदवार छन् । गौशालास्थित मरहा खोलाको किनारमा लामो समयदेखि क्रसर व्यवसाय गर्दै आएका महतो यसअघि २०७९ मा महोत्तरी–१ (१) बाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

महतो पछिल्लो पटक क्रसर व्यवसायलाई राजनीतिक संरक्षण दिलाउन दलबदल गरी उम्मेदवार बनेका छन् । प्रदेशसभा उम्मेदवार भएपछि एमाले, लोसपा हुँदै रास्वपामा आएका हुन् । प्रतिनिधिसभा उम्मेदवारका लागि लोसपाबाट महतोको नाम सिफारिस भएको थियो । तर उनी रास्वपाबाट उम्मेदवार छन् ।

रास्वपा उम्मेदवार महतोले गौशालास्थित मरहा खोलाबाट अवैध उत्खनन गरी राजस्व छल गरेको भन्दै गौशाला नगरपालिकाले ४ करोड ५० लाख राजस्व तत्काल नबुझाए उद्योग दर्ता खारेज गर्ने निर्णय गरेको छ ।

गौशाला नगरपालिका–८ निवासी प्रमोद महतोकी श्रीमतीको नाममा रहेको शिवम गिट्टी तथा बालुवा वासिङ सेन्टर, गौशाला–८ ले भन्टावारी नजिकको खोलाबाट अवैधरूपमा ढुङ्गा, गिट्टी तथा बालुवा २ लाख २५ हजार घन मिटर उत्खनन गरेको भन्दै ४ करोड ५० लाख करसहित फर्मबाट राजस्व असुल उपर गर्ने तथा उक्त फर्मको स्थानीय व्यवसाय दर्ता प्रमाणपत्र रद्द गर्ने निर्णय गौशाला नगरपालिकाको २०८२ जेठ २३ गते बसेको कार्यपालिकाले गरेको छ ।

नगरपालिकाले मागेको राजस्व उम्मेदवार महतोले बुझाएका छैनन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully