गोरखा–२ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्दा आफ्ना उम्मेदवारलाई लाभ पुग्ने नेकपा, कांग्रेस, एमाले र रास्वपाको दाबी, गोरखा–१ जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङको उम्मेदवारीले आम चासोमा
What you should know
गोरखा — तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि बाबुराम भट्टराईले चुनाव लड्दै र जित्दै आएको जिल्ला हो गोरखा । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने उनले उम्मेदवारी दिएनन्, गोरखामा मात्र होइन, कतै पनि ।
आफूले चुनाव लड्दै आएको गोरखा–२ मा उनले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सघाए र जिताए । भट्टराई भने फरक दल नेपाल समाजवादी पार्टीका अध्यक्ष थिए । चुनाव नलड्ने घोषणा गर्ने क्रममा भट्टराईले १७ असोज २०७९ मा भनेका थिए, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु होइन, सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो ।’
त्यही कारण उनी चुनावी प्रतिस्पर्धामा फर्कंदैनन् भन्ने अनुमान थियो । तर उनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ बाट मंगलबार उम्मेदवारी दर्ता गरे । फेरि मतदातालाई आश्चर्यमा पार्दै शुक्रबार उम्मेदवारी फिर्ता पनि गरिहाले ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक रहेका पूर्वप्रधानमन्त्री भट्टराई प्रतिस्पर्धाबाट पछि हट्दैमा गोरखा चुनावी चर्चाबाट ओझेलमा पर्नेवाला भने छैन । गोरखा–१ मा जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दिएका छन्, जसका कारण धेरैको ध्यान खिचिएको छ । खासगरी २०६४ देखि नै तत्कालीन माओवादी (हाल नेकपा) ले राख्दै आएको दबदबा उनले अन्त्य गर्न सक्लान् कि नसक्लान् भन्ने चासो पनि छ ।
गोरखा–२ भने गुन्डागर्दी पृष्ठभूमिका एमाले उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) का कारण चर्चामा छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी पनि यहीँ उम्मेदवार छन् । यही कारण रास्वपाका नेता–कार्यकर्ताको चासोमा यो क्षेत्र परेको छ । अर्कातिर कांग्रेस र नेकपा पहिलेदेखिकै बलिया दाबेदार छँदै छन् ।
सदरमुकाममा मंगलबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू मतदाता भेटघाटमा गाउँ पस्न थालिसकेका छन् । नेता भट्टराईले उम्मेदवारी फिर्तापछि उनले विचारसहितको प्रगतिशील लोकतन्त्रमा प्रतिबद्ध व्यक्ति र शक्तिलाई सघाउने घोषणा गरेका छन् ।
मनोनयनपछि सबै पक्षबाट एक दलबाट उठ्नुभन्दा साझा व्यक्तिकै रूपमा बस्दा राम्रो हुने सुझाव आएकाले उम्मेदवारी फिर्ता लिएको भट्टराईको भनाइ छ । ‘जेन–जीले उठाएका प्रश्नले आम सहमतिको माग गर्छ । साझा अभिभावकका रूपमा बस्दा त्यो हल गर्न सकिन्छ भन्ने कुरा पनि आयो,’ उनले भनेका छन्, ‘प्रलोपाले पहिलेदेखि नै अभिभावक स्वीकार गरेको छ । नयाँ वैकल्पिक शक्तिले पनि मलाई अभिभावकै रूपमा हेरेको छ ।’
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन सार्वजनिक रूपमै अपिल गरेका थिए । अब कुन पार्टी र उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको प्रलोपाका जिल्ला संयोजक नारायण खत्रीले विज्ञप्तिमार्फत जनाएका छन् । प्रत्यक्ष निर्वाचनतर्फ कसलाई समर्थन गर्ने निर्णय छिट्टै जिल्ला पार्टीले गर्ने उनको भनाइ छ । गोरखा–१ बाट पनि प्रलोपाका गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।
