लामो समय सहिद परिवार र पीडित समुदायको हकहितका लागि वकालत गर्दै आएका पुन हाल बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध छन् ।
काठमाडौँ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वको चुनावी मैदान रोचक बन्ने देखिएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल उम्मेदवार रहेको यस क्षेत्रमा सहिदका सन्तान सन्दीप पुनले चुनौती दिएपछि यहाँको निर्वाचन राष्ट्रिय चासोको केन्द्र बनेको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पुनले मंगलबार औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन र परम्परा गौतमका छोरा सन्दिपको उम्मेदवारीलाई रुकुमको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
उम्मेदवार पुन साविकको नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ का अध्यक्ष समेत हुन् ।
लामो समय सहिद परिवार र पीडित समुदायको हकहितका लागि वकालत गर्दै आएका पुन हाल बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध छन् ।
उनी उक्त पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विद्यार्थी कमान्डको नेतृत्व समेत सम्हालिरहेका छन् ।
