प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट ९ जनाको उम्मेदवारी

कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा , नेकपा माओवादी (विप्लव), मितेरी पार्टी र नेमकिपाका उम्मेदवार प्रतिस्पर्धामा

माघ ७, २०८२

कान्तिपुर संवाददाता

9 candidates from Doti for the House of Representatives election

डोटी — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट ९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोटीबाट ९ दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गम्भीर राना मगरले बताए ।

निर्वाचन अधिकृत रानाका अनुसार नेपाली कांग्रेसका तर्फबाट भरत बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । 

२०७४ मा प्रदेश क्षेत्र नम्बर (क) बाट निर्वाचित प्रदेश सभा सदस्य खड्का २०७० सालमा निर्वाचित समानुपातिक सांसद हुन् । उनी हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका तर्फबाट दिपक धामीले उमेदवारी दर्ता गराएका छन् । धामी एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् । उनी पहिलो पटक निर्वाचन लड्दै छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टले उम्मेदवारी दर्ता गरेका छन् । उनी २०७४ सालको निर्वाचनमा एमाले – माओवादी गठबन्धन हुँदा डोटी प्रदेशसभा निर्वाचन खेत्र (ख)बाट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । भट्टले निरन्तर पाँच वर्ष सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नरेन्द्र बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका खड्का २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन लडेका थिए । सो समयमा उनी तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम बहादुर आलेमगरसँग पराजित भएका थिए ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट मनोज भट्टले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खडक अग्रवालले उम्मेदवारी दर्ता गरेका छन् । व्यवसायिक पृष्ठभूमिका अग्रवाल डोटीबाट पहिलो पटक निर्वाचन लड्दै छन् ।

त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका तर्फबाट प्रकाश कठायतले उम्मेदवारी दर्ता गराएका छन् । कठायत अखिल (समाजवादी) केन्द्रिय सचिवालय सद्स्य तथा डोटी जिल्ला ईन्चार्ज हुन् । उनी पार्टीको जिल्ला सचिवालय सदस्यसमेत रहेका छन् ।

मितेरी पार्टी नेपालका तर्फबाट सरस्वती कुमारी पाल मल्लले उम्मेदवारी दर्ता गराएकी छिन् ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट खगेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गम्भीर राना मगरले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully