मनोनयनकै दिन एमालेले पाल्पा क्षेत्र नम्बर २ मा गैरेलाई उम्मेदवार बनाएको हो
पाल्पा — फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि पाल्पा-२ मा एमालेबाट ठाकुर गैरेले उम्मेदवार दर्ता गराएका छन् । मंगलबार मात्रै टिक पाएका गैरेले केही समयअघि उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयनकै दिन एमालेले पाल्पा क्षेत्र नम्बर २ मा गैरेलाई उम्मेदवार बनाएको हो । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार मंगलबार बिहान मात्र एमाले केन्द्रीय सदस्य गैरेको नाममा टिकट फाइनल भएको हो ।
मंगलबार बिहानसम्म भने पाल्पा क्षेत्र नम्बर २ मा रामबहादुर राउतको टिकट फाइनल थियो । राउत उम्मेदवार दर्ताको तयारीमा जुटेका बेला गैरेको टिकट भएको हो ।
राउतको टिकट आउनुअघि रुपन्देही क्षेत्र नम्बर २ बाट पाल्पा क्षेत्र नम्बर २ मा टिकट लिएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम आएको थियो । पौडेल पुनः रुपन्देही–२, फर्किइसकेका छन् । अन्तिममा टिकट पाएका गैरे एमाले ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार थिए ।
यसअघि २०७९ को चुनावमा गैरेले नेकपा एसका उम्मेदवार सोमप्रसाद पाण्डेलाई हराएका थिए । पाण्डे यस पटक पनि नेकपाबाट उम्मेदवार बन्दैछन् ।
