चौरसिया, चौधरी र रिजालले भने यसअघिका प्रायः सबै संसदीय निर्वाचनमा उम्मेदवारी दिएका छन्।
पर्सा — जेन–जी आन्दोलनपछिको परिवर्तनको माग र उम्मेदवारी दर्ता अघिसम्म दुई खेमामा विभाजित भए पनि नेपाली कांग्रेसले पर्सामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पुरानै उम्मेदवारलाई निरन्तरता दिएको छ।
क्षेत्र नं १ बाट अनिल कुमार रुंगटा, २ बाट अजय कुमार चौरसिया, ३ बाट सुरेन्द्र चौधरी र ४ बाट रमेश रिजाललाई कांग्रेसले यसपटक पनि टिकट दिएको हो। उमेरका हिसाबले यी चारमध्ये सबैभन्दा कान्छा अनिल कुमार रुंगटा ५७ वर्षका छन्। अन्य सबै ६० वर्षमाथिका छन्। रिजाल ६९ वर्षका छन्।
यसअघि समानुपातिकबाट संविधानसभा सदस्य बन्न सफल भएका अनिल रुंगटा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएका थिए। उनी तत्कालीन जसपा उम्मेदवार प्रदीप यादवसँग पराजित भएका थिए। रुंगटाले लगातार दोस्रो पटक कांग्रेसबाट टिकट पाएका हुन्।
चौरसिया, चौधरी र रिजालले भने यसअघिका प्रायः सबै संसदीय निर्वाचनमा उम्मेदवारी दिएका छन्। चौरसिया सद्भावना पार्टी हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। चौधरी र रिजालले भने २०४८ यताका सबै संसदीय निर्वाचनमा टिकट पाउँदै आएका छन्। चौरसिया र रिजाल विघटित प्रतिनिधिसभाका सदस्यसमेत थिए।
जेन–जी आन्दोलनपछि नेपाली कांग्रेसले जिल्लाका केही निर्वाचन क्षेत्रबाट उम्मेदवार परिवर्तन गर्ने अनुमान गरिएको थियो, तर त्यो गलत साबित भएको छ।
