जेन-जी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ : निर्वतमान मन्त्री घिसिङ

ललितपुरमा ‘जेन-जी सुशासन योद्धा’ विषयमा सहिदका परिवारसँगको संवाद तथा भेटघाट कार्यक्रममा घिसिङले यस विषयमा बोर्डले स्वीकृति दिएसँगै हाललाई निवेदन दिएकामध्ये २७ जनाका लागि रोजगारीको व्यवस्था गरिएको जानकारी दिए ।

माघ १०, २०८२

रासस

Employment arrangements have been made for 27 members of Gen-G martyr families: Outgoing Minister Ghising

What you should know

ललितपुर — उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा निर्वतमान मन्त्री कुलमान घिसिङले जेन-जी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताएका छन् । 

युनाइटेड नेप्लिज एसोसिएसन टेक्सास (युएसए), युनाइटेड नेपाली ड्यासपोरा (युएसए) र एमआइटी ग्रुप फाउन्डेसन अस्ट्रेलियाको संयुक्त आयोजनामा शनिबार ललितपुरमा ‘जेन-जी सुशासन योद्धा’ विषयमा सहिदका परिवारसँगको संवाद तथा भेटघाट कार्यक्रममा उनले यस विषयमा बोर्डले स्वीकृति दिएसँगै हाललाई निवेदन दिएकामध्ये २७ जनाका लागि रोजगारीको व्यवस्था गरिएको जानकारी दिए । 

'हाललाई निवेदन दिएकामध्ये २७ जना गएर काम गर्न सक्नुहुन्छ, बाँकीका लागि पनि थप व्यवस्था गर्दै जाने छौं । हामीले यो व्यवस्थाका लागि सरोकार भएका निकायका प्रतिनिधिसँग समन्वय र सहकार्य गर्दै जाने छौं,' अध्यक्ष घिसिङले भने । 

मुलुकको हित र जनचाहना नबुझ्ने शक्तिलाई विस्थापित गरेर जेन-जी सहिदका माग पूरा गर्न सकिने उनले धारणा राखे । 

घिसिङले सहिद परिवारको भावनालाई हामीले बुझेका छौं भन्दै यो विषयमा बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए । 'सहिद पार्क र सालिक बनाउनेमा म सरकारमा हुँदा सकारात्मक छलफलपछि तयारी थालिएको छ । उज्यालो नेपाल पार्टी संसद्मा पुगेपछि सहिद परिवारका भावनालाई सम्बोधन गर्नेछौं', उनले भने ।

अध्यक्ष घिसिङले राज्यको जवाफदेहिताका लागि सहिद र घाइतेका परिवारसँग धेरै पटक छलफलमा आफू पनि संलग्न भएको उल्लेख गरे । 'सहिदको सम्मानका लागि हामीले मन्त्रिपरिषद्मा पटकपटक छलफल गरेका थियौं । आगामी फागुन २१ गते निर्वाचन हुँदैछ, त्यसपछि बन्ने संसद् र सरकारले पनि सहिद, घाइते र उनीहरूका परिवारका विषयमा सम्बोधन गर्नेछ', उनले भने ।

सहिद धिरज श्रेष्ठका पिता नारायण श्रेष्ठले सहिद परिवारलाई एकताबद्ध गर्दै कल्याणकारी कार्य गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रम संयोजक एवम् युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक पासाङ लामाले नेपाल र नेपालीप्रतिको दायित्व पूरा गर्नका लागि ११ वर्षअगाडि संस्था स्थापना गरिएको जानकारी दिए । उनले देशमा आपत्कालीन अवस्था आउँदा कर्तव्य र दायित्व सम्झेर संस्थामार्फत सहयोग गर्न तत्पर रहेको बताए ।

युनाइटेड नेप्लिज एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष दोर्जे शेर्पाले संवादबिना समझदारी सम्भव नहुने भन्दै सहिदका सपना साकार पार्दै सुशासन र न्यायपूर्ण समृद्ध नेपाल निर्माण गर्न साझा प्रतिबद्धताका साथ सबै लाग्नुपर्ने धारणा राखे ।

रासस

Link copied successfully