कपिलवस्तु-३ मा कृष्णनगरका तीन छिमेकीबीच नै कडा प्रतिस्पर्धा

कपिलवस्तु–३ मा प्रतिस्पर्धी बनेका वीरेन्द्रकुमार कानोडिया, एहसान अहमद खाँ र अभिषेकप्रताप शाह कृष्णनगर–२ का बासिन्दा हुन् । एक किलोमिटर आसपास तीनै जनाको घर छ । यस क्षेत्रमा यी तीनै जना ‘हेभिवेट’ उम्मेदवार मानिन्छन् ।

माघ ११, २०८२

मनोज पौडेल

Fierce competition between three neighbors of Krishnanagar in Kapilvastu-3

What you should know

कपिलवस्तु — तीन वर्षअघि एउटै दलबाट संघ र प्रदेशमा उम्मेदवार बनेका एकै वडाका छिमेकी यसपटक फरक–फरक दलबाट आपसमै प्रतिस्पर्धामा उत्रिएका छन् । २०७९ को संसदीय निर्वाचनमा एकै वडाका दुई जना कांग्रेसबाट उम्मेदवार बनेका थिए । अहिले एउटै वडाका तीन जना फरक–फरक दलबाट कपिलवस्तु–३ मा प्रतिस्पर्धी बनेपछि यहाँको चुनाव रोचक बनेको छ ।

तीन वर्षअघि कांग्रेसबाट अभिषेकप्रताप शाह प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । कपिलवस्तु–३ (२) वीरेन्द्रकुमार कानोडिया प्रदेशसभा सदस्यका उम्मेदवार दिए । दुवै जना पराजित भए । कपिलवस्तु ३ (१) बाट उम्मेदवार बनेका माओवादी केन्द्रका एहसान अहमद खाँ चौथो बने । 

यी तीनै जना कृष्णनगर–२ का बासिन्दा हुन् । एक किलोमिटर आसपास तीनै जनाको घर छ । कपिलवस्तुमा यी तीनै जना ‘हेभिवेट’ उम्मेदवार हुन् । स्थानीय भन्छन्, ‘यी तीनमध्ये नै एक जना सांसद बन्ने पक्का छ ।’

 शाह र कानोडिया लामो समयदेखि कांग्रेससँग जोडिएका व्यक्ति हुन् । २०१५ सालभन्दा पहिलेदेखि शाह परिवार कांग्रेससित जोडिएको हो । २०१५ सालमा अभिषेकका हजुरबुबा शिवप्रताप निर्वाचन जितेर मन्त्री बनेका थिए । ०६३ सालदेखि राजनीतिमा प्रवेश गरेका अभिषेक भने ०७४ सालमा कांग्रेस प्रवेश गरेका हुन् । ०३६ सालको विद्यार्थी आन्दोलनदेखि नेविसंघमा आबद्ध कानोडियाले यसपालि दल बदलेका छन् । 

गत माघ ३ गते एमाले प्रवेश गरेर कानोडिया उम्मेदवार बनेका हुन् । कानोडियाको कृष्णनगर बजारमा रहेको उनको घरमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पटक–पटक आएका बसेका छन् । ०७४ सालमा कपिलवस्तु–३ बाट बहुजन शक्ति पार्टीबाट चुनाव लडेका एहसान पनि ०७६ मा तत्कालीन माओवादी प्रवेश गरेका थिए । 

४३ वर्षीय शाह युवाको भावना र मनोकांक्षा बुझेर काम गर्न सक्ने भएकाले उम्मेदवारी दिएको बताउँछन् । युवालाई रोजगार र उद्यमशील बनाउने योजनासहित चुनाव लडेको उनले बताए । उनी पहिलोपटक ०६३ सालमा प्रतिनिधिसभा सदस्य मनोनीत भएका थिए । राप्रपाबाट निर्वाचित उनका बुवा अजयप्रतापको निधनपछि गिरिजाप्रसाद कोइरालाले अभिषेकलाई सांसद मनोनीत गरेका थिए । २०६४ र ०७० मा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

२०७४ मा कांग्रेसबाट निर्वाचित भएका थिए । २०६४ मा उनी मुलुककै कान्छो संविधानसभा सदस्य बने । त्यतिबेला उनी २५ वर्ष ३ महिनाका थिए । २०७४ मा कांग्रेस प्रवेश गरेर आमन्त्रित केन्द्रीय सदस्य भए । कांग्रेस प्रवेश गर्नुअघि फोरमको सहमहामन्त्री थिए । 

०३६ सालमा नेविसंघबाट विद्यार्थी राजनीति गरेका ६६ वर्षीय कानोडिया आफूसित युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने योजना रहेको बताउँछन् । मुलुकको आर्थिक नीति र योजनाको कमीले काम गर्न नसकेको जनाउँदै चुनाव जितेमा युवा लक्षित कार्यक्रम गर्ने बताए । पञ्च्यायत कालमा प्रतिबन्धित अवस्थामा सक्रिय नदेखिएका बहुदल बहालीपछि खुलेर कांग्रेसमा क्रियाशील बनेका थिए । ०४८ को स्थानीय निर्वाचनमा कांग्रेसबाट तत्कालीन जिल्ला विकास समिति उपभापति चुनिए । ०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तु–३ मा विजयी भए । त्यतिबेला बिष्णुराज आचार्यको घोषणा भइसकेको टिकट खोसेर कांग्रेसबाट उम्मेदवार बनेका थिए । 

०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जलस्रोत राज्यमन्त्री बनेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा कपिलवस्तु–४ मा उम्मेदवार बनेर पराजित भए । ०७० को संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर कपिलवस्तु–५ बाट उम्मेदवार बने पनि विजय प्राप्त गरेनन् । ०७४ मा लुम्बिनी प्रदेश सभा सदस्यमा कपिलवस्तु ३ (२) बाट निर्वाचित भए । प्रदेससभामा प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा लामो समय भूमिका खेले । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न भूमिका खेलेका थिए । यसपटक पोखरेलले नै कानोडियालाई पार्टीमा रेड कार्पेट बिछयाएका हुन् । 

कृष्णनगर बजारका बासिन्दा ६२ वर्षीय एहसान अहमाद खाँ यसपटक पनि चुनाव प्रचारमा खटिसकेका छन् । युवा अवस्थाबाटै आफूले राजनीति थालेकाले युवाको सपना र चाहनाअनुसार काम गर्ने बताए । यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका उनी ०७९ मा लुम्बिनी प्रदेश सभा ३ (१) पराजित भएका थिए । ०७४ मा बहुजन शक्तिबाट कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसबेला पराजय भोगेपछि विजयीको माला पहिरिन अर्को पार्टी खोज्न थाले । ०७६ मा नेकपा माओवादीमा प्रवेश गरे । माओवादी प्रवेशदेखि नै केन्द्रीय सल्लाहकार रहेका उनी अहिले पनि त्यही पदमा छन् । जिल्लाको मुख्य समस्या अशिक्षा र गरिबी नै भएको उनले बताए ।

त्यसैले गुणस्तरीय शिक्षा दिने प्राविधिक क्याम्पस स्थापना नै आफ्नो पहिलो लक्ष्य भएको उनले बताए । उनका अनुसार कृषि क्रान्ति नगरे रोजगारी सिर्जना गर्न सकिँदैन । युवाको वैदेशिक यात्रा रोकिँदैन । त्यसैले कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक गर्न आफ्नो सबै क्षमता, बल र योजना लागू गर्ने बताए । अरू दलको उद्देश्य सत्तामात्र प्राप्तिका लागि भएकाले माओवादीमा प्रवेश गरेर जनताको सेवामा लागेको उनले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully