कांग्रेस विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष सर्वोच्च गएको थियो ।
काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलकाे इजलासमा तोकिएको छ ।
आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश पोखरेलको एकल इजलासमा सुनुवाइ हुने भएको छ । यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ।
आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो।
आइतबार शेरबहादुर देउवा, पूर्णबहादुर खड्का पक्षबाट वारेस श्रवणकुमार श्रेष्ठले रिट दायर गरेका थिए। रिट त्यही दिन दायर गरी सुनुवाइ पनि त्यही दिन गरिदिन खड्काको माग थियो । तर उक्त माग कानुनअनुसार नमिल्ने जवाफ प्रशासनले दिएको थियो।
रिटमा देउवापक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखिएको छ ।
त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि आज मनोनयन दर्ताको मिति तोकिएको छ। यदि मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ ।