भट्टराईको उम्मेदवारी कायम रहँदा र नरहँदा अन्य दलका उम्मेदवारलाई हुने लाभ/हानिको हिसाबकिताब गर्न सुरु भइसकेको छ । भट्टराईले कुन उम्मेदवारलाई समर्थन गर्छन्, त्यसको प्रभाव चुनावी परिणाममा पर्ने अनुमान छ । प्रतिस्पर्धी राजनीतिक दलहरूको भने आफूलाई लाभ पुग्ने दाबीसहितको विश्लेषण छ ।
भट्टराई २०६४ को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए । संविधानसभा निवार्चन–२०७० मा भने उनले गोरखा–१ बाट चुनाव जिते । दुवै संविधानसभाको निर्वाचन हुँदा उनी माओवादीमा थिए । २०७४ मा नयाँ शक्ति पार्टीबाट चुनाव जितेका थिए । त्यति बेला भट्टराईले ३१ हजार ८ सय ७ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमाले–तत्कालीन माओवादी गठबन्धनका नारायणकाजी श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए ।
२०७९ मा गोरखा–२ मा कांग्रेससमेतको सहयोगमा तत्कालीन माओवादीका पुष्पकमल दाहाल २६ हजार १ सय ९ मतसहित विजयी भए । त्यति बेला निकटतम प्रतिद्वन्द्वी रास्वपाका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३९ मत ल्याएका थिए । एमाले उम्मेदवार अब्दुस सलाम मियाँ ७ हजार ३ सय ९५ मतसहित तेस्रो भएका थिए । यस क्षेत्रमा समानुपातिकतर्फ माओवादीले सबैभन्दा बढी १९ हजार, कांग्रेसले ११ हजार ८ सय ८२, रास्वपाले ८ हजार ९ सय ९९ र एमालेले ६ हजार १ सय ८५ मत ल्याएका थिए ।
यस पटक गोरखा–२ मा गुरुङ (५३) र बुर्लाकोटी (४६) का अलावा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी (५०), नेकपाबाट लेखनाथ न्यौपाने (५२) प्रतिस्पर्धामा छन् । यस्तै, राप्रपाबाट कुलबहादुर बस्नेत (५८), आमजनता पार्टीबाट कल्पना कुमाल (४४), नेकपा माओवादीका टेकबहादुर प्रधान (४२), मंगोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ (४३) उम्मेदवार छन् ।
नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकी (५६), उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ (५५), नेसनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ (५४) ले पनि उम्मेदवारी दिएका छन् । चूडाप्रसाद ढकाल (६३) र हरि पोखरेल (३८) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गोरखा–२ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता छन् । तीमध्ये ३ हजार २ सय ९३ जना नयाँ हुन् ।
कांग्रेसका दवाडी २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले–माओवादीको गठबन्धनका उम्मेदवारलाई हराएर विजयी भएका थिए । उनले १५ हजार ८ सय ५३ मत प्राप्त गर्दा वाम गठबन्धनका उम्मेदवार अमर तमुका पक्षमा १३ हजार ४ सय ११ मत थियो । सशस्त्र विद्रोहताका नै तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष बनेका न्यौपाने पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् । गोरखाको थालाजुङ पुर्ख्यौली घर भएका एमालेका गुरुङ पनि पहिलो पटक चुनावमा उत्रिएका हुन् ।
गोरखा–१ मा रास्वपा उम्मेदवार गुरुङ (३८) ले नेकपा (साविक माओवादीका पूर्वसांसद) का हरिराज अधिकारी (५८) सहित कांग्रेसका प्रेमकुमार खत्री (४२) र एमालेका आरसी लामिछाने (४४) लाई चुनौती दिने आकलन मतदाताको छ । कांग्रेस, एमाले र रास्वपाले नयाँ उम्मेदवार अघि सारेका कारण कार्यकर्ता उत्साही देखिन्छन् । हामी नेपाल संस्थाबाट जेन–जी आन्दोलनको अगुवाइ रहेका गुरुङले काठमाडौं महानगरपालिका तत्कालीन मेयर बालेन्द्र शाह र रास्वपालाई एक ठाउँ मिलाउन भूमिका खेलेका थिए ।
गोरखा–१ बाट ३४ वर्षीया कविता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर (५५), नेकपा माओवादीका विष्णुप्रसाद रिजाल (७२), नेसनल रिपब्लिक नेपालका आकाश राना मगर (४१) पनि चुनावी प्रतिस्पर्धामा छन् । नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठ (५६), राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारमणि खनाल (४०) ले पनि उम्मेदवारी दिएका छन् । मंगोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा (२९) र संयुक्त नागरिक पार्टीका जितबहादुर घले (५३) ले पनि मनोनयन दर्ता गरेका छन् ।
२०६४ यता ४ पटक निर्वाचन भएकामा ३ पटक माओवादी र १ पटक कांग्रेस उम्मेदवार गोरखा–१ बाट विजयी भएका थिए । २०७९ को निर्वाचनमा माओवादीसँगको गठबन्धनमा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका थिए । माओवादीलगायतका दलसँग गठबन्धनबाट बजगाईंले ३३ हजार ४ सय २८ मत ल्याएका थिए ।
एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत र रास्वपाका सुवर्ण रोकाहाले ४ हजार ८ सय ९२ मत पाएका थिए । समानुपातिकतर्फ नेकपा १८ हजार ४ सय ७१ मतसहित पहिलो थियो । कांग्रेसले १५ हजार २ सय ७१ मत, एमालेले ११ हजार ८ सय १३ र रास्वपाले ७ हजार २ सय ४६ समानुपातिक मत पाएका थिए । यस पटक ४ वटै पार्टीका छुट्टाछुट्टै र नयाँ उम्मेदवार छन् ।
गोरखा–१ मा गोरखा नगरपालिकाको १ देखि ७ नं वडा, चुमनुव्री, धार्चे, आरुघाट, भीमसेन थापा, गण्डकी र सहिद लखन गाउँपालिका पर्छन्, जहाँ १ लाख २० हजार ५ सय २५ मतदाता छन् । तीमध्ये ५ हजार १ सय २८ नयाँ मतदाता हुन् । यस क्षेत्रमा मुस्लिमसहित लामा, घले, गुरुङ, नेवार, मगरलगायत आदिवासी जनजाति र खस आर्यको मुख्य बसोबास छ ।
उम्मेदवारहरूले सुस्त गतिविधिमा अघि बढेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना र बेनीघाट–आरुघाट–लार्के सडक आयोजना सम्पन्न गर्ने प्रतिबद्धतासहित मतदातासँग भेटघाट र चुनावी प्रचारप्रसार थालेका छन् । मनास्लु हिमाल र त्यस क्षेत्र, गोरखा दरबार, मनकामना मन्दिरलगायत ठाउँमा पर्यटन प्रवर्द्धन गर्न काम गर्ने उम्मेदवारहरूको वाचा देखिन्छ ।
सडक, खानेपानीलगायतका पूर्वाधार निर्माण उत्तरी क्षेत्रको जडीबुटी संकलनलगायत विषय पनि चुनावी एजेन्डा बनेका छन् । गोरखा–२ स्थित बन्द गोरखकाली रबर उद्योग सञ्चालन गर्ने, पालुङटारमा उद्योगधन्दा विस्तार गर्ने र स्मार्ट सिटी निर्माण गर्ने उम्मेदवारहरूको चुनावी एजेन्डा देखिन्छ । पूर्वाधार विकास निर्माण, शिक्षा, स्वास्थ्यमा जोड दिने प्रतिबद्धता छ ।
कान्तिपुर टिम गोरखा नगरपालिका वडा नं ३ आहाले पुग्दा ७० वर्षीय जेअर महमद मियाँ सडक छेउमा घाम तापेर बसिरहेका थिए । चिनजान गरेपछि चुनावको प्रसंग निकाल्दा उनले यस पटक युवालाई मत दिने बताए । उनले थपे, ‘बूढापाकालाई भोट दिँदा–दिँदा थाकिसकें । खानेपानी ल्याउँछौं भन्दै धेरैले भोट लगे । चुनावपछि पानी त आउँछ तर आकाशबाट ।’
कुराकानी चल्दै गर्दा नजिककै किराना पसलबाट आइसा मियाँ पनि मिसिइन् । गृहिणी आइसाले भने यस पटक कसलाई भोट दिने भन्ने निधो गरिसकेकी छैनन् । ‘नेताहरूले भोट माग्न आउँदा फुरुक्क पारेर धेरैचोटि झुक्काए,’ उनले भनिन्, ‘यसपालि अलि राम्ररी सोचविचार गरेर भोट दिनुपर्ला ।’
सँगै रहेका ३२ वर्षीय इन्जिनियर साहिद मियाँले पुराना पार्टीहरूसँग आक्रोश पोखे । रोल्पाको एक परियोजनामा कार्यरत उनी बिदामा घर आएका रहेछन् । ‘जेन–जी आन्दोलनपछि स्थानीयमा चेतना आएको छ,’ साहिदले भने, ‘पुरानालाई दोहोर्याउनेभन्दा नयाँ खोज्ने सल्लाह हुन थालेको छ । यस पटक मत परिवर्तन गर्ने सम्भावना छ । किनभने पुराना पार्टी र तिनका उम्मेदवारमा देश बदल्ने क्षमता देखिएन ।’ बूढापाका मत परिवर्तन तयार नभए पनि युवा पुस्ताको दबाबमा पर्न सक्ने उनको भनाइ छ ।
गोरखा आहालेकै किराना पसलमा भेटिएकी सीतामाया श्रेष्ठ नयाँ र युवा उम्मेदवारलाई अवसर दिनुपर्ने पक्षमा छिन् । ‘गाउँमा अरूले पनि बूढा नेताको पालो पुग्यो भनिरहेका छन्,’ उनले भनिन्, ‘सबैले पालो पाउनुपर्यो नि । एक पटक नयाँलाई हेर्नुपर्छ ।’ आहाले छाडेर १० मिनेटजति पर पुगेपछि चिया पसलमा ८६ वर्षीय इन्द्रबहादुर कँडेल भेटिए । उनले भने नयाँ भन्दैमा भोट हालिहाल्नुपर्ने र पछि लाग्नुपर्ने अवस्था नरहेको बताए । ‘नयाँले झन् भद्रगोल बनाउने पो हुन् कि देश ?’ उनको शंका छ, ‘युवा बलले मात्र आएका हुन् कि बुद्धि पनि छ ? विचार गरेर मात्र मौका दिनुपर्छ ।’
धार्चे–७ लापुका सूर्य गुरुङले ग्रामीण भेगलाई चुनावले छोइनसकेको बताए । कान्तिपुरले चुनावको प्रसंग निकाल्दा उनले भने, ‘चुनाव आउँछ, जान्छ । जनताको जीवनस्तर उकास्ने काम भएन । उम्मेदवार र पार्टीका संगठनलाई मात्र चुनाव लाग्ने रहेछ ।’ यसपालि चुनावमा सबैको साझा बन्न सक्ने उम्मेदवारलाई रोज्नुपर्ने धारणा पनि उनले राखे ।
यसअघिका निर्वाचनमा गोरखा–१ का उम्मेदवारहरूले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनालाई प्रमुख चुनावी मुद्दा बनाउने गरेका थिए । तर आयोजना निर्माण अघि नबढेकामा स्थानीयको गुनासो छ । पुराना दलले बुढीगण्डकी आयोजनालाई बेवास्ता गरेको गण्डकी–३ फुजेलका विष्णुप्रसाद अम्गाईं बताउँछन् । ‘अहिले उम्मेदवार बनेकाहरूले पनि बुढीगण्डकी बनाउँछन् भन्ने आस गरिहाल्नुपर्ने अवस्था देखिँदैन,’ उनले भने ।
युवा सहर र विदेशमा रहेकाहरूले यसपालि नयाँलाई हेर्नुपर्छ भनिरहेको पनि अम्गाईंले सुनाए । ‘नयाँले गर्न सक्छन् कि जस्तो लाग्छ तर तिनीहरूसँग अनुभव छैन,’ उनले भने, ‘त्यसैले पनि होला गाउँघरमा भएका बूढापाका मौन नै छन् ।’ सदरमुकामदेखि बुढीगण्डकी जलविद्युत् परियोजना प्रभावित क्षेत्र र तिब्बतसँग सीमा जोडिएको चुमनुव्रीका मतदातामा पनि चुनावप्रति मिश्रित धारणा देखिन्छ ।
गोरखा क्याम्पसका प्रमुख नवराज पाण्डे मतदाताले विकल्प खोजिरहेको बताउँछन् । ‘गाउँघर डुल्दा मत परिवर्तन गर्नुपर्छ भन्ने धारणा सुनिन्छ,’ उनले भने । जिल्लामा रास्वपाको शक्ति बलियो हुँदै गएको र जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङले पनि उम्मेदवारी दिएकाले प्रतिस्पर्धा कडा हुने उनको अनुमान छ । ‘सुधनको आफ्नै व्यक्तिगत प्रभाव त स्थानीयस्तरमा खासै केही देखिँदैन । तर यतिबेला रास्वपा मतदाताको केन्द्रमा देखिन्छ । त्यसैले सुधन मुख्य प्रतिस्पर्धी हुन सक्छन् ।’
गोरखा–१ मा चुनावी प्रचारमा रहेका रास्वपा उम्मेदवार सुधन गुरुङले देश र जिल्लामा रहेका अधुरा र अपूरा काम पूरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरेको बताए । ‘भोट माग्नभन्दा पनि गाउँ–ठाउँका जनताका समस्या बुझ्ने र समाधान गर्ने प्रयास गर्छु,’ उनले भने ।
गोरखा–१ कै एमाले उम्मेदवार लामिछाने आफू युवा र नयाँ उम्मेदवार भएकाले मतदाताले साथ दिने दाबी गर्छन् । ‘रहरले राजनीतिमा प्रवेश गरेका र परीक्षण भइसकेकाहरू मैदानमा छन्,’ उनी भन्छन्, ‘उहाँहरूभन्दा एमाले मतदाताको रोजाइमा पर्छ भन्ने विश्वास छ ।’
नेकपाको जनजाति मत सुधन गुरुङले तान्ने र कांग्रेसमा आन्तरिक विवाद भएका कारण आफूलाई फाइदा पुग्ने उनको भनाइ छ । ‘मनकामनाको शिरदेखि चुमनुव्रीको भीरसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारको सुविधा पुर्याउने मेरो चुनावी वाचा हुन्छ,’ लामिछाने भन्छन्, ‘चुनाव जितेपछि मनास्लुमा पर्यटन प्रवर्द्धन गर्ने, तिब्बतसँगको उत्तरी नाका खोल्न पहल गर्ने र बुढीगण्डकीलाई निचोडमा पुर्याउने काम गर्नेछु ।’
कांग्रेस जिल्ला सचिव किशोरजंग थापा कांग्रेस केन्द्रदेखि नै बदलिएकाले यस पटक जिल्लाको मत परिणाम बदलिने बताउँछन् । ‘सबै उम्मेदवारलाई प्रतिस्पर्धी मानेका छौं । नेकपा हाम्रो मुख्य प्रतिस्पर्धी हो,’ उनी भन्छन्, ‘तर दुवै क्षेत्रमा कांग्रेसले आफ्नो पक्षमा नतिजा ल्याउँछ ।’ विकास र समुन्नत गोरखा बनाउन मतदातासँग मत माग्ने उनको भनाइ छ । बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्दा कांग्रेसलाई फाइदा पुग्ने उनले दाबी गरे ।
नेकपाका जिल्ला निर्वाचन समितिका संयोजक अमर तमुले विरासत, विगतको निर्वाचनको मतभार, बलियो र चलायमान संगठन भएकाले दुवै क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । ‘हाम्रा उम्मेदवार सक्षम र क्षमतावान् छन् । विरासत कायमै रहन्छ,’ उनले भने ।
भट्टराईको उम्मेदवारी फिर्ताले नेकपाका उम्मेदवारलाई जितनजिक पुर्याएको उनले बताए । ‘बाबुरामले सम्मानजनक बहिर्गमन रोज्नुभयो । चुनावी दृष्टिकोणमा हाम्रा लागि त्यो सकारात्मक हुन्छ । उहाँले जसलाई समर्थन गरे पनि नेकपालाई फाइदा हुन्छ ।’
बुढीगण्डकी जलविद्युत् आयोजना, रबर उद्योग सञ्चालनलगायत दीर्घकालीन महत्त्वका एजेन्डा लिएर मत माग्न जाने तमुले बताए । ‘हाम्रै पालामा सडक व्यापक बने । पालुङटारदेखि भच्चेकसम्म, बेनीघाटदेखि सिर्दिबाससम्म सडक पुगेको छ । दुई वटा नगरपालिकाका वडा–वडामा कालोपत्र सडक पुगेको छ,’ तमुले भने, ‘विकास निर्माणलाई थप तीव्रता दिन मतदाताले हामीलाई जिताउँछन् ।’
चुनावी प्रचारमा अजिरकोट भच्चेक पुगेका गोरखा–२ का उम्मेदवार तथा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले देशभर र गोरखामा पनि रास्वपाप्रति जनलहर देखिएको बताए । ‘यस पटक मत परिवर्तन गर्छौं भन्ने मतदाता प्रशस्त भेटिएका छन् । रास्वपालाई भोट दिन्छौं भनेका छन्,’ उनले भने, ‘युवाको व्यापक आकर्षण देखिएको छ । हामी उत्साही छौं ।’
लोककल्याणकारी राज्य निर्माण गर्ने एजेन्डा लिएर देशभर चुनावमा होमिएको बुर्लाकोटीले बताए । बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएर रास्वपालाई समर्थन गर्ने सम्भावना बढी रहेको उनले बताए । ‘राजनीतिक विरासत र परिवर्तन पक्षधर भएका भट्टराईसँग रास्वपाको उच्च तहमा चरणबद्ध छलफल भएको छ,’ उनले भने, ‘उहाँको पार्टीले रास्वपालाई सघाउँछ भन्नेमा विश्वस्त छौं ।’
