निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाही अन्य कलष्टरबाट र रखाल महिला कलष्टरबाट विजयी भएका हुन् ।
What you should know
सुर्खेत — राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएका छन् । शाही ३ हजार २ सय ७८ र रखाल ३ हजार १ सय ४५ मतभारसहित विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाही अन्य कलष्टरबाट र रखाल महिला कलष्टरबाट विजयी भएका हुन् । राष्ट्रिय सभाका लागि कर्णालीमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो भने नेपाली कम्प्युनिस्६ पार्टी (नेकपा) एक्लै चुनावमा उत्रिएको थियो ।
आइतबार भएको मतदानमा कांग्रेस–एमाले गठबन्धन विजयी बनेको हो । नेकपाबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतरा (शाही) ले मनोनयन दर्ता गराएका थिए । शर्माले १ हजार ६ सय ३९ र महतराले (शाही) ले १ हजार ७ सय ३४ मतभार प्राप्त गरे ।
कांग्रेस प्रदेश सभापति शाही यसअघि २०७० सालको प्रदेशसभा निर्वाचनमा जुम्ला १ (१) मा कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । त्यस्तै दैलेखकी रखाल २०७४ सालमा समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य थिइन् । उनी एमालेको केन्द्रीय सदस्य हुन् ।
कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १ सय ९८ मतदातामध्ये १ सय ९१ जनाले भाग लिएका थिए । कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ ले र ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १ सय ५८ जना जनप्रतिनिधिमध्ये १ सय ५२ जनाले मतदानमा भाग लिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार स्थानीय तहतर्फको ६ मत बदर भएको थियो । निर्वाचनमा ९६.४६ प्रतिशत मत खसेको थियो ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र प्रति स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ हुन्छ । जसअनुसार प्रदेशसभा सदस्यको २ हजार १ सय २० र स्थानीय तहको ३ हजार २ गरी ५ हजार १ सय २२ मतभार थियो ।
