बजार क्षेत्रका मतदाता संसद्मा नयाा अनुहार आउनुपर्ने बताउँछन् भने ग्रामीण क्षेत्रका मतदाता वर्षौंदेखि भोग्दै आएको मल, बीउ, धानको मूल्य, खानेपानी र सडकको समाधान दिने नेता चाहन्छन्
What you should know
धनगढी — सुदूरपश्चिमको अस्थायी राजधानी एवं व्यापारिक केन्द्र रहेको धनगढी क्षेत्र (कैलाली–५) मा आसन्न निर्वाचनका लागि प्रमुख दलहरूले नयाँ उम्मेदवार मैदानमा उतारेका छन् । कांग्रेसबाट नरनारायण शाह (मनु), एमालेबाट यज्ञराज ढुंगाना र रास्वपाबाट आनन्दबहादुर चन्द उम्मेदवार छन् । नेकपाबाट भने प्रतिस्पर्धा गर्न पूर्वमन्त्री प्रेम आले डोटीबाट धनगढी झरेका छन् ।
कांग्रेस कैलालीका पूर्वसभापति शाहको संसदीय यात्रामा पहिलो प्रतिस्पर्धा हो । यस क्षेत्रबाट पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणाको नाम चर्चामा थियो । जिल्ला पार्टी कार्यालयले पनि पहिलो नम्बरमा सिफारिस गरेर पठाएको थियो । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि आरजु उम्मेदवार बन्न पाइनन् । विकल्पमा दोस्रो नम्बरमा सिफारिस भएका कुनै बेला शेरबहादुर देउवानिकट मानिने शाहले टिकट पाएका हुन् । यस क्षेत्रमा डिल्लीराज पन्त र नृपबहादुर वडको नाम पनि सिफारिस भएको थियो ।
अर्का उम्मेदवार ढुंगाना एमाले कैलालीका अध्यक्ष हुन् । उनका लागि पनि संसदीय प्रतिस्पर्धा पहिलो हो । उता, बिना चर्चा डोटीबाट तीन पटक सांसद भइसकेका र मन्त्रीसमेत बनेका प्रेम आलेले पहिलो पटक धनगढीलाई प्रतिस्पर्धाको क्षेत्रका बनाएका छन् । रास्वपाका चन्द पनि नयाँ अनुहार हुन् । चन्द त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्थे । राप्रपाले रोशन शाहीलाई उम्मेदवार बनाएको छ ।
कैलाली–५ मा ०५१ को मध्यावधि, ०६४ को संविधानसभा निर्वाचन र ०७४ मा क्रमशः एमाले, तत्कालीन माओवादी र वाम गठबन्धनबाट एमालेले जितेका थिए । ०४८, ०५६, ०७०, ०७९ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसका डिल्लीराज पन्त २१ हजार ३ सय ९२ मत प्राप्त गर्दै विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका थिए । समानुपातिकतर्फ कांग्रेसले १५ हजार १ सय १७, एमालेले १४ हजार ३ सय २१, माओवादीले ५ हजार ७ सय ३६, रास्वपाले ४ हजार ४ सय ५५ र एकीकृत समाजवादीले ९ सय १६ मत प्राप्त गरेका थिए । राप्रपाले समानुपातिकतर्फ ६ हजार ९ सय ४७ मत प्राप्त गरेको थियो ।
कांग्रेस उम्मेदवार शाहले गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उकास्नु र युवा विदेश पलायन रोक्नु आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताए । नेकपाका उम्मेदवार प्रेम आलेले भ्रष्टाचार अन्त्य र धनगढी विमानस्थल स्तरोन्नतिमा ध्यान दिने योजना सुनाए । रास्वपा उम्मेदवार चन्द शिक्षा र स्वास्थ्यमा सुधार आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन् । एमालेका ढुंगानाले राष्ट्रियताको रक्षा र विकास निर्माणमा आफू सशक्त ढंगले उभिने बताए ।
धनगढी उपमहानगरपालिका–१५ स्थित कनरीमा कान्तिपुर टिम पुग्दा ५४ वर्षीय सीताराम चौधरी छिमेकीसँग बसेर चिया पिउँदै थिए । उनीसहितका गाउँलेले अचानक नयाँ अनुहार घर परिसरमा छिरेको देखेर भोट माग्न आएको लख काटे । बसिरहेको ठाउँ हतार–हतार खाली गर्दै हामीलाई बस्न आग्रह गरे । बस्दै गर्दा हामीले ‘भोट माग्न नभई चुनावी अवस्था के रैछ भनेर बुझ्न आएका हौं’ मात्र के भनेका थियौं, सीताराम कड्किहाले, ‘हामीलाई चुनाव–सुनाव मतलब छैन, यी सबै दुनियाँदारी कुरा मात्र हुन् ।’
सोध्यौं, ‘चुनावप्रति किन यति धेरै निराश ?’
उनले भने, ‘किन निराश नहुनु त ? जब चुनाव आउँछ, जितेर यो गर्छौं, त्यो गर्छौं भन्ने मात्र आउँछन्, अघिपछि अनुहार देखाउँदैनन्, चुनावमा झूटा आश्वासन दिन मात्र आउने हुन् ।’
उनी सबैभन्दा बढी निराश मिहिनेत गरेर फलाएको धानले मूल्य नपाउँदामा छन् । ‘गत वर्ष प्रतिक्विन्टल ३२ सय रुपैयाँमा धान बेच्यौं, यो वर्ष २४ सयमा बिक्री गरिरहेका छौं,’ भन्छन्, ‘यस्तो अवस्थामा हामी किसान सुखी हुन्छौं कि दुःखी ? हाम्रो मर्का कसले बुझ्ने ? नेता र सरकारले खोइ वास्ता गरेको ?’
उनले बिस्तारै दुःख पोख्न थाले । उनी जे भन्थे, त्यसमा आडैमा रहेका गाउँलेले हो–हो भन्दै समर्थन जनाइरहन्थे । एउटै दलका पुरानै अनुहारप्रति भरोसा लाग्न छाडेको तर्क गर्दै उनले किसान र तिनका समस्या बुझ्ने नयाँ अनुहार आउनुपर्ने तर्क गरे ।
‘पुराना अनुहार त देखिएकै हो, नयाँ आउनेले जेन–जी आन्दोलनका बेला प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूका परिवारको मर्म पनि बुझ्देलान् नि त ?’ उनले भने, ‘त्यहीअनुसार काम गर्लान् भन्ने पनि आस छ ।’ अब आउने नेतृत्वले किसानका दुःखपीडा बुझेर उचित मूल्यमा धान बिक्री र सस्तोमा मल पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । सिँचाइ सुविधा उपलब्ध हुनुपर्ने माग पनि उनको छ ।
‘हाम्रो वडा धानको पकेट क्षेत्र हो, उत्पादन भइसकेको धानको मूल्यका लागि सरकारले ग्यारेन्टी लिनुपर्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा धान फलाउने २ सयभन्दा बढी किसान छौं, तर चुनावका बेला उम्मेदवारका नजरमा परे पनि त्यसपछि बिर्सनेमा हामी पर्छौं ।’
वडा नं १५ का अध्यक्ष सुखदेव रानाका अनुसार यहाँको मुख्य उत्पादन नै धान हो तर किसानले सरकारी नियमअनुसार तोकिएको मूल्य पाउँदैनन् । ‘तुरुन्त बिक्री गरेर गहुँका लागि मल, बीउ किन्नुपर्ने हुन्छ,’ उनले भने, ‘आफूले बिक्री गर्ने बेला मूल्य नपाउँदा किसानले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।’
सरकारी मूल्य ३४ देखि ३६ सय प्रतिक्विन्टल हुने गरे पनि यो पटक किसानले २४ सय रुपैयाँसम्म मात्र पाएको उनले सुनाए । धनगढीको १४, १५, १६, १७, १८ र १९ वडा धानको पकेट क्षेत्रभित्र पर्छन् । ‘हामीलाई उपमहानगरपालिकामा जोडेर कर मात्र बढी तिर्नुपर्ने बनाइएको छ,’ उनी भन्छन्, ‘हाम्रो ग्रामीण भेग हो, सहरी क्षेत्र होइन ।’
खुटिया र शिवगंगा नदीको बाढी बस्तीमा पसेर बर्सेनि डुबान हुने समस्या छ । ‘उर्मी, कनरी, जन्वा बस्तीमा बाढीका बेला नदी पस्छ,’ उनले भने, ‘धेरै ठाउँका लागि तटबन्धन माग गरे पनि थोरै ठाउँमा मात्र बनाइन्छ ।’
बजार क्षेत्रका स्थानीयले संसद्मा नयाँ अनुहार खोजिरहेका बेला भित्रिबस्तीका मतदाताको माग र अपेक्षा फरक–फरक छन् । आफूहरूले वर्षौंदेखि भोग्दै आएको मल, बीउ, धानको मूल्य, खानेपानी, सडकको समस्या समाधान गर्नेलाई मत दिने पक्षमा उनीहरू प्रायः एकजुट देखिएका छन् । आफूहरू उपहानगरपालिकाभित्रैको बासिन्दा भए पनि धनगढी बजार जस्तो सेवासुविधा नपाएको वडा १५ कनरीकी २८ वर्षीया बिनु चौधरी बताउँछिन् । ‘यहाँ डुबानको समस्या छ, बर्खाका बेला बाढी बस्तीमा पस्छ,’ भन्छिन्, ‘व्यवस्थित तटबन्ध भए डुबानमा परिँदैन थियो ।’
धनगढी–१९ स्थित फूलबारीकी ४० वर्षीया महेश्वरी कठायत चुनावका बेला नेताहरूले थरी–थरी वाचा गरे पनि त्यो कहिल्यै पूरा नहुने गरेको सुनाउँछिन् । ‘आफ्ना बूढा यहाँ रोजगार नपाएर भारत गएका छन्,’ उनी भन्छिन्, ‘एक्लैले बालबच्चा हुर्काएर बसेको छु । कमसेकम यहीं काम पाएका भए बूढा भारत त जान पर्दैन थियो ।’ उनका पति डम्बरसिंह रोजगारीका सिलसिलामा भारतको मद्रास पुगेका छन् । अहिलेसम्म आफूहरू सुकुम्बासी बस्तीमा रहेको र लालपुर्जासमेत नपाएको उनले गुनासो पोखिन् ।
लालपुर्जा मात्र नभई पानीको समस्या पनि उस्तै रहेको सोही वडाकी ३८ वर्षीया खिमादेवी कुन्जेडाले बताइन् । ‘यो ठाउँका १२ परिवारको पुर्जा छैन, ०३६ सालदेखि यस क्षेत्रमा बसोबास गर्दै आए पनि अझै लालपुर्जा पाएका छैनौं,’ उनले भनिन्, ‘जमिनमुनि डेढ सय मिटर तल गहिरो खन्दा पनि पानी आउँदैन, यस्ता कामका लागि गाउँमा बजेट आउँछ भन्छन्, तर कहाँ जान्छ थाहा छैन ।’ टाढा छिमेकी गाउँसम्म पुगेर पानी ल्याउनुपर्ने बाध्यता रहेको उनले गुनासो पोखिन् ।
कैलालीका ५ वटा निर्वाचन क्षेत्रमध्ये यो ५ नम्बरमा पर्छ । ०७८ को जनगणनाअनुसार जनसंख्या २ लाख ११ हजार ७ सय १३ छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस क्षेत्रको वार्षिक जनसंख्या वृद्धिदर २.६३ प्रतिशत छ । निर्वाचन क्षेत्रमा ०७८ को जनगणनाअनुसार कुल जनसंख्या २ लाख ११ हजार ७ सय १३ मा १६ देखि २४ वर्ष उमेरका १९.८ प्रतिशतको बसोबास छ । १६ देखि २४ वर्षको जनसंख्या धेरै भएका १० निर्वाचन क्षेत्रमध्ये कैलाली–५ पनि पर्छ । त्यसो त जिल्लाको कुल मतदाता संख्या ५ लाख ५१ हजार ५२ छ ।
जसमा २ लाख ८० हजार २ सय ४३ महिला र २ लाख ७० हजार ७ सय ९८ पुरुष मतदाता छन् । ५ नम्बर निर्वाचन क्षेत्रमा मात्र १ लाख १० हजार ५ सय ३९ मतदाता छन् । यता धनगढी बजार क्षेत्रका मतदाता भने यो पटक मत फेर्ने दाउमा छन् । पुराना अनुहारदेखि दिक्क भएकाहरू नयाँ नेतृत्व र नयाँ अनुहारको पक्षमा छन् । यसैमध्येका एक हुन्, धनगढी ७ का ५० वर्षीय नवराज बराल । उनी अघिपछि देखिराखेका अनुहारभन्दा नयाँ आउनुपर्ने बताउँछन् । ‘नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ,’ भन्छन्, ‘अब पुरानो नेतृत्व फेरिएर सुशासन कायम होस् भन्ने छ ।’
धनगढी–५ स्थित तारानगरका ५१ वर्षीय गणेश बोहरा पनि नयाँ सोच भएका उम्मेदवारलाई भोट दिनुपर्ने तर्क गर्छन् । ‘पुरानालाई पटक–पटक भोट दिएकै हो, केही गरेनन्,’ उनले गुनासो गर्दै भने, ‘एक पटक नयाँलाई पनि हेरौं न भन्ने हो, केही राम्रै गरिहाल्छन् कि !’ यस क्षेत्रका स्थानीय आसन्न निर्वाचनमा पुराना अनुहारको विकल्प खोज्न एकमत जस्तै देखिन्छन् ।
धनगढी–५ कै निर्माण व्यवसायी टेकबहादुर खड्का कुनै पनि पार्टीले पुरानै अनुहारको सट्टा नयाँलाई मौका दिनुपर्ने बताउँछन् । ‘आसन्न निर्वाचनमा जेन–जी पुस्ता नै आउनुपर्छ भन्ने होइन,’ उनी भन्छन्, ‘पुराना पार्टीबाट नयाँ अनुहारलाई अवसर दिए मत दिने बेलामा सोच्न सकिन्छ ।’ तर उम्मेदवारले चुनाव अघि धेरै कुरा गरे पनि जितेर गएपछि सबै बिर्सने गरेको उनको गुनासो छ । ‘चुनावताका कार्यान्वयन नै गर्न नसक्ने गरी दिइने आश्वासनलाई जनताले पत्याउन छाडिसकेका छन्,’ उनी भन्छन्, ‘अब जनताको घरदैलोमा पुग्दा उम्मेदवारले गरेका वाचा पूरा गर्ने नेतृत्व आउनुपर्छ ।’
धनगढी–७ का २३ वर्षीय राजेन्द्र बोहरा चुनावबाट छानिएर सरकारको नेतृत्व गर्नेले पहिलो काम स्वदेशमै रोजगारको वातावरण बनाउनुपर्ने बताउँछन् । ‘आफ्नै देशमा रोजगारको वातावरण बनोस्, मेरो जस्तो उमेरमा विदेशिन नपरोस्,’ उनी दिनहुँ आफूजस्ता युवा बाध्यताले बिदेसिरहेको अनुभव सुनाउँदै भन्छन्, ‘आफूले सिकेको सीप यहीं प्रयोग गर्न पाइयोस्, चुनाव जितेर जानेहरूले आफ्नालाई भन्दा पनि राम्रालाई सहयोग गर्ने वातावरण बनोस् ।’
धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी भएकाले सबैतिरका मानिसको बसोबास रहेको कैलाली बहुमुखी क्याम्पसमा पूर्वप्रमुख हेमराज पन्त बताउँछन् । ‘नेपालको संघीय राजधानी काठमाडौं भएझैं यस ठाउँमा पनि सबैतिरबाट आएर बसोबास गर्ने मानिस छन्,’ उनले भने, ‘फेरि धनगढी उद्योग, शिक्षा, स्वास्थ्य सबै कुराको हब हो ।’ अहिले जिल्लामा चुनावी माहोल भने बनिनसकेको र पार्टीका शीर्ष नेताहरू आएर चुनावी माहोल बनाउने क्रममै रहेको उनले सुनाए ।
‘कैलाली–५ मा पार्टी तिनै छन्, तर नयाँ अनुहार चुनावी मैदानमा देखिएका छन्,’ उनले भने, ‘अहिले विस्तारै चुनावी माहोल बन्दै छ ।’ यस क्षेत्रका मतदाताको अपेक्षा चुनावमा संसद्मा जाने नेतृत्व परिवर्तन हुनुपर्ने भन्ने रहेको उनले सुनाए । फेरि यस क्षेत्रमा क्षेत्रगत सम्बन्धको मतले बढी प्रभाव पार्ने उनको भनाइ छ । ‘जुन जिल्लाबाट बसाइँ सरेर यहाँ आई बसोबास गरेका उम्मेदवार बन्छन्, त्यसमा त्यो जिल्लाबाट आउनेको मत जान्छ,’ उनले भने, ‘उनीहरू उम्मेदवारका लागि भोट बैंक नै हुन्, यस्तो मत ५ देखि ४० प्रतिशतसम्म छ ।’ यस्तो मतले जितहारमा ठूलो फरक पार्ने उनको तर्क छ । ‘त्यसैले प्रायः उम्मेदवारले आफ्नो पक्षमा क्षेत्रगत सम्बन्धको मत तान्न आपसमा प्रतिस्पर्धा नै गर्छन्,’ उनले भने ।
