प्रदेशका ९ मध्ये ६ जिल्लामा महिला उम्मेदवार शून्य छ । बाँकी तीन जिल्लाबाट १८ महिला मैदानमा उत्रिएका छन् ।
अछाम — सुदूरपश्चिममा महिला उम्मेदवारको संख्या न्यून पाइएको छ । दलको छनोटमा नपर्दा प्रदेशका ६ जिल्ला महिला उम्मेदवारबिहीन छन् । मुलुकका प्रमुख दल कांग्रेस र एमालेले एक जना पनि महिला उम्मेदवार उठाएका छैनन् । नेपाली कम्युनिस्ट पार्टी र रास्वपाले एक–एक जना महिला उम्मेदवार उठाएका छन् ।
प्रदेशका ९ मध्ये ६ जिल्लामा महिला उम्मेदवार शून्य छ । बाँकी तीन जिल्लाबाट १८ महिला मैदानमा उत्रिएका छन् । कैलालीका पाँचै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र नेकपाजस्ता प्रमुख दलले महिला उम्मेदवार बनाएनन् । नेपाल मजदुर किसान पार्टी, मितेरी नेपाल पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीजस्ता साना दलले पनि कैलाली र कञ्चनपुरमा मात्र महिला उम्मेदवार अघि सारेका छन् ।
कैलाली–१ मा नेमकिपाबाट सुनिता भण्डारा, आम जनता पार्टीबाट रुपाकुमारी चौधरी र रास्वपाबाट कोमल ज्ञवाली उम्मेदवार बनेका छन् । कैलाली–२ मा नेमकिपाकी लक्ष्मी पुनमगर र मितेरी नेपाल पार्टीकी सम्झना विष्ट थापा उम्मेदवार बनेका छन् ।
कैलाली–३ मा नेमकिपाबाट जुनु महतरा शाही र मितेरी नेपालबाट सुशीला थापा मगर, कैलाली–४ मा नेमकिपाकी अमृता भुल तथा कैलाली–५ मा मितेरी नेपाल पार्टीकी राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाकी शोभामणी जोशी र नेमकिपाबाट तुषण पुनमगर उम्मेदवार छन् ।
कञ्चनपुर–१ नेकपाबाट बिना मगर उम्मेदवार बनेकी छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यही क्षेत्रमा आम जनता पार्टीबाट सीता विक तथा स्वतन्त्रतर्फ रूपादेवी विष्ट र मञ्जुदेवी सुनार उम्मेदवार बनेका छन् ।
कञ्चनपुर–२, बाट नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती राना र कञ्चनपुर–३ मा आम आदमी पार्टीबाट लक्ष्मीकुमारी विष्ट उम्मेदवार छन् । डोटीमा मितेरी नेपाल पार्टीकी सरस्वती पाल मल्लले उम्मेदवारी दिएकी छिन् । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये एमालेले सुरुआती चरणमा कञ्चनपुर–१ मा केन्द्रीय सदस्य कमला बोहरालाई टिकट दिएको थियो । अन्तिममा तारा लामा तामाङलाई टिकट दिएको छ ।
उम्मेदवार नभए पनि सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार महिला ८ लाख ६४ हजार ४ सय २३ र पुरुष ८ लाख ५२ हजार २ सय १९ मतदाता रहेको सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए । प्रदेशमा १८ जना अन्य मतदाता रहेका छन् ।
