हिमालमा चुनाव, पोखरा–काठमाडौंमा घरदैलो

अत्यधिक हिमपातले मतदाता शिक्षा र प्रचार प्रभावित, बाक्लो हिमपात भए मतदाता फर्कन नपाएर भोट कम खस्ने जोखिम

माघ १४, २०८२

दीपक परियार

Elections in the Himalayas, door-to-door campaigning in Pokhara-Kathmandu

What you should know

पोखरा — उपल्लो मुस्ताङमा चिसो बढेपछि लो–घेकर गाउँपालिका मराङका रामबहादुर गुरुङ डेढ महिनादेखि काठमाडौंमा छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को उपल्लो मुस्ताङस्थित लोमन्थाङ कार्यालयमा कार्यरत उनी चुनावमा सहभागी हुन गाउँ फर्कने निश्चित छैन । जाडो छल्न पोखरा–काठमाडौंलगायत सहर झरेका उपल्लो मुस्ताङी फागुन अन्तिम साता वा चैतको पहिलो सातातिरबाट मात्र घर फर्कन थाल्छन् ।

खेतीपाती हुनेहरू फागुन मध्यतिरबाट फर्कन्छन् । गहुँ, फापर छर्ने र पशुपालन गर्ने उपल्लो मुस्ताङी अरूभन्दा केही छिटो फर्किए पनि अहिले खेतीपाती गर्नेको संख्या नै कम भएको गुरुङ बताउँछन् । ‘पहिले मेरै घरमा तीन हलगोरु थिए, अहिले एक हलगोरुले तीन–चारवटा परिवारलाई पुग्छ,’ उनी भन्छन्, ‘खेतीपाती गर्ने मान्छे घटेकाले चुनावकै लागि फर्कन गाह्रो छ ।’ 

हिउँद नसकिने भएकाले हिमपातको सम्भावना पनि उत्तिकै रहने र बाक्लो हिमपात हुँदा उपल्लो मुस्ताङमा चुनाव असम्भव जस्तै हुने उनले बताए । ‘चुनाव भइहाले पनि ६० प्रतिशतभन्दा कम भोट खस्छ,’ उनले भने । मुस्ताङका पाँचमध्ये लोमन्थाङ र लो–घेकर गाउँपालिका उपल्लो भेगमा पर्छन् । थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तुलनात्मक रूपमा कम हिमपात हुन्छ । 

लोमन्थाङ गाउँपालिकाका कार्यपालिका सदस्य पासाङ गुरुङ गाउँ कुरेर बसिरहेका छन् । झन्डै ९ सय जनसंख्या रहेको लोमन्थाङ–५ मा हाल ५०–६० जना मात्रै स्थानीय रहेको उनले सुनाए । चुनावमा उपल्लो मुस्ताङमा मत कम खस्ने उनको आकलन छ । ‘खेतीपाती गर्नेहरू चाँडै आउने हुन्, छोराछोरी विदेश पठाएकाहरू पोखरा–काठमाडौंमा छन्, वैशाखमा न्यानो भएपछि बल्ल फर्किन्छन्,’ उनले भने, ‘नेताहरूले बोलाए भने आउलान् तर अहिलेसम्म नेता नै आइपुगेका छैनन् ।’ 

Elections in the Himalayas, door-to-door campaigning in Pokhara-Kathmandu

एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा एमाले उम्मेदवार इन्द्रधारा विष्ट पोखरामा घरदैलो गरिरहेका छन् । जाडो छल्न र व्यापार गर्न उपल्लो मुस्ताङका अधिकांश स्थानीय पोखरा झरेकाले मतदातासँग भेटघाट गरिरहेको उनले सुनाए । पोखरामा भेटघाट सकेपछि काठमाडौंमा रहेका मतदाता भेट्न जाने उनको तयारी छ । कोरला नाका सञ्चालन भइरहेकाले मतदाताहरू छिट्टै फर्कने उनको आशा छ । ‘पोखरा–काठमाडौंबाट मतदातालाई लैजान गाह्रो हुन्छ, निर्वाचन आयोगको खर्चको दायराभित्र रहेर मतदाता बोलाउन गाह्रो छ,’ उनी भन्छन्, ‘पार्टीमा प्रतिबद्धहरू आफैं फर्कन्छन्, अरूलाई पनि भोट हाल्न जानुपर्छ भनिरहेका छौं ।’ 

बाक्लो हिमपात भएमा एक सातासम्म बाटो अवरुद्ध हुन सक्ने उनले बताए । ‘हिउँको ठेगान छैन, परिहाल्यो भने चुनाव गर्न समस्या हुन्छ,’ उनले भने । मुस्ताङमा उनीसँगै कांग्रेसका योगेश गौचन थकाली, नेकपाका ङुटुक गुरुङ, राप्रपाकी कमला लालचन, रास्वपाका अद्वितीयचन्द्र थकाली, मंगोल नेसनल अर्गनाइजेसनका यमबहादुर गुरुङ, आम जनता पार्टीका अजय विक र उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचन प्रतिस्पर्धामा छन् । 

जिल्ला सुरक्षा समिति मुस्ताङले मौसम र भूगोलको प्रतिकूलताका हिसाबले ९ वटा मतदान केन्द्रलाई संवेदनशील मानेको छ । जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर ज्ञवाली मुस्ताङमा मानवीय कारणबाट कुनै जटिलता नरहे पनि मौसम र भूगोल चुनौती रहने बताउँछन् । बाक्लो हिमपात हुँदा कतिपय गाउँमा सवारीसाधन नपुग्ने र हिँडेर जान पनि अप्ठेरो हुने उनले सुनाए । ‘साङ्ता भन्ने डोल्पासँग जोडिएको गाउँ छ, लो-घेकर दामोदरकुण्ड गाउँपालिकाकै यारा, घारा जस्ता गाउँ विकट छन्,’ उनले भने, ‘एउटा मौसमी चुनौती छ, अर्को मतदाता सहभागिता न्यून हुने चिन्ता छ ।’ यद्यपि, निर्वाचन आयोगको तालिकाअनुसार काम भइरहेको र तोकिएको मितिमै चुनाव गर्न कार्यालय तयारी अवस्थामा रहेको उनले बताए । 

गण्डकीको अर्को हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा अहिले पनि हिउँ जमेको छ । उक्त गाउँपालिकाका अधिकांश घर खाली छन् । त्यहाँका स्थानीय जाडो छल्न पोखरा र काठमाडौं झरेका छन् । नार्पाभूमिका ५ वटै वडाका मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलभित्र राखेको छ । सडक नपुगेको नार्पाभूमि पुग्न सदरमुकाम चामेबाट हिँडेर तीन दिन लाग्छ । 

Elections in the Himalayas, door-to-door campaigning in Pokhara-Kathmandu

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार सदरमुकामबाट घोडामा मतपेटिकालगायत निर्वाचन सामग्री बोकाएर पाँच दिनअगावै कर्मचारीले नार्पाभूमिको बाटो तताउँछन् । बीचमा दुई रात बास बसेर नार्पाभूमि पुग्छन् । मतदान सकिएपछि मतदान अधिकृतले हेलिकोप्टरमा मतपेटिका लिएर सदमुकाम फर्किन्छन् । सहायक मतदात अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी हिँडेरै फर्किन्छन् । ‘यसपल्ट मौसम र भूगोलकै कारण कम भोट खस्ने सम्भावना छ,’ उनी भन्छन्, ‘फागुन अन्तिम साता सुरु हुने भएकाले मतदाता फर्कन सुरु गर्लान् भन्ने आशा छ ।’ मनाङका २८ मतदान केन्द्रमध्ये ५ अति संवेदनशील, १४ संवेदनशील र ९ सामान्य छन् ।

मनाङका एक स्थानीयका अनुसार यसअघि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदा काठमाडौं र पोखराबाट हेलिकोप्टरमै मतदातालाई गाउँ पु¥याउने होड चल्थ्यो । उम्मेदवारले मतदाता ओसार्न करोडौं रुपैयाँ खर्च गर्थे । यसपल्ट भने एमाले र राप्रपाले कांग्रेसका टेकबहादुर गुरुङलाई समर्थन गर्दै आफ्ना उम्मेदवार उठाएका छैनन् । उनीसँग नेकपाकी यशोदा गुरुङ (सुवेदी) र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले प्रतिस्पर्धामा छन् । ‘अब एमालेले नै उम्मेदवार नउठाएपछि कांग्रेसलाई जित्न सजिलो भएको छ, पहिलाजस्तो धेरै खर्च गरेर मतदाता ओसार्न आवश्यक छैन,’ मनाङका ती स्थानीयले भने, ‘कसैले ओसारेन भने भोट हाल्न आउनेको संख्या नै कम हुन्छ ।’

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully