सुरक्षित शिविर खोज्दै पूर्वी रुकुम पुगे दाहाल

२० वर्षपछि संसदीय राजनीतिको सुरक्षित शिविर खोज्दै दाहाल चुनबाङ (पूर्वी रुकुम) फर्केका छन्, तर यसपालि उनको माओवादी पार्टी र धेरै सहकर्मी साथमा छैनन्

माघ ८, २०८२

सुदीप कैनी

Dahal reaches eastern Rukum in search of safe camp

रुकुम पश्चिम — तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरिरहेको सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला कात्तिक ०६२ मा चुनबाङमा पार्टी केन्द्रीय समिति बैठक बस्यो, जसले सात दलसँग मिलेर लोकतान्त्रिक आन्दोलन अघि बढाउने निर्णय लियो ।

त्यही निर्णयको जगमा १२ बुँदे समझदारी, संयुक्त जनआन्दोलन हुँदै तत्कालीन माओवादी शान्ति प्रक्रियामा आयो । २० वर्षपछि संसदीय राजनीतिको सुरक्षित शिविर खोज्दै दाहाल चुनबाङ (रुकुम पूर्व) फर्केका छन्, तर यसपालि उनको माओवादी पार्टी र धेरै सहकर्मी साथमा छैनन् । 

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मंगलबार मनोनयन दर्ता गरेपछि दाहालले दुई दशकअघिको चुनबाङ बैठक सम्झिए । ‘मेरो मनमस्तिष्कमा चुनबाङ बैठक स्मरण भएको छ, जुन बैठकले नेपालमा झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्र अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गरायो, त्यो रुकुम पूर्वमै छ,’ उनले भने । 

०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनसहित ५ पटक प्रतिस्पर्धा गरेका दाहालले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन् र यसपालि रुकुम पूर्व आइपुगेका हुन् । संयोग, चुनबाङकै सन्दीप पुन दाहालसँग प्रतिस्पर्धामा उत्रिएका छन् । सशस्त्र द्वन्द्वमा बुबा–आमा दुवै गुमाएका सन्दीप बाबुराम भट्टराई र जनार्दन शर्मालगायत पूर्वमाओवादी नेताहरूले खोलेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार छन् ।

Dahal reaches eastern Rukum in search of safe camp

सहिद परिवार भएका कारण सन्दीपले सहानुभूतिको मत पाउने आकलन गर्नेहरू रुकुम पूर्वमा थुप्रै भेटिन्छन् । यसले स्वयं दाहाललाई पनि झस्काएको देखिन्छ । किनभने, मंगलबार मनोनयन दर्ता गरेपछि दाहालले सहिद परिवार भेटेर निर्वाचन अभियान थालेका छन् । रुकुम पूर्वमा कांग्रेस, एमाले, रास्वपालगायत दलका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन् । 

सदरमुकाम रुकुमकोटबाट मध्यपहाडी राजमार्ग छाडेर कच्ची बाटो पछ्याउँदै जाँदा डाँडामाथि महतगाउँ आउँछ । विद्रोहको स्मृति जीवन्त राख्न महतगाउँको सिरानमा ‘युद्ध संग्रहालय’ बनाइएको छ । त्यहीँ भेटिएकी लैनकुमारी सुनार दाहाल रुकुम पूर्व आएकामा उत्साहित देखिइन् । ‘ठूलो नेता आएपछि गाउँठाउँको विकास हुन्छ भन्ने आस लागेको छ,’ उनले भनिन्, ‘बस्तीमा खानेपानी र सिँचाइको समस्या छ । ठूला नेताले यो समस्या देखे भने छिटै समाधान होला कि ?’

सुनार सशस्त्र द्वन्द्वको एउटा घटना कहिल्यै भुल्दिनन् । करिब १० किलोमिटर टाढाको थबाङ (रोल्पा) बाट विवाह गरेर ४ असोज २०५६ मा उनी महतगाउँ आएकी थिइन् । भोलिपल्ट दिउँसो तत्कालीन माओवादीले महतगाउँको प्रहरी चौकीमा आक्रमण गरे, जहाँ दुवै पक्ष गरेर ५८ जना मारिए । त्यसैको सम्झनामा बनाइएको युद्ध संग्रहालयमा उनी अहिले टिकट काट्ने, सरसफाइ गर्ने काममा छिन् । 

Dahal reaches eastern Rukum in search of safe camp

सशस्त्र द्वन्द्वका बेला रोल्पासँगै रुकुम (पूर्व र पश्चिम) माओवादीको हेडक्वार्टर मानिन्थे । १ फागुन ०५२ मा रोल्पाको होलेरी, रुकुम (हाल रुकुम पश्चिम) को आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गर्दै माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको थियो ।

भुमे गाउँपालिका–६ मा पर्ने त्यही गाउँमा हामी पुग्दा स्थानीय कृषि सहकारीको बैठक चलिरहेको थियो । सामुन्नेमा नौला मान्छे देखेपछि चिनापर्ची गर्न ६५ वर्षीय आशबहादुर बुढा अघि सरे । उनैले अध्यक्षता भएको बैठक लगभग टुंगिएको रहेछ । त्यसैले हामीले चुनावको प्रसंग निकाल्यौं । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिएको बुढाले पनि सुनेका रहेछन् । ‘जनयुद्ध गरेका नेताहरू पटक–पटक सत्तामा पुगे तर सहिद, बेपत्ताका परिवार र घाइतेले खासै सुविधा पाउन सकेका छैनन्,’ उनले प्रतिक्रिया दिए, ‘जनयुद्ध लडेको ठाउँमा गाँस, बास, कपासको राम्रो व्यवस्था गर्न आउन लागेका हुन् कि अरू ठाउँमा जित्न सकिन्न भनेर हो, उनै जानुन् ।’

Dahal reaches eastern Rukum in search of safe camp

सहकारीको बैठक सकेर घर फर्कंदै गरेकी ४९ वर्षीया सरिता पुनसँग हामीले छुट्टै कुरा गर्‍यौं । उनले पनि चुनावप्रति कुनै उत्साह नभएको प्रतिक्रिया दिइन् । ‘जनताको हेरविचार गर्ने नेता भए त हाँसीखुसी भोट दिन्छौं । तर अहिलेसम्मका नेता चाहिएको बेला बोलेनन्,’ उनले भनिन्, ‘नेताको आँखामा हामी जनता त माखा हौं ।’

नेकपा संयोजक दाहाल रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि यहाँका घरघरमा चर्चा हुन थालेको छ । उनी किन आए भनेर अनेक कोणबाट विश्लेषण पनि हुने गरेको छ । यस विषयमा दाहाल र नेकपाका अन्य नेताहरूले अनेक तर्क गरिरहे पनि अधिकांशले दाहाल सुरक्षित स्थान खोज्दै रुकुम पूर्व आइपुगेको अनुमान गरिरहेका छन् । 

Dahal reaches eastern Rukum in search of safe camp

रुकुम पूर्व तत्कालीन माओवादी (हाल नेकपा) ले ०६४ देखि नै लगातार जित्दै आएको क्षेत्र हो । ०७९ को निर्वाचनमा माओवादीका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाशकुमार मल्लको मत ५ हजार २११ थियो । मल्ल अहिले नेकपामा छन् । 

०७४ को निर्वाचनमा माओवादीकी कमला रोका १० हजार ४३४ मत ल्याएर निर्वाचित भएकी थिइन्, निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिशंकर घर्ती मगरले ४ हजार ४०६ मत ल्याएका थिए । माओवादीले ०७४ मा एमाले र ०७९ मा कांग्रेससँग गठबन्धन गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता छन् । तीमध्ये ६६० जना नयाँ मतदाता हुन् । जिल्लामा ८० प्रतिशत मतदाता मगर समुदायका छन् । 

यो पनि पढ्नुहोस्

४ प्रदेश घुमेर सुरक्षित शिविर खोज्दै रुकुम फर्किए दाहाल

अहिले दाहालले रुकुम पूर्वलाई आफ्नो ‘हेडक्वार्टर’ बनाउने भनेका छन् । हुन त दाहालले यस्ता अनेक उद्घोष गर्दै निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका छन् । ०६४ यता लगातार चुनावमा भाग लिँदै आएका उनी एक पटक काठमाडौं–१० मा दोहोर्‍याएर उठेका थिए तर पराजित भए । तर ठाउँ फेर्दै जहाँ–जहाँ उठे, विजयी भए ।

दाहाल ०६४ को संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० बाट विजयी भएका थिए । तर लगत्तै भएको उपनिर्वाचनमा रोल्पा–२ छाडे । ०७० को निर्वाचनमा काठमाडौं–१० दोहोर्‍याउँदै सिरहा–५ बाट पनि उम्मेदवार बनेका थिए । कांग्रेसका राजन केसी २० हजार ३९२ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरेन्द्र मानन्धर १३ हजार ६१५ मतसहित दोस्रो र दाहाल १२ हजार ८५२ मतसहित तेस्रो भएका थिए । 

Dahal reaches eastern Rukum in search of safe camp

सिरहा–५ मा भने दाहाल झिनो मतान्तरले विजयी भए । त्यति बेला काठमाडौं–१० को मतपरिणाम आइसकेपछि सिरहा–५ को मतगणना माओवादीका कारण पटकपटक अवरुद्ध भएको थियो । त्यस क्षेत्रमा दाहाल १५ हजार २४४ मत ल्याएर निर्वाचित हुँदा एमालेका लीलानाथ श्रेष्ठले १४ हजार ३२३ पाएका थिए । 

सिरहाबाट उम्मेदवारी दिँदा दाहालले मधेशसँग आफ्नो ‘लभ’ परेको बताउने गरेका थिए । तर, ०७४ मा तराई–मधेशमै पर्ने चितवन–३ मा सरे । एमालेसँग गठबन्धन गरेर उनी ४८ हजार २७६ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको मत ३८ हजार ९३५ थियो । त्यसपछिको निर्वाचनमा दाहाल पहाड चढे ।

Dahal reaches eastern Rukum in search of safe camp

पूर्वसहकर्मी बाबुराम भट्टराईले जित्दै आएको गोरखा–२ बाट उनी ०७९ मा उम्मेदवार बनेका थिए । चुनावपछि पार्टी एकता गर्ने समझदारीका आधारमा भट्टराईले आफ्नो ठाउँ दाहाललाई छाडिदिएका थिए । चुनावमा कांग्रेसलगायत दलसँगको समेत सहयोगमा दाहाल २६ हजार १०९ मत प्राप्त गर्दै सांसद भए, निकटम प्रतिद्वन्द्वी रास्वपाका कविन्द्र बुर्लाकोटीको मत १२ हजार ६३९ थियो । चुनाव जितेपछि दाहालको माओवादी र भट्टराईको नेपाल समाजवादी पार्टीबीच एकता भएन । गोरखा–२ मा यसपालि भट्टराई उम्मेदवार छन् । 

तारा एयरको ‘चार्टर्ड फ्लाइट’ मा सल्ले विमानस्थल हुँदै मंगलबार रुकुमकोट पुगेर मनोनयन दर्ता गरेपछि दाहालले रुकुम पूर्व आफ्नो अन्तिम निर्वाचन क्षेत्र हुन सक्ने बताएका छन् । ‘केन्द्रीय आधार इलाका रोल्पाबाट सुरु गरेर अर्को केन्द्रीय आधार इलाका रुकुममा आएर उम्मेदवारी दिनु मेरा लागि गर्वको विषय भएको छ,’ उम्मेदवारी दर्तापछि उनले भने, ‘यो आफैंमा एउटा रेकर्ड जस्तो बनेको छ । रुकुममा सम्भवतः यो मेरो प्रत्यक्ष निर्वाचनको अन्तिम पनि हुन सक्छ ।’

Dahal reaches eastern Rukum in search of safe camp

रुकुम पूर्वस्थित भुमे–६ का वडाध्यक्ष विक्रम पुन नेकपा संयोजक दाहाल निर्वाचन लड्न जिल्ला आउँदा फाइदा, बेफाइदा दुवै रहेको बताउँछन् । जिल्लाको विकास निर्माण र अन्य समस्यामा शीर्ष नेताको आँखा पर्ने र सम्बोधनमा सहयोग पुग्ने उनको भनाइ छ । ठूला नेता आएर निर्वाचन लड्दा स्थानीय नेताहरू भने ओझेल पर्ने उनको विश्लेषण छ । ‘जिल्लामा पार्टीभित्र अन्तरविरोध बढ्दो थियो । आकांक्षी नेताहरू धेरै भए । जिल्ला पार्टीले नै संयोजकलाई उम्मेदवारमा सिफारिस गर्‍यो । हस्ताक्षर संकलन पनि भएको थियो,’ तत्कालीन माओवादीबाटै वडाध्यक्ष जितेका पुनले भने, ‘सवस्वीकार्य केन्द्रीय नेता आएपछि स्थानीय अन्तर विरोध घट्ने अपेक्षा गरिएको छ ।’

नेकपाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ दाहालका साथै गणेशमान पुन, दलजित श्रीपाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज श्रीपाली, लालबहादुर बिष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सिर्जना कार्कीको नाम सिफारिस गरेको थियो । तर, आफ्ना अध्यक्ष उम्मेदवार भएर आएपछि अरु आकांक्षी प्रचार र व्यवस्थापनमा खटिएका छन् । 

  

भूमिगतकालमा सशस्त्र विद्रोहीको सुरक्षा घेराभित्र भएको चुनबाङ बैठकबाट निर्णय गराएर दाहालले माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएका थिए, 

२० वर्षपछि संसदीय राजनीतिको सुरक्षित शिविर खोज्दै दाहाल चुनबाङ (पूर्वी रुकुम) फर्केका छन्, तर यसपालि उनको माओवादी पार्टी र धेरै सहकर्मी साथमा छैनन्

०६४ मा रोल्पा–२ र काठमाडौं–१० मा विजयी भए, ०७० मा भने काठमाडौं–१० मा पराजित भए पनि सिरहा–५ बाट पनि उठेकाले संसद् पुग्न सफल भए, ०७४ मा चितवन–३ र ०७९ मा गोरखा–२ बाट निर्वाचित उनी यसपटक रुकुम पूर्व पुगेका छन्

दाहाल यसअघि दोहोर्‍याएर उठ्दा काठमाडौं–१० मा पराजित भएका थिए, तर ठाउँ फेर्दै जहाँ–जहाँ उठे, विजयी भए

सशस्त्र द्वन्द्वमा बाबुआमा गुमाएका चुनबाङका सन्दीप पुन जनार्दन शर्मा नेतृत्वको प्रलोपाबाट उम्मेदवार बनेपछि दाहालले सहिद परिवार भेटेर निर्वाचन अभियान थालेका छन्

०७९ को प्रदेशसभा निर्वाचनमा तत्कालीन माओवादीले रुकुम पूर्व–१ बाट तेजबहादुर ओलीलाई उम्मेदवार बनाएको थियो तर माओवादीका स्थानीय नेता सुरुल पुनले स्वतन्त्र उम्मेदवारी दिएर जिते । त्यहींबाट अन्तरविरोध चुलिएको नेकपाका स्थानीय कार्यकर्ता बताउँछन् । ‘संयोजक दाहालले पार्टीभित्र सन्तुलन मिलाउने अपेक्षा गरेका छौं । अरू पार्टीको प्रभाव खासै छैन । अन्य दलबाट प्रभावकारी उम्मेदवार पनि देखिएका छैनन् । हामीले चुनाव जित्ने निश्चितजस्तै छ,’ वडाध्यक्ष पुनले दाबी गरे ।

सिस्ने, भुमे र पुथाउत्तरगंगा गरी जिल्लाका तीनवटै गाउँपालिका प्रमुख तत्कालीन माओवादी (नेकपा) बाटै विजयी भएका छन् । सिस्नेको उपप्रमुखमा गठबन्धनबाट एमाले उम्मेदवार विजयी भएका थिए । निर्वाचन क्षेत्रभरका ३१ वडामध्ये आधाभन्दा बढीमा तत्कालीन माओवादीका उम्मेदवारले जितेका थिए ।

Dahal reaches eastern Rukum in search of safe camp

पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा मंसिर ०८१ मा उपनिर्वाचन भएको थियो । एमाले उम्मेदवार केशवकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिई प्रतिस्पर्धामा उत्रिएकी थिइन् । तर माओवादीकी नरपुरा बुढा ३ हजार ६२७ मतसहित विजयी भइन् । तुलाचनका पक्षमा २ हजार १२८ मत परेको थियो । त्यतिबेला संसद्मा दाहालले ‘कांग्रेस र एमालेले गठबन्धन मात्र होइन, चुनाव चिह्न साटासाट गर्दा पनि माओवादीले जित निकालेको’ भन्दै खुसी व्यक्त गरेका थिए । त्यही उपनिर्वाचनमा वडा नं. २ को अध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए । 

सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार रुकुम पूर्वमा १२ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट कुसुमदेवी थापा मगर, एमालेबाट लीलामणि गौतम र रास्वपाबाट लखनकुमार थापा उम्मेदवार छन् । कांग्रेसकी थापा निवर्तमान समानुपातिक सांसद हुन् । मंगोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसनल रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शिरबहादुर बुढा, राप्रपाबाट रोशन शाह, नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर र स्वतन्त्र रूपमा अमरसिंह पुनले उम्मेदवारी दिएका छन् । 

Dahal reaches eastern Rukum in search of safe camp

सदरमुकामका नयाँ मतदाता समीर शाह यस पटक नयाँ अनुहारलाई मत दिने विचारमा छन् । गत भदौमा भएको जेन–जी आन्दोलनको माग पूरा गर्न पनि नयाँ उम्मेदवारलाई मत दिनुपर्ने उनको धारणा छ । ‘पुष्पकमल दाहालले त पटक/पटक अवसर पाउनुभयो । उहाँको सट्टा पहिलो पटक अवसर पाउनेलाई मत दिनुपर्छ,’ उनले भने, ‘स्थानीय आवश्यकता बुझेको र युवालाई समेट्न सक्ने नेता चाहिएको छ ।’ कक्षा १२ पास गरेर सदरमुकामको कमलदह होटलमा बुवाआमालाई सघाउँदै आएका २३ वर्षे शाह परिवारमा पुरानै पार्टीलाई मत दिने सल्लाह भए पनि आफू सहमत नभएको बताउँछन् ।

रुकुम पूर्व वैदेशिक रोजगारीमा जाने युवा धेरै भएको जिल्लामध्येमा पर्छ । यहाँबाट अवैध रूपमा अमेरिका पुगेका र फर्काइएकाको संख्या उल्लेख्य छ । जिल्लामा एउटा क्याम्पस भए पनि उच्चशिक्षाका लागि काठमाडौं, पोखरा, सुर्खेत, रुकुम पश्चिम चौरजहारी धाउनुपर्ने अवस्था छ । जिल्लाको क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी संकायको पढाइ हुन्छ । 

सशस्त्र द्वन्द्वपछि विस्तारित मध्यपहाडी राजमार्गले रुकुमको मध्यभाग हुँदै छिचोलेको छ । भुमे गाउँपालिकाका सबै वडामा सडकको पहुँच पुगे पनि पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाका केही वडा सडकले छोएको छैन । सडक नपुग्दा कृषि उत्पादन घोडा, खच्चडमा महँगो ढुवानी खर्च तिरेर बजार पुर्‍याउनुपर्ने बाध्यता रहेको पुथाउत्तरगंगा–८ का जितबहादुर खत्री गुनासो गर्छन् । 

Dahal reaches eastern Rukum in search of safe camp

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार हुन सकेको छैन । सिस्नेका धन बुढाले भने, ‘चुनावको बेला भोट माग्न आउने नेताले गाउँमा सडक र मोटर त पुर्‍याउँछु भन्छन् तर ती नेता नै अर्को चुनाव नभएसम्म फर्केर आउँदैनन् ।’

सिस्ने क्याम्पसका प्रमुख तीव्र गौतमले रुकुममा चुनावप्रति युवा र नयाँ मतदातामा उत्साह देखिएको बताए । ‘धेरै वटा चुनाव देखेका भोगेका मतदातामा उत्साह कम छ,’ उनले भने, ‘परम्परागत र ठूला राजनीतिक दलप्रति असन्तुष्टि देखिन्छ । जेन–जी आन्दोलनपछि हुन लागेको चुनावले नयाँपन दिन्छ कि भन्ने उत्साह युवामा देखिन्छ ।’ 

नयाँ दल, उम्मेदवार र युवाप्रति आकर्षण बढेका संकेतहरू देखा पर्न थालेको पनि उनले उल्लेख गरे । ‘पहिले त माओवादीले जितेको ठाउँ हो । तर यसपालि अलिकति परिवर्तन हुन्छ कि जस्तो देखिन्छ । जेन–जी आन्दोलनको प्रभाव तलसम्म पुगेको छ । पुराना पार्टीको प्रभाव र नयाँको आकर्षणबीच प्रतिस्पर्धा हुने देखिन्छ,’ उनले भने । जिल्लामा रास्वपाको चहलपहल पनि बढिरहेको गौतमले सुनाए । 

सशस्त्र द्वन्द्वमा आमाबुबा गुमाएका सन्दीप पुनले सहानुभूतिको मत पाउन सक्ने पनि गौतमले बताए । ‘पुष्पकमल दाहाल आउँदा जिल्ला नै तरंगित बनेको छ,’ उनले भने, ‘तर ठूला नेता आउँदा स्थानीय नेताको अवसर खोसिएको भन्ने टिप्पणी पनि सुनिन्छ । ठूला नेता आउँदा विकास निर्माणमा जिल्लालाई फाइदा हुने तर्क पनि गरिन्छ ।’ 

Dahal reaches eastern Rukum in search of safe camp

सन्दीप पनि नेकपाका उम्मेदवारसँगै आफ्नो मुख्य प्रतिस्पर्धा हुने दाबी गर्छन् । ‘युवालाई जहिल्यै प्रयोग मात्रै गरियो । यस पटक युवा आउनुपर्ने मतदाताको मागका कारण अघि बढेको छु,’ ३० वर्षीय उनी भन्छन् । सामाजिक सञ्चालबाट प्रचार थालिसकेको सुनाउँदै उनले पर्यटन विकास, मौलिक उत्पादन, शिक्षा, स्वास्थ्य र विकास निर्माण आफ्नो चुनावी एजेन्डा हुने बताए ।

‘पुराना पार्टीको जस्तो घोषणा पत्र ल्याएर ठूला सपना देखाउँदैनौं । ससाना काम गर्छौं,’ पुनले भने । पुनकी आमा परम्परा गौतमको १३ जेठ २०५९ मा बझाङमा हत्या र बुबा सूर्यप्रकाशको २३ जेठमा गिरफ्तारपछि हत्या गरिएको थियो । 

रास्वपाका जिल्ला सभापति लखन स्वाँर यस पटक नेकपाको गढ भत्काउने दाबी गर्छन् । ‘मतदाताले परिवर्तन खोजेकाले नयाँ पार्टी र नयाँ उम्मेदवारको जित सुनिश्चित छ,’ उनी भन्छन् । 

एमाले पूर्वी रुकुमका पूर्वजिल्ला सचिव नन्दलाल शर्माले दाहालका लागि यसपालि सहज नभएको तर्क गरे । ‘सहज चुनावी क्षेत्र भएकाले दाहालले रुकुम पूर्व क्षेत्र रोजेको हुन सक्छ,’ उनले भने, ‘तर यहाँ एमालेप्रति स्थानीय मतदाताको विश्वास बढ्दै गएको छ । नेकपामा धेरै टुटफुट र गुट/उपगुट छन् । दाहालबाट छुट्टिएका जनार्दन शर्माले प्रलोपाबाट पश्चिम रुकुममा उम्मेदवारी दिएका छन् । त्यसको प्रभाव पूर्वमा पनि पर्छ ।’ 

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा सदरमुकाम रुकुमकोटका नेता प्रकाश केसीले पार्टीको केन्द्रमा विवाद देखिए पनि जिल्लामा कांग्रेस एकजुट भएर निर्वाचनमा जाने उनले जनाए । ‘यहाँ कांग्रेसको प्रतिस्पर्धा नेकपासँग नै हुन्छ । कांग्रेसको प्रभाव बढ्दै गएकाले प्रतिस्पर्धामा उत्रने सामर्थ्य राख्छौं,’ उनले भने ।

Dahal reaches eastern Rukum in search of safe camp

नेकपाका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले दाहालको उम्मेदवारीसँग रुकुम पूर्वमा जित निश्चित भएको बताए । ‘उहाँलाई विजयी गराएर पठाउने जिम्मेवारी हाम्रो हो । यसका लागि पार्टी एकढिक्का भएर लाग्छ,’ उनले भने । पार्टीको माग, आवश्यकता र संयोजकको पनि चाहनाले रुकमपूर्व छनोट गरिएको उनले बताए । 

नेकपाका अर्का नेता जीवन केसीले स्थानीय पार्टीबाट निर्णय भएपछि नेतृत्वले रुकुम पूर्व आउने निर्णय गरेको बताए । ‘रुकुम पूर्व हिजोको माओवादीको क्रान्तिकारी र उर्वर भूमि हो । यहाँ क्रान्तिको नायक आउनु स्वाभाविक हो,’ उनले भने, ‘उहाँ कहिले रोल्पा, कहिले मधेश, कहिले पहाडका निर्वाचन क्षेत्रबाट निर्वाचन लड्दै आउनुभएको छ । राष्ट्रिय नेताले देशभरकै जनभावना र समस्या बुझ्न निर्वाचन क्षेत्र फेर्दै हिँड्नु एकदमै ठीक हो ।’ तस्बिरहरु: दाहालको निर्वाचन क्षेत्र रुकुमकोट, महतगाउँ लगायतका क्षेत्रहरु । तस्बिहरु– हेमन्त श्रेष्ठ/कान्तिपुर

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully