संखुवासभा नेपालकै उत्कृष्ट गन्तव्य बन्न सक्छ : शाह

सही नेतृत्व र इमानदार राजनीतिको माध्यमबाट मात्रै जिल्लाको पर्यटन, रोजगारी र समग्र विकास सम्भव हुने उनको भनाइ थियो ।

माघ १०, २०८२

दीपेन्द्र शाक्य

Sankhuwasabha can become the best destination in Nepal: Shah

संखुवासभा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह शनिबार बिहान संखुवासभाको धर्मदेवी नगरपालिका–मुढे बजार पुगेका छन् ।

स्थानीयवासीसँगको भेटघाट तथा संक्षिप्त सम्बोधनका क्रममा उनले संखुवासभा अत्यन्तै सुन्दर र सम्भावनायुक्त जिल्ला भएको बताए । मुढे बजारमा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै नेता शाहले प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र जैविक विविधताका हिसाबले संखुवासभा नेपालकै उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना बोकेको उल्लेख गरे । 'संखुवासभा साँच्चिकै सुन्दर रहेछ, यहाँ पाइला टेक्नेबित्तिकै यसको महत्व महसुस हुन्छ,' उनले भने, 'यस्ता सुन्दर स्थानमा विश्वका सबै मानिसहरूले पाइला टेक्न पाउनुपर्छ।'

पर्यटन विकासलाई प्राथमिकतामा राख्दै उनले आगामी निर्वाचनमा रास्वपाका उम्मेदवारलाई जिताउन आग्रह गरे । सही नेतृत्व र इमानदार राजनीतिको माध्यमबाट मात्रै जिल्लाको पर्यटन, रोजगारी र समग्र विकास सम्भव हुने उनको भनाइ थियो । उनले स्थानीय तहदेखि केन्द्रसम्म नयाँ सोच र नयाँ काम गर्ने नेतृत्व आवश्यक रहेको पनि बताए ।

रुद्राक्षका लागि प्रसिद्ध जिल्ला भनेर संखुवासभाको चर्चा धेरै सुनेको बताउँदै नेता शाहले प्रत्यक्ष रूपमा यहाँ आउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 'रुद्राक्षका कारण यो जिल्लाको अन्तर्राष्ट्रिय पहिचान छ भन्ने सुनेको थिएँ,' उनले भने, 'आज यहाँ आइपुग्दा त्यो गौरव झनै महसुस भयो ।'

नेता शाहको मुढे बजार आगमनलाई स्थानीयले उत्साहका साथ स्वागत गरेका थिए । शाह आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ का उम्मेदवार हुन् ।

दीपेन्द्र

Link copied successfully