दाङ–३ मा प्रमुख दलबाट पुरानै नेताहरु प्रतिस्पर्धामा

प्रमुख चार दलबाट विगतमा चुनावमा प्रतिस्पर्धा गरेकाहरूले नै उम्मेदवारी दिएका छन् ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Old leaders from major parties in competition in Dang-3

दाङ — प्रतिनिसभा सदस्यका लागि दाङ–३ मा पुरानै नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।

 मुख्य प्रतिस्पर्धी दल काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघिका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका उम्मेद्वारलाई नै यसपटक प्रतिस्पर्धामा उतारेका छन् ।

कांग्रेसबाट दिपक गिरी छैठौं पटक उम्मेद्वार भएका छन् । उनी २०७० र २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०५१, २०६४ र २०७४  मा यही क्षेत्रमा पराजित भएका थिए । उनी २०७० मा निर्वाचित भएपछि सिचाई मन्त्री भएका थिए ।

एमालेबाट केन्द्रीय सदस्य घनश्याम पाण्डे उम्मेद्वार भएका छन् । उनी २०७४ मा तुलसीपुर उपमहानगरपालिका प्रमुख निर्वाचित भएका थिए भने २०७९ मा दाङ ३(१) बाट काँग्रेसका डिल्ली बहादुर चौधरीसँग प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की उम्मेद्वार भएका छन् । उनी प्रदेशसभा सदस्यबाट राजिनामा दिएर निर्वाचनमा होमिएका छन् । मास्की २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङ ३ (२) बाट २२ हजार ३ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी उम्मेद्वार भएका छन् । उनी २०७९ को निर्वाचनमा क्षेत्र नं. ३ मै रास्वपाबाट उम्मेद्वार भई १५ हजार ३ सय २६ मत प्राप्त गरेका थिए ।

उक्त क्षेत्रबाट माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) लगायतको गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका नेता दिपक गिरी ३६ हजार ९ सय ११ मतका साथ विजयी भएका थिए ।

यस क्षेत्रमा । यस क्षेत्रमा ३ महिला उम्मेद्वार छन् । जसमा राष्ट्रिय जनमोर्चाकी कमला जिसी, जनता समाजवादी पार्टीकी शोभा डाँगी र आम जनता पार्टीकी पाण्डी नेपाली छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully