मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता : निर्वाचन आयोग

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो ।

माघ ६, २०८२

रासस

Registration of candidacies across the country in an enthusiastic and peaceful manner: Election Commission

काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रसहित मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा समय निर्धारण गरेको थियो । 

निर्वाचन आयोगका अनुसार २७५ स्थानका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी साँझ ५ बजेसम्मको विवरणमा दुई हजार ३३५ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गरिसकेका उम्मेदवारले ५ बजेपछि पनि दर्ता गराउन सक्नेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयनपत्रको समग्र अवस्थाबारे आयोगले आज ५:३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताए ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० वटै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता भएको छ । उनले राजनीतिक दलका साथै स्वतन्त्रका तर्फबाट पनि उत्तिकै उम्मेदवारी परेको जानकारी दिए ।

थलीस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत शान्ति न्यौपानेले व्यवस्थित रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जानकारी दिँदै दर्ता गर्न आउँदा अधिकृतको कार्यालयभित्र प्रवेशका लागि उम्मेदवारका साथ बढीमा पाँच जनालाई मात्र भित्र प्रवेश दिइएकाले सुरक्षा व्यवस्था पनि सहज भएको बताइन् । गोकर्णस्थित काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईले उम्मेदवारी दर्ताका लागि एक हजार ५०० ले फारम लगे पनि ४:३० बजेसम्म १५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन् । 

रासस

Link copied successfully