नुवाकोटमा ३० जना उम्मेदवार कायम, महिला एक जनामात्र

उम्मेदवारी फिर्ताको अवधिमा शुक्रबार एक जना उम्मेदवारले नाम फिर्ता लिएसँगै फागुन २१ मा हुने निर्वाचनको लागि ३० जना उम्मेदवार कायम भएको हो ।

माघ ९, २०८२

रासस

30 candidates remain in Nuwakot, only one woman

What you should know

नुवाकोट — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार कायम भएका छन् ।

उम्मेदवारी फिर्ताको अवधिमा आज एक जना उम्मेदवारले नाम फिर्ता लिएसँगै फागुन २१ मा हुने निर्वाचनको लागि ३० जना उम्मेदवार कायम भएको हो ।

नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार मनोनयन दर्ता गराएकामध्ये क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार रजमान तामाङले नाम फिर्ता लिए । एक जनाको मनोनयन फिर्ता भएसँगै निर्वाचन क्षेत्र नं २ मा बाह्र जना उम्मेदवार कायम रहेका छन् । यस्तै, क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका अठार जना सबै उम्मेदवार कायम रहेका छन् ।

क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट हितबहादुर तामाङ, उज्यालो नेपाल पार्टीबाट अमित तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट कुमार रानामगर, श्रम संस्कृति पार्टीबाट दावा फेन्चु लामा, नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत, नेकपा (एमाले)बाट बद्री मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विमल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट महेन्द्र तामाङ उम्मेदवार रहेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र डङ्गोल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजन गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा विक्रम तिमिल्सिना, मितेरी पार्टी नेपालबाट विवेक सिलवाल र जनता समाजवादी पार्टीबाट होमबहादुर राई फागुन २१ को निर्वाचनका लागि उम्मेदवार रहेको निर्वाचन अधिकृत भेषराज कोइरालाले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार दिनेमा पाँच जना छन् । चेपे तामाङ, माधव थापा, राजु थापा, रामेश्वर भण्डारी र सञ्जीव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै, फागुन २१ को निर्वाचनका लागि नुवाकोटको क्षेत्र नं २ मा १२ जना उम्मेदवार कायम रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा अचुतम लामिछाने, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट किरण तिमसेना, नेकपा (एमाले)बाट केशवराज पाण्डे, नेपाली कांग्रेसबाट जगदीश्वरनरसिंह केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झनक प्याकुरेल उम्मेवार रहेका छन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट नवराज ढुंगाना, आम जनता पार्टीबाट मानसिंह गदाइली, मङ्गोल नेसनल अर्गनाइजेसनबाट रेन्छन तामाङ, श्रम संस्कृति पार्टीबाट विनोदकुमार तामाङ, नेपाल मजदुर किसान पार्टीबाट सुवास भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट हिरानाथ खतिवडा र उज्याले नेपाल पार्टीबाट ज्ञानेन्द्र घले उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

उनको अनुसार नुवाकोटका ३० जना उम्मेदवारमध्ये क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार चेपे तामाङ मात्र महिला उम्मेदवार छन् । क्षेत्र नं १ मा मनोनयन दिएका १८ जना उम्मेदवारमध्ये पञ्चकन्या गाउँपालिकाबाट मात्रै छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

रासस

Link copied successfully