मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका जगत तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गर्दै जित सुनिश्चित गरे भने महिला क्लस्टरमा विजयी एमालेकी सम्झना देवकोटाले ५ हजार १४ मतभार पाइन् ।
पोखरा — राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा अन्य र महिला दुवै क्लस्टरमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ‘अन्य’ तर्फ नेपाली कांग्रेसका जगत तिमिल्सिना र ‘महिला’ तर्फ एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गर्दै जित सुनिश्चित गरे । उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपाका कपिल लामालाई ४ हजार ९२ मतभारको ठूलो अन्तरले पछि पारे । लामाले जम्मा ९ सय ४१ मतभार पाएका छन् । कांग्रेसनिकट प्राध्यापक संघबाट राजीनामा दिएर उम्मेदवार बनेका तनहुँका तिमिल्सिनालाई कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट दिएका थिए ।
महिला क्लस्टरमा विजयी एमालेकी देवकोटाले ५ हजार १४ मतभार पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९ सय ४१ मतभारमा चित्त बुझाइन् । दुवै विधामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू शंकरप्रसाद बराल र लक्ष्मी बास्कोटाले समान ७६–७६ मतभार प्राप्त गरे ।
कुल २ सय २८ मतदाता रहेको गण्डकीमा ५ जनाले मतदान प्रक्रियामा भाग लिएनन् । राप्रपाका दुई सांसद पन्चराम गुरुङ र विन्दु पौडेलले निर्वाचन बहिष्कार गरे । स्थानीय तहतर्फ तीन जना जनप्रतिनिधि वालिङकी उपमेयर कविता तिवारी, नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका ढोरपाटनका नगर प्रमुख देवकुमार नेपाली अनुपस्थित रहे ।
