मनाङमा एमाले र राप्रपाद्वारा उम्मेदवारी फिर्ताको निवेदन

मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ताको निवेदन दिएको बताए।

माघ ९, २०८२

आश गुरुङ

UML and RPP request withdrawal of candidacy in Manang

लमजुङ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनाङमा उम्मेदवारी दिएका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपा उम्मेदवार कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ताको निवेदन दिएको बताए। निर्वाचन कार्यातालिका अनुसार शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।

‘नेकपा एमालेका उम्मेदवार र राप्रपा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निवेदन परेको छ। आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ,’ उनले भने, ‘अहिले नै निर्णय भएको छैन। हामी १ बजेपछिमात्रै निर्णय गर्छौं।’

मनाङमा ५ जनाको उम्मेदवारी परेकोमा २ जनाको उम्मेदवारी फिर्ता लिएको निर्णय भएमा ३ जनाको उम्मेदवारी कायम हुनेछ। हालसम्म कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका यशोदा गुरुङ (सुवेदी) र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले मनोनयन कायम रहेको सहायक निर्वाचन अधिकृत दीपक दाहालले जानकारी दिए।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully