दाङ–१ मा पूर्वमन्त्री, मुख्यमन्त्री र सांसदहरूबीच नै मुख्य प्रतिस्पर्धा

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

माघ ६, २०८२

दुर्गालाल केसी

The main competition in Dang-1 is between former ministers, Chief Ministers, and MPs.

दाङ — प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा पूर्वमन्त्री, पूर्व प्रदेश मुख्यमन्त्री र सांसदहरू प्रमुख प्रतिस्पर्धी बनेका छन् ।

कांग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए । कांग्रेस प्रवेशपछि शेरबहादुर देउवानिकट रहेका चौधरी पछिल्लो समय गगन थापा नेतृत्वको विशेष महाधिवेशनमा सहभागी भई सहमहामन्त्री बनेका हुन् ।

एमालेबाट लेखा आयोगका सदस्य रेवतीरमण शर्माले उम्मेदवारी दर्ता गरेका छन् । शर्मा २०७४ मा दाङ क्षेत्र नम्बर १ (२) बाट १९ हजार ३ सय ५४ मतका साथ लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०५९ देखि २०६२ सालसम्म एमालेको जिल्ला सचिव थिए ।

नेपाली कम्युनिष्ट पार्टीबाट मेटमणी चौधरीले उम्मेदवारी दर्ता गरेका छन् । २०७९ को निर्वाचनमा चौधरी कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार भई २६ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी भएका थिए । २०७४ मा पनि उनी तत्कालीन एमालेबाट यही क्षेत्रमा ३७ हजार ९ सय ८ मत प्राप्त गरी निर्वाचित भएका थिए । एमाले फुटेपछि उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गई सहरी विकास मन्त्री भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठकले उम्मेदवारी  दर्ता गरेका छन् । उनी २०७९ को निर्वाचनमा क्षेत्र नं. १ मै रास्वपाबाट उम्मेदवार भई १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए ।

यसैगरी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । केसी २०७८ साउन २८ देखि २०७९ पुस २७  सम्म मुख्यमन्त्री भएका थिए ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रकाश शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय वीसी, मंगोल नेसनल अर्गनाइजेशनबाट खुमबहादुर गाहा मगर, नेसनल रिपब्लिकन नेपालबाट मीनबहादुर ठेडी मगर, नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही लगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully