पार्टी एकता ‘म्याराथन’मा दाहाल, चुरे भावरसहित २२ घटक नेकपामा समाहित [सूचीसहित]

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी (महिन्द्र यादव) सँग एकतापछि बनेको नेकपामा साना दल, समूह समाहित हुनुलाई संयोजक पुष्पकमल दाहालले ‘देशको आवश्यकता’ भएको दाबी गरेका छन् ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

22 constituents, including Dahal, Chure Bhawar, join NCP in party unity 'marathon' [with list]

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मंगलबार चुरे भावर पार्टीलाई नेकपामा समाहित गरे । योसहित नेकपामा समाहित हुने दल २२ वटा भएका छन् ।

प्रतिनिधिसभाको चुनावको मुखमा उनले दैनिकजसो दल, समूह वा व्यक्तिलाई नेपालमा समाहित गरिरहेका छन् । मंगलबार मात्र उनले चुरे भावर पार्टीसहित नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीसहित चार समूहलाई नेकपामा प्रवेश गराएका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी (महिन्द्र यादव) सँग एकतापछि बनेको नेकपामा साना दल, समूह समाहित हुनुलाई संयोजक दाहालले ‘देशको आवश्यकता’ भएको दाबी गरेका छन् ।

यो निर्वाचनमा नयाँ र पुराना दलबीच प्रतिस्पर्धा छ । पुराना दलहरु नेपाली, कांग्रेस, एमाले, नेकपा र मधेश प्रदेशमा मधेश केन्द्रित दलबीच परम्परागत प्रतिस्पर्धा छ । गत आम निर्वाचनमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको ‘इन्ट्री’ भएपछि यो दल पुराना दलविरुद्ध कडा प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली कांग्रेसलाई गगन थापाले आफ्नो नेतृत्वमा नयाँ रुपमा रुपान्तरण गरी प्रमुख प्रतिस्पर्धीको हैसियतले मैदानमा उत्रारेका छन् । यही प्रतिस्पर्धीमध्येको एक दल नेकपाले भने साना दल, व्यक्ति र समूहलाई प्रवेश गराइरहेको छ ।

नयाँ पुराना दलको भीडन्त सामेल नेकपा संयोजक साना दल, समूह र व्यक्तिलाई प्रवेश गराएर आफ्नो बिरासत जोगाउने रणनीति लिएका छन् । २०७९ को निर्वाचनमा तेस्रो स्थान रहेको नेकपा (पूर्व माओवादी) निर्वाचनमा ‘थोपा थोपा पानीबाट घैंटो भर्ने’नीति लिएर राजनीतिक र सैद्धान्तिक छलफल नगरी साना दलसँग एकता प्रक्रियालाई जारी राखेको छल ।

मंगलबार दाहालले एकता प्रक्रियाले देशभर सन्देश प्रवाह गरेको दाबी गरे ।

‘इतिहासको आवाजलाई देशको आवश्यकतालाई र आन्दोलनको आवश्यकतालाई महसुस गरेर नै यो एकता र ध्रुवीकरणको प्रक्रियामा सामेल हुनुभएको छ। तपाईंहरुको यो एकता प्रक्रियाले एउटा सन्देश फेरि देशभरि प्रवाहित भएको छ,’ उनले भने, ‘बाँकी रहेका वामपन्थीहरु देशभक्तहरु कम्युनिस्टहरु पनि अझै फेरि यो ध्रुवीकरणको प्रक्रियामा सामेल हुनेछन् भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु ।’ उनले एकता फ्रक्रियाले राष्ट्रिय शक्ति निर्माण हुने दाबी गरे ।

‘एकचोटि सबैलाई राष्ट्रिय तागत निर्माण गर्न, राष्ट्रिय एकताको शक्ति निर्माण गर्नको निम्ति र वैदेशिक प्रतिक्रियावादीहरुका विभिन्न खाले चलखेलहरुलाई रोकेर यो देशलाई स्वाधीन स्वतन्त्र र समृद्ध बनाउनको निम्ति विशेष रुपले अपिल गर्न चाहन्छु,’ उनले भने, ‘यो परिवर्तनका लागि नेपालमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मधेसी, थारु सबैले जे जति पहिचान र अधिकार प्राप्त गरेका छन् । संविधानतः र व्यवहारमा पनि त्यो आन्दोलनका प्रमुख नेताहरु हामी यहाँ छौँ । त्यसको सुदृढकरणको निम्ति संविधानलाई अझ परिमार्जन गर्नको निम्ति पनि दरो देशभक्त र वामपन्थीहरुको एकता आवश्यक छ ।’

नेकपमा समाहित भएका २२ दल, समूह

पुष्पकमल दाहाल, नेकपा (माओवादी केन्द्र)

माधवकुमार नेपाल, अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)

महेन्द्रराय यादव, अध्यक्ष, नेपाल समाजवादी पार्टी

राजेन्द्र श्रेष्ठ, संयोजक, जसपा एकता पक्षधर समूह

राजु कार्की, अध्यक्ष, नेकपा (समाजवादी)

चेतबहादुर पुन ‘चिरन’,महासचिव, नेपाल कम्युनिस्ट पार्टी

रञ्जिता श्रेष्ठ, अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी

प्रेमबहादुर सिंह, अध्यक्ष, नेकपा (साम्यवादी)

शिवलाल थापा, उपाध्यक्ष जसपा नेपाल

भीम रावल, प्रस्तावक, मातृभूमि जागरण अभियान, नेपाल

प्रमोदनारायण यादव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी (श्रमजीवी)

सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल

सुमनराज सायमी, नेता, हाम्रो नेपाली पार्टी

कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी–समाजवादी)

केशव दाहाल, अध्यक्ष, माओवादी कम्युनिस्ट केन्द्र नेपाल

विष्णुप्रसाद खनाल, संयोजक, जनजागरण पार्टी

शरद रसाइली, संयोजक, नेकपा (बहुमत) विद्रोही समूह

गोपाल किराती, अध्यक्ष, देशभक्त समाजवादी मोर्चा

गोपाल परियार, संयोजक, नेकपा विद्रोही समूह

विचारमान थिङ, अध्यक्ष, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी

मनीष लिम्बू, अध्यक्ष, लिम्बुवान क्रान्तिकारी पार्टी

चुरे भावर पार्टी नेपाल, अध्यक्ष, बद्रीप्रसाद न्यौपाने

कान्तिपुर संवाददाता

Link copied successfully