सुनसरीमा एमाले उम्मेदवारमा युवादेखि पूर्वमन्त्रीसम्म

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका पूर्वमन्त्री जगदीशप्रसाद कुसियत ८ औं पटक चुनावमा होमिँदै ।

माघ ७, २०८२

एलिना राई

UML candidates in Sunsari range from youth to former ministers

धरान — नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा युवादेखि पूर्वमन्त्रीलाई उम्मेदवार बनाएको छ ।

पार्टीले संगठनात्मक क्षमता, प्रशासनिक अनुभव र स्थानीय जनसमर्थनलाई ध्यानमा राख्दै उम्मेदवार टुङ्गाएको दाबी गरेको छ ।

सुनसरी क्षेत्र नम्बर १ मा युवा, उदीयमान र विद्यार्थी राजनीतिबाट उठेका नेता टीका माङ्लेनलाई उम्मेदवार बनाइएको छ। माङ्लेन वर्तमानमा एमाले सुनसरी जिल्ला कमिटी सदस्य हुन् र पार्टी संगठनमा सक्रिय भूमिका निभाउँदै आएका छन्। प्रारम्भमा सचिवालयले शनिबार प्रदेश कमिटी सदस्य सूर्य पन्धाकलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो, तर आइतबार पार्टीभित्रको छलफल र रणनीतिक विचारपछि माङ्लेनलाई उम्मेदवार बनाउने निणर्य भएको हो ।

२०४१ भदौ २१ गते ताप्लेजुङको साविक मामाफ्लो (हाल श्रीजंघा गाउँपालिका–६) मा जन्मिएका टीका माङ्लेन राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी उत्तीर्ण हुन् ।

त्यस्तै सुनसरी क्षेत्र नं २ मा अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरी सुजन लामालाई उम्मेदवार बनाएको छ । यसअघि  कोशी प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो । तर, पार्टीले जिल्ला इन्चार्जसमेत रहेका जगदीश कुसियतलाई सुनसरी–४ बाट फिर्ता गरेर सुनसरी २ मा उम्मेदवार बनाउने तय गरेको थियो ।

सुनसरी–४ मा कांग्रेस छाडेर एमाले प्रवेश गरेका अबुल हुसेन अन्सारीलाई गुण्डु नै बोलाएर अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएपछि सुनसरी–२ मा भण्डारीलाई रोकेर कुसियैतलाई उम्मेदवार बनाउने तय भएको थियो । तर  पार्टीमा आन्तरिक विवाद र असन्तुष्टि बढेपछि अन्तिम समयमा आएर हुसेनको टिकट पार्टीले रद्द गरी कुसियैत नै सुनसरी–४ मा उम्मेदवार बनाउने र भण्डारीलाई एमाल क्षेत्र  २ मा उठाउने निश्चित गरेको थियो । तर, मंगलबार मनोनयन दर्ता हुनुअगावै सुजन लामाले टिकट पाएका थिए । उनी युवा संघ कोशी प्रदेशका संयोजक हुन् । उनले सुनसरी क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका छन् । लामा यसअघि पार्टीको इटहरी नगर अध्यक्षमा रुपेश बस्नेतसँग पराजित भएका थिए  ।

सुनसरी क्षेत्र नम्बर ३ मा पार्टीले सशक्त महिला नेता र संघीय सांसदको अनुभव भएकी पूर्वमन्त्री भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य रही महिला नेतृत्व र सामाजिक समावेशीतालाई सशक्त बनाउन भूमिका निर्वाह गरिरहेकी छिन्। उनले यसअघि क्षेत्र नं ३ बाट दुईपटक प्रतिस्पर्धा गरिसकेकी छिन् ।

उनी प्रतिनिधि सभा चुनाव २०७४ मा विजयकुमार गच्छदारसँग पराजित भइन्, तर २०७९ मा पुनः उम्मेदवारी दिँदै गच्छदारलाई भारी मतान्तरले पराजित गरेर प्रतिनिधि सभा सदस्य बनेकी थिइन् । उनको मन्त्री पदको अनुभव पनि लामो छ । उनी वन तथा भूसंरक्षण मन्त्रालयमा राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन् ।

त्यस्तै सुनसरी-  ४ बाट अनुभवी, पार्टी संगठनमा लामो समयदेखि सक्रिय र पूर्वमन्त्री जगदीशप्रसाद कुसियतलाई उम्मेदवार बनाइएको छ। उनी ८ औं पटक चुनावमा होमिँदै छन् ।  

विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरी पञ्चायतकालको अन्त्यतिरदेखि निरन्तर पार्टीमा सक्रिय छन् । पार्टी संगठनभित्र उनले जिल्ला समिति सचिवालयदेखि केन्द्रीय कमिटी सदस्यका रूपमा जिम्मेवारी पूरा गरेका छन्। उनको चुनावी इतिहास लामो र उतारचढावपूर्ण छ। उनले २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरे तर पराजित भए। गिरिजाप्रसाद कोइरालाले दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर एउटा सिट रिक्त भएपछि २०५३ सालको उपनिर्वाचनमा कुसियात विजयी भए। २०५६ सालमा उनले सप्तरी क्षेत्र नम्बर १ बाट चुनाव लडे तर पराजित भए।

२०७० सालको संविधानसभा निर्वाचनमा उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरे पनि विजयी हुन सकेनन्। २०७४ सालको निर्वाचनमा उनले प्रदेश सभा सदस्यका रूपमा जित हासिल गरे र त्यसपछि कोशी प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बने। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी सुनसरी–४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग पराजित भएका थिए।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully