मंगलबार मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका दीपबहादुर शाही, नेकपा माओवादीका विर्खबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावत तीनै जना हिमा गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
जुम्ला — जुम्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमा गाउँपालिकाका तीन जनाले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेकपा माओवादीबाट विर्खबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट बिर्खबहादुर रावतले उम्मेदवारी दर्ता गराएका हुन् । दीपबहादुर हिमा–५, बिर्खबहादुर शाही हिमा–६ र बिर्खबहादुर रावत हिमा–१ का स्थायी बासिन्दा हुन् ।
उनीहरूले मनोनयनका क्रममा आ–आफ्ना एजेण्डा प्रस्तुत गरेका थिए । कसैले उत्पादनलाई जोड दिन उम्मदेवारी दिएको बताए त केहीले भुइँमान्छेका समस्या सम्बोधन गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।
कांग्रेस जुम्लाको पूर्वसभापतिसमेत रहेका दीपबहादुर शाहीले गलत प्रचार गरेर जनतालाई धोका नदिने बताए । उनले भने, ‘म भुइँमान्छे हुँ । भुइँमान्छेको छोरा हुँ । भुइँमान्छेको समस्या सुन्न र सम्बोधन गर्न उम्मेदवारी दिएको हुँ ।’
नेकपा माओवादीका उम्मेदवार बिर्खबहादुर शाहीले कृषि क्रान्ति गर्न र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । स्याउखेतीलाई बिस्तार गर्दै जुम्लालाई आत्मनिर्भर बनाउनेतिर अग्रसर गराउनेदेखि पुँजीवादी व्यवस्थालाई समाजवादी व्यवस्थामा बदल्न उम्मेदवारी दिएको उनको भनाइ थियो ।
नेमकिपाका बिर्खबहादुर रावत नयाँ आएका उम्मेदवार जस्तो तडकभडक नभइ आफ्नै योजनाका साथ अघि बढ्न उम्मेदवारी दिएको बताए । उनले जनताको शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने माग लिएरै लडेकाले यो पटकको चुनावमा जनताले पत्याउने विश्वास व्यक्त गरे । ‘देशलाई संकट पर्दा सडकमा आउने हामी नै हो । हामीसँग देशबाहेक अन्य स्वार्थ छैन,’ उनले थपे ।
एकै पालिकाका तीन जनाले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकाले हिमाका मतदाता अन्योलमा छन् । ‘तीनै जना आफ्नै पालिकाका परे,’ एक स्थानीयले भने, ‘अब त बाध्यताले पनि हामी तीन भागमा बाँडिनुपर्ने अवस्था आयो ।’ यस पालिकामा झण्डै ६ हजार मतदाता रहेका छन् ।
