बालेनलाई प्रश्नभन्दा माथि नराख्नुस्, उनी जवाफदेही हुनुपर्छ : राउत

'बालेन १० करोडको गाडी चढ्न सक्छन् होला, तर जब जनताले प्रश्न गर्छन्, उनले जनता दोषी देख्नुहुँदैन ।'

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Don't put Balen above question, he should be held accountable: Raut

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहलाई प्रश्नभन्दा माथि राख्न नहुने जेन-जी आन्दोलनकी अगुवा भावना राउतले सुझाव दिएकी छन् । शाह चढेको गाडीको सम्बन्धलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठिरहेको भन्दै राउतले जवाफदेही बन्नुपर्ने बताएकी हुन् ।

'बिन्ती, बालेनलाई प्रश्नभन्दा माथि नराख्नुस् । प्रश्नभन्दा माथि भएका व्यक्तिहरू कस्तो हुन्छन्, हामीले देखिसकेका छौं । प्रश्नभन्दा माथि रहेका व्यक्तिहरू प्रायः भ्रष्ट हुन्छन् र नष्ट हुने बाटोमा छन् । हामी चाहँदैनौँ कि बालेन भ्रष्ट र नष्ट हुन् । उनी त जवाफदेही हुनुपर्छ, प्रक्रिया मान्नुपर्छ,' राउतले भनेकी छन् ।

गाडीको सम्बन्धमा प्रश्न उठेपछि शाहले जवाफ दिनुपर्ने राउतको माग छ । प्रश्नकर्तालाई दोषी देख्न नहुने पनि उनको भनाइ छ । 'बारम्बार भन्छन् बालेन 'यो आवश्यकताको राजनीति हो' भनेर, त्यसैले आवश्यकता अनुसार नै उनी हुनुपर्छ । उनी १० करोडको गाडी चढ्न सक्छन् होला, तर जब जनताले प्रश्न गर्छन्, उनले जनता दोषी देख्नुहुँदैन,' राउतले प्रश्न गरेकी छन्, 'उनले राजनीतिक संस्कार बुझ्नुपर्छ, जसले धन भ्रष्ट, पापीले मात्रै कमाउन सक्छ भनेर सिकाएको छ । उनलाई देश बुझ्नुपर्छ, यो बुझ्नुपर्छ कि नेपालमा नेपो बेबी किन र के कारणले सुरु भयो ? उनी राजनीतिका नेपो बेबी नबनुन् । बालेन भ्रष्ट र नष्ट नहुन् ।'

झापा– ५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता शाह चढेको गाडीको तस्बिर भाइरल बनेको छ । उनले चढेको गाडी यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार यो गाडी रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित करेन्ट मसला उत्पादन गर्ने कम्पनी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा छ । यसका एक लगानीकर्ता कमल मालपानी हुन् । कमलको तिलोत्तमामै अर्को उद्योग पनि छ । त्यो हो, यशोदा फुड्स प्रालि । जसले करेन्ट चाउचाउ, लाली चाउचाउ र करेन्ट चिजबल उत्पादन गर्ने गर्छ । कमलले स्वामित्वमा रहेको अर्को उद्योग श्रीराम टोबाको प्रालि भने बुटवल उपमहानगरपालिकामा छ । यसले भोला गुट्खा र जित सुर्ती उत्पादन गर्ने गर्छ ।

कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा मालपानीले बालेन्द्रले चढिरहेको गाडी आफूहरूले दिएको बताए । उनले भने, 'हो हामीले नै दिएको गाडी हो ।' कति समयका निम्ति गाडी दिइएको हो भन्ने प्रश्नमा भने उनले यसबारे केही कुरा नभएको तर आफूहरूले गाडी दिएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully