हरिबोल गजुरेलसहित ७ जना नेकपाबाट निष्कासित

आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र उनीहरुका प्रस्तावक, समर्थक र प्रचारकलाई समेत कारबाही गरिएको नेकपाले जनाएको छ ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

7 people including Haribol Gajurel expelled from NCP

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभाका लागि 'विद्रोही' उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन  गरेको छ ।

पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै उनीहरूलाई निष्कासन गरिएको संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

निष्कासन हुनेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा), र जिवछ साह (सिरहा) रहेका छन् । 

२१ फागुनमा हुने निर्वाचनमा नेकपाबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र उनीहरुका प्रस्तावक, समर्थक र प्रचारकलाई समेत कारबाही गरिएको उल्लेख छ ।

सिन्धुली-२ मा पूर्वसांसद लेखनाथ दाहाललाई नेकपाले आधिकारिक उम्मेदवार बनाएपछि गजुरेल पक्षले विद्रोह गरेको थियो । सो क्षेत्रमा महेश्वर दाहाल बागी उम्मेदवार उठाइएको छ ।

यस्तै, दाङ-१ मा कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् । नेकपा उम्मेदवार मेटमणि चौधरीविरूद्ध पूर्वमुख्यमन्त्री समेत रहेका केसीले विद्रोह गरेका छन्। 

नेकपाबाट टिकट नपाएपछि धर्मनाथ साहले सिरहा-४ मा एमालेबाट उम्मेदवारी दिएका छन् । यस्तै, उदयपुर-२ मा पनि पार्टीले टिकट नदिएको भन्दै मेजर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

7 people including Haribol Gajurel expelled from NCP

कान्तिपुर संवाददाता

Link copied successfully