२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका र १८ पटक मन्त्री भइसकेका गच्छदार सुनसरीबाट योसहित आठौं पटक चुनावी मैदानमा होमिने भएका छन् ।
सुनसरी — नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर-३ मा पूर्वमन्त्री विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टी सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट बोकेर विजय र उनका भाइपर्ने वेद गच्छदार निर्वाचन अधिकृतको कार्यालय पुगेपछि दिनभर अन्योल भएको थियो । दिनभरको छलफलपछि दुहबी नगरपालिकाका प्रमुखसमेत रहेका वेद गच्छदार पछि हटेपछि अन्तिम समयमा विजयले उम्मेदवारी दर्ता गराएका हुन् ।
२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका र १८ पटक मन्त्री भइसकेका गच्छदार सुनसरीबाट योसहित आठौं पटक चुनावी मैदानमा होमिने भएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिए पनि उनले विशेष अदालतबाट सफाइ पाएका थिए । कांग्रेसको तर्फबाट सुनसरी १ मा सुजेन्द्र तामाङ, क्षेत्र नम्बर २ मा राजीव कोइराला र सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।