रुपन्देही २ मा राप्रपाकी कार्भिका थापाको उम्मेदवारी फिर्ता

अमेरिकाको पीआर त्यागेको तीन महिना नपुगेको स्वीकार

माघ ९, २०८२

घनश्याम गौतम

RPP's Karbika Thapa withdraws candidacy in Rupandehi 2

What you should know

बुटवल — रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।

अमेरिकामा बसेर प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएकी उनले विदेशको स्थायी आवास अनुमति पत्र (पीआर) त्यागेकोसमय तीन महिना नपुगेकाले उमेदवारी रद्द हुने जानकारी निर्वाचन आयोगको कार्यालयले दिएको थियो ।

आयोगको जानकारीपछि थापाले विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवास अनुमति (पीआर) परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था रहेको र सो अवधि पूरा नभएकाले उम्मेदवारी फिर्ता लिएको जनाएकी छन्। ‘मलाई निर्वाचन आयोगबाट नभई आफ्नो पार्टी राप्रपाबाट मनोनयन फिर्ता लिन अनुरोध आएपछि यो निर्णय गरेकी छु,’ उनले भनिन्, ‘संविधानको मर्म र भावनाअनुसार चल्नु मेरो कर्तव्य हो ।’

अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको पनि उनले स्पष्ट पारेकी छन्।

उम्मेदवारी फिर्ता लिए पनि देशसेवाप्रतिको प्रतिबद्धता कायमैरहने उल्लेख गर्दै उनले राजनीति भित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता,युवा तथा महिला सशक्तिकरण र सुशासनका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। कर्भिका राप्रपा नेता निरन्जन थापाकी छोरी हुन् ।

रूपन्देही-२का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले पनि थापाले पार्टीको पत्रसहित उमेदवारी फिर्ताको निवेदन दिएको बताए । ‘कर्भिका थापाको फिर्ता भएको र सार्वभौम नागरिक पार्टीकी कमलादेवी गुरूङको उम्मेदवारी खारेज भएको छ,’ उनले भने, ‘उम्मेदवारी दिएका ४१ मध्ये ३९ जनाको उम्मेदवारी कायम भएको छ ।’

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully