चार जोडी श्रीमान्-श्रीमती, जो छन् चुनावी मैदानमा

पहिलो पटक निर्वाचनमा होमिएका पत्रकार ऋषि धमलाले श्रीमती एलिजा गौतमलाई पनि चुनावी प्रतिस्पर्धाको मैदानमा ल्याएका छन् ।

माघ ८, २०८२

दुर्गा दुलाल

Four husband-wife pairs who are in the election fray

What you should know

काठमाडौँ — २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा चार जोडी श्रीमान्–श्रीमती चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेबाट दुई जोडी श्रीमान्–श्रीमती उम्मेदवार भएका छन् भने नेकपा र आम जनता पार्टीबाट एक/एक जोडी निर्वाचनमा होमिएका छन् ।

देशभर मंगलबार उम्मेदवारी दर्ता गराउने क्रमा दुवै पहिलो हुने प्रत्यक्षतर्फ एमालेका रघुवीर महासेठ र जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराए । लामो समयदेखि नेकपा एमालेका सक्रिय राजनीति गरेका उनीहरुले धनुषाको दुई क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । 

जुलीले धनुषा–३ वाट प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराइन्  । त्यस्तै श्रीमान् रघुवीरले धनुषा ४ वाट उम्मेदारी दर्ता गराए । महासेठ तीन पटक संघीय सांसद भइसेकेका छन् भने उनी पूर्वमन्त्री पनि हुन् । जुलीकुमारी २०६४ मा संविधानसभा सदस्य थिइन् । २०७० मा भने उनी पराजित भइन् । २०७४ र २०७९ धनुषा ३ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । आफूले जितेको क्षेत्र भएकाले उनी पाँचौ पटक चुनावी मैदानमा उत्रिएकी हुन् ।

त्यस्तै चुनावी मैदानमा रहेको अर्को जोडी हो सिन्धुपाल्चोकका शेरबहादुर तामाङ र उषाकला राई हुन् । तामाङ र राई दुवै एमालेको सक्रीय राजनीति पुष्टभूमि भएका व्यक्ति हुन् । तामाङले यस पटक प्रत्यक्षतर्फ सिन्धुपाल्चोक २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी पूर्व कानुनमन्त्रीसमेत हुन् । २०७९को निर्वाचनमा पराजित भएका उनी ०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

तामाङले दुवै चुनावमा पशुपतिशमशेरलाई पराजित गरेका थिए भने ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका उम्मेदवार दावा लामासँग ९८ मतले पराजित भएका थिए । उनकी श्रीमती उषाकाला राई यस पटक समानुपातिक सूचीमा छिन् । उषाकलाको नाम आदिवासी जनजाति महिलाको चौथो नम्बरमा छ । 

तामाङले सिन्धुपाल्चोकबाट राजनीति गरिरहँदा राई भने खोटाङबाट राजनीतिमा छिन् । उनी कोशी प्रदेशको प्रदेश सभा सांसद थिइन् । उनी सामाजिक विकासमन्त्रीसमेत भएकी थिइन् । त्यस्तै, नेकपाका नेता देवेन्द्र पौडेल र श्रीमती बलावती शर्मा पनि चुनावी मैदान छन् । 

जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय रहेका उनीहरु माओवादी हुँदै नेकपाको राजनीतिमा आबद्ध छन् । बाग्लुङबाट निर्वाचन लड्दै आएका पौडेल यस पटक निर्वाचन क्षेत्र परिर्वतन गर्दै नवलपरासी–२ बाट उठेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका उनी प्रत्यक्षतर्फ उम्मेदवार भइरहँदा श्रीमती बलावती शर्मा भने समानुपातिकमा परेकी छन् । उनी समानुपातिकतर्फ खस आर्य महिलाको सूचीमा पहिलो नम्बरमा छिन् ।

त्यस्तै पहिलो पटक निर्वाचनमा होमिएका पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमलाई पनि चुनावी प्रतिस्पर्धाको मैदानमा ल्याएका छन् । आम जनता पार्टी (आजपा) बाट धमला रौतहट ४ वाट उम्मेदवार भएका छन् भने पत्नी गौतम सोही पार्टीको समानुपातिक सूचीमा छिन् । प्रभु शाहको आम जनता पार्टीमा भर्खर प्रवेश गरेकी गौतमले आफू समानुपातिकमा बस्दै श्रीमान् धमलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएकी हुन् ।

दाजुभाइका तीन जोडी

दाजुभाई नै एका अर्काको प्रतिस्पर्धी भएर उम्मेदवारी दिएको जिल्ला हो– डोल्पा । जहाँ सहोदर दाजुभाइ धनबहादुर बुढा नेकपा र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु पुरानै प्रतिस्पर्धी हुन् ।

फरक–फरक पार्टीबाट उम्मेदवार भएकाले यो क्षेत्रमा दाजुभाईकै बीचमा प्रतिस्पर्धा रोचक हुने देखिन्छ । धनबहादुर बुढा २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट विजजी भएका थिए । कर्णबहादुर बुढा भने पहिलोपटक चुनाव लड्दैछन् । उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेसँगै निर्वाचनमा आफ्नै भाईविरुद्ध उत्रेका हुन् ।

यी दाजुभाईको सुरुको राजनीतिक आबद्धता भने एउटै दलमा थियो । कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बूढा राप्रपा हुँदै नेपाली कांग्रेसमा पुगेका हुन् । धनबहादुर बूढा राप्रपा, एमाले, एकीकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा पुगेका हुन् ।

त्यस्तै स्वर्गीय दिपक बोहोरामा दुई छोरा नै निर्वाचनको मैदानमा उत्रेका छन् । उनीहरु एक आपसमा प्रतिस्पर्धी नभई फरक–फरक निर्वाचन क्षेत्रवाट उम्मेदवार भएका हुन् ।  राप्रपाबाट रुपन्देही–१ मा प्रज्वल बोहराले उम्मेदवार दर्ता गराएका  छन् भने रुपन्देही–३ मा गौरव बोहराले उम्मेदवारी दर्ता गरेका छन् । यी दुवै पूर्व मन्त्री बोहराका छोराहरू हुन् ।  उनी २०३८ सालदेखि नै यो क्षेत्रमा राजनीतिमा सक्रिय थिए । २०७९ सालको निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए भने निधन भएपछि रिक्त रहेको थियो ।

दीपकको निधन भएपछि रिक्त रहेको रुपन्देही ३ मा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला २३ र २४ भदौमा जेनजी आन्दोलन भएपछि सरकारले स्थगित गरेको थियो । २१ फागुनमा सरकारले एकै पटक निर्वाचन गर्न लागेको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully