२०७९ मा विभाजित मतका कारण विद्रोही उम्मेदवारले जित हासिल गरेको क्षेत्रमा कांग्रेस सभापति थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
What you should know
काठमाडौँ — सर्लाही–४ फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको यो क्षेत्र यसपटक कांग्रेस सभापति गगन थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकबाट थापालाई आधिकारिक प्रधानमन्त्रीको उम्मेदवार अघि सार्ने तयारी छ । भावी प्रधानमन्त्रीका रुपमा थापाको उम्मेदवारी यही क्षेत्रबाट दर्ता भएपछि झापा–५ पछि सर्लाही–४ देशकै सबैभन्दा बढी चासो बन्न पुगेको छ ।
२०७९ मा विभाजित मत, स्वतन्त्रको जित
२०७९ मा सर्लाही–४ मा प्रत्यक्षतर्फ मत अत्यन्तै विभाजित भएको थियो । स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंहले २० हजार १७ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत पाए भने तत्कालीन माओवादी केन्द्रमा रहेका शिवपुजन रायले टिकट नपाएपछि छोरी मधुमाला कुमारी यादवलाई उम्मेदवार बनाउँदा उनले १४ हजार ६ सय २२ मत प्राप्त गरिन् ।
जसपा नेपालका राकेशकुमार मिश्रले ५ हजार ८१३, बहुजन एकता पार्टी नेपालका राजाराम पासवानले ५ हजार १५८ मत ल्याएका थिए । जनमत पार्टीका रामबाबु रायले ३ हजार ४ सय २९ मत मात्रै प्राप्त गरेका थिए ।
कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र उठेका थिए । यसपटक तिनै सिंह राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका छन् । त्यतिबेला कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एउटै गठबन्धनमा थिए । एमाले र जसपा नेपालको अर्को गठबन्धन थियो । एमालेले जसपा नेपाालका उम्मेदवारलाई सघाएको थियो । माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले कांग्रेसका उम्मेदवारलाई सघाएका थिए ।
यसपटक एमालेले अमोनित कुमार यादवलाई उम्मेदवार बनाएको छ भने नेकपाले डा. रजनिश राय यादवलाई अघि सारेको छ । दुवै दलले युवा उम्मेदवार दिएर परिवर्तनको सन्देश दिन खोजेका छन्।
समानुपातिकतर्फ भने कांग्रेसले यस क्षेत्रमा १६ हजार २९ मतसहित पहिलो मत प्राप्त गरेको थियो । जनमत पार्टी १२ हजार ५९५ सहित दोस्रो र तत्कालीन माओवादी केन्द्रको ९ हजार ७ सय ९०, एमालेले ९ हजार ४सय ७१ मत पाएका थिए । यसले क्षेत्रको मतदाता कुनै एक दलप्रति स्थायी नभएको देखाउँछ ।
०७९ मा प्रतिनिधिसभाको मत
स्वतन्त्र : अमरेशकुमार सिंह - २०,०१७
कांग्रेस : नागेन्द्र कुमार - १८,२५३
स्वतन्त्र : मधुमाला कुमारी यादव - १४,६२२
जसपा नेपाल : राकेशकुमार मिश्र - ५,८१३
बहुजन एकता पार्टी : राजराम पासवान - ५,८१३
जनमत : रामबबाबु राय - ३,४२९
कांग्रेस : १६,०२९
जनमत : १२,५९५
माओवादी केन्द्र : ९,७९०
एमाले : ९,४७१
बहुजन एकता : ५,४४४
जसपा नेपाल : ५,१५२
लोसपा (नेपाल) : ३, ६७३
राष्ट्रिय स्वतन्त्र पार्टी : १,१९९
