यहाँका चारवटा निर्वाचन क्षेत्रमा ७ जना महिला उम्मेदवारले राजनीतिक दलबाट र १३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राजविराज — प्रतिनिधिसभा सदस्यका लागि सप्तरीमा राजनीतिक दल र स्वतन्त्र गरी २० महिलाले उम्मेदवारी दर्ता गरेका छन् । यहाँका चारवटा निर्वाचन क्षेत्रमा ७ जना महिला उम्मेदवारले राजनीतिक दलबाट र १३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी नेपालले महिला उम्मेदवार उठाएको छ । रास्वपाले पुष्पाकुमारी चौधरी र नागरिक उन्मुक्ति पार्टीले टीकालक्ष्मी नारायण चौधरीलाई उम्मेदवार बनाएको हो । त्यहाँ उम्दादेवी सदा, रामकुमारी खंग र रिजवाना खातुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं २ बाट नेपाल मजदुर किसान पार्टीकी नीलमकुमारी यादव, नेपाल जनता पार्टीकी रन्जुकुमारी झा (ठाकुर)ले उम्मेदवारी दिएका छन् । त्यहाँ अम्बिकादेवी साफी, विन्दुकुमारी चौधरी, साधन दास र सुशीलाकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं ३ मा कुनै पनि राजनीतिक दलले महिला उम्मेदवार उठाएका छैन् । त्यहाँ कोशिलादेवी पासवान, कौशलकुमारी चौधरी, रजियादेवी सदा र सरिताकुमारी यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं ४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र आम जनता पार्टीले महिला उम्मेदवार उठाएका छन् । जसपा नेपालबाट डा.वाँबी सिंह, नेकपाबाट रुवीकुमारी कर्ण, आम जनता पार्टीबाट अनिताकुमारी चौधरीले उम्मेदवारी दिएका छन् । त्यहाँ प्रेमकुमारी महरा र सनमकुमारी चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कूल १ सय ४ जनाले उम्मेदवारी दर्ता गराएका यहाँ २ लाख ३३ हजार ९६ पुरुष, २ लाख १३ हजार २ सय ८३ महिला र २३ अन्य गरी ४ लाख ४६ हजार ४सय २ सय मतदाता रहेका छन् ।
