को हुन् त राष्ट्रिय सभामा निर्वाचित जुम्लाका ललितजंग शाही ?

कतिपयले माओवादीसँगको तालेमेल शाहीलाई नफापेको टिप्पणी गरेका थिए । तर यस पटक राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेसँग तालमेल हुँदा उनी विजयी बनेका छन् ।

माघ ११, २०८२

डीबी बुढा

Who is Lalit Jung Shahi of Jumla, who was elected to the National Assembly?

जुम्ला — नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही राष्ट्रियसभा सदस्यमा निर्वाचन भएका छन् । चन्दननाथ नगरपालिका–५ मा स्थायी घर भएका शाही २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा जुम्ला १ (१) बाट पराजित बनेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भए पनि उनले आफ्नै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीबाट पराजय खेप्नु परेको थियो ।

कतिपयले माओवादीसँगको तालेमेल शाहीलाई नफापेको टिप्पणी गरेका थिए । तर यस पटक राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेसँग तालमेल हुँदा उनी विजयी बनेका छन् ।

अहिले राष्ट्रिय सभा निर्वाचनमा उनी एमालेसँगको चुनावी तालमेलमै उम्मेदवार बने । एक त थोरै संख्यामा मतदाता हुने र त्यसैमा पनि नेताहरूद्वारा निर्देशित कार्यकर्ताले मात्रै मतदान गर्ने भएकाले उनको जित सुनिश्चित बन्यो । अहिले शाहीलाई परिस्थितिको सही विश्लेषण गरेर चुनावी मैदानमा होमिने चलाखीले उनको राष्ट्रिय सभाको यात्रा सफल भएको कतिपयको टिप्पणी छ । 

उनी पनि कांग्रेसलाई पटकपटक धोका दिएका नेताको रूपमा परिचित छन् । उनी रामचन्द्र गुटबाट देउवा गुटमा आएदेखि राजनीतिमा फलिफाप भएको देखिन्छ । 

२०५१ सालमा कांग्रेसमा आधिकारिक उम्मेदवार लाल हमालका विरुद्ध उनले बागी उम्मेदवारी दिए । हाँस चुनाव चिह्न लिएर कांग्रेसकै उम्मेदवारका विरुद्ध लागेपछि जितेको चुनाव पनि हारेको कांग्रेसीहरू बताउने गर्छन् । २०५६ सालको निर्वाचनमा पनि उनी कांग्रेसले उठाएका उम्मेदवार दीनबन्धु श्रेष्ठविरुद्ध पनि उनी बागी बने । त्यो निर्वाचनमा पनि उनको चुनाव चिह्न हाँस नै थियो । दिनबन्धु श्रेष्ठले झिनो मतले हार्नु परेको थियो । उनलाई कांग्रेस हराउने हाँसका रूपमा चिनिने गरिन्थ्यो । तर अहिले उनी राष्ट्रिय सभाको उम्मेदवारमा जितेका छन् ।

शाहीले दुईपटक बागी उम्मेदवार बनेर कांग्रेसलाई धोका दिए पनि दुईपटक कांग्रेसको आधिकारिक उम्मेदवार बनेर उनी विजेता बन्ने अवसरसमेत पाएका थिए ।

२०७० सालको निर्वाचनमा संविधानसभा सदस्य निर्वाचनमा पनि उनलै जितेका थिए । उनले तत्कालीन नेकपा एमालेका पदमबहादुर रोकाया र माओवादी केन्द्रका गजेन्द्रबहादुर महतलाई पराजित गरेका थिए । एक कांग्रेस नेताले भने, ‘उनले दुईपटक पार्टीलाई धोका दिए । दुवै पटक आधिकारिक उम्मेदवार बनेर जित्ने मौकासमेत पाए ।’

केन्द्रीय नीतिअनुसार नै कर्णालीमा पनि कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । एमालेबाट मीना सिंह रखाल र कांग्रेसबाट अन्य समूहबाट ललितजंग शाहीलाई उम्मेदवार बनाएको थियो । जुम्लाका कांग्रेस उपसभापति कार्मा बुढाले राष्ट्रियसभा सदस्यमा शाहीको जितसँगै जुम्ला कांग्रेसमा हौसला जागेको प्रतिक्रिया दिए ।

शाही जुम्लाबाट नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक पहिलो संविधान सभा निर्वाचन जित्ने नेता हुन्। राजनीतिमा प्रचारभन्दा काममा विश्वास गर्ने शाही संविधान सभामा रहँदा जुम्लाको दीर्घकालीन विकासका लागि ऊर्जा क्षेत्रलाई मुख्य आधार मानेका थिए। आर्थिक वर्ष २०७१ र ०७२ को बजेटमा जुम्लामा पाँच मेगावाट विद्युत् उत्पादन गर्ने व्यवस्था उनको पहलमा भएको हो ।   योजना कार्यान्वयनमा ढिलाइ भएपछि उनले सर्वोच्च अदालतसम्म पुगेर कानुनी लडाइँ लडेका थिए । जसबाट सरकारलाई विद्युत् उत्पादन गर्न परमादेश जारी भएको थियो।

उनका अनुसार जुम्लामा विद्युत् विकास नहुनु भनेको उद्योग, रोजगारी र समृद्धिको ढोका बन्द हुनु हो । राष्ट्रिय सभा सदस्य बनेपछि पनि उनको प्राथमिकता ऊर्जा क्षेत्रमै रहने धारणा छ।  ‘म पद र भत्ताका लागि राजनीतिमा आएको होइन, अधुरा काम पूरा गर्न र जुम्ली जनतासँग गरेका प्रतिबद्धता निर्वाह गर्न आएको हुँ,’ शाहीले भने ।

शाहीको पहलमा जुम्ला-रारा सडक खण्ड, उर्थु पुल, छिनासँगु पुल, ताम्ती जाने कुडारी पुलजस्ता पूर्वाधार परियोजना अघि बढेका छन्। गठबन्धन राजनीतिमा स्पष्ट र सन्तुलित दृष्टिकोण राख्ने शाहीले गठबन्धनलाई संस्थागत रूपमा सफल बनाउनु सबै दलको साझा दायित्व भएको बताए।

अनुभव, निरन्तरता र संस्थागत राजनीतिमा विश्वास गर्ने शाहीले राष्ट्रिय सभा सदस्यको रूपमा कर्णालीका मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully