रोल्पाबाट लगातार चुनाव जित्दै आएको पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादी (हाल नेकपा) लाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको चुनौती
रोल्पा — रोल्पास्थित थबाङ गाउँको एक घरको भित्तामा लेखिएको ‘दलाल संसदीय व्यवस्थाको भ्रममा नपरौं’ नारा मेटिँदै गएकाले मधुरो भएको छ । त्यही भित्तासँगै माओवादीका पूर्वलडाकु अजय घर्ती मगरको घर छ ।
घर्तीमगर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सदस्य हुन् । २०७० को संविधानसभादेखि नै चुनाव बहिष्कार गर्दै आएको चन्दको पार्टी पहिलो पटक निर्वाचनमा सहभागी हुने भएपछि घर्तीमगर थबाङको चुनावी गतिविधि बुझ्न घरघर डुलिहिँड्न थालेका छन् ।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वको उद्गम जिल्ला रोल्पाभित्र पनि तत्कालीन माओवादी आधार क्षेत्रका रूपमा चिनिएको गाउँ हो थबाङ । १ फागुन २०५२ देखि सुरु भएको माओवादी सशस्त्र द्वन्द्वकालमा रोल्पामा मात्र झन्डै १ हजारले ज्यान गुमाएका थिए । थबाङमा मात्रै मृत्यु, बेपत्ता, घाइते र अंगभंग भएका व्यक्तिको संख्या ३ सय छ ।
माओवादीले संसदीय व्यवस्थाविरुद्ध युद्ध थालेको यो गाउँ अहिले २१ फागुनमा हुने संसदीय चुनावको माहोलले तातिएको छ । चुनावमा आमनेसामने हुँदै छन्, पुष्पकमल दाहाल संयोजक रहेको नेकपा र चन्द नेतृत्वको माओवादी । दाहाल नेतृत्वको माओवादीबाट अलग्गिएर चन्दले नेकपा माओवादी बनाएका थिए ।
चन्दले गत २ मंसिरमा चुनावी प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेका थिए । यही कारण पञ्चायतकालदेखि नै निर्वाचनका पक्ष र विपक्षमा मत विभाजित हुँदै आएको थबाङमा फेरि एक पटक निर्वाचनको माहोल तातिएको हो । कहिले खाली मतमेटिका सदरमुकाम फिर्ता पठाउने त कहिले निर्वाचन बहिष्कार गर्ने थबाङमा यस पटक भने उत्साहपूर्वक मतदान हुने निश्चितजस्तै छ ।
थबाङले विश्वास गर्दै आएको कम्युनिस्ट पार्टीमा फुट आएपछि यहाँको मत भने विभाजित भएको देखिन्छ । नेकपा माओवादी सदस्य घर्तीमगरले नेकपा र चन्द नेतृत्वको माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने दाबी गरे । ‘पहिले चुनाव बहिष्कार गर्दै आए पनि यस पटक चुनावलाई उपयोग गर्न सहभागी हुँदै छौं,’ उनले भने ।
चन्दलाई यहाँबाट एकल उम्मेदवार सिफारिस गरिएको थियो । उनी उम्मेदवार बन्ने खबरले सदरमुकाम लिबाङदेखि थबाङसम्म चुनावी सरगर्मी बढेको थियो । तर, सुरुमा आफैं रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने घोषणा गरेका चन्द भने उक्त निर्णयबाट पछि हटेका छन् । ‘उहाँ निर्वाचनमा नउठ्ने भएपछि अर्को उम्मेदवार उठाउनेबारे छलफल हुँदै छ । मंगलबार उम्मेदवारको नामसहित निर्णय सार्वजनिक गर्नेछौं,’ पार्टीका पोलिटब्युरो सदस्य चूडामणि वली आदर्शले भने ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भारी मत खसाएको रोल्पा सदरमुकामभन्दा सुदूरको उक्त बस्तीले २०७० को निर्वाचन बहिष्कार गरेर चर्चा कमायो । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट मोहन वैद्य र चन्द अलग्गिएका बेला थबाङमा निर्वाचन बहिष्कार गरिएको थियो । त्यसअघि २०३८ सालमा भएको जनमत संग्रहमा थबाङ्गीले सबै मतपेटिका रित्तै सदरमुकाम पठाइदिएका थिए ।
रोल्पामा यसअघिका निर्वाचन परिणामअनुसार नेकपा मुख्य राजनीतिक शक्तिका रूपमा देखिएको छ । कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो । दुवै गठबन्धबाट वर्षमान पुन विजयी भएका थिए ।
२०७९ मा कांग्रेससँगको चुनावी तालमेलमा पुन ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याए । २०७४ मा एमालेसँगको गठबन्धनमा पुनले ४२ हजार ८४ मत पाएर चुनाव जितेका थिए भने प्रतिस्पर्धी कांग्रेसका अम्मरसिंह पुनले २० हजार ३ सय ३७ मत प्राप्त गरेका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट तत्कालीन माओवादीकी जयपुरी घर्ती र रोल्पा–२ बाट अध्यक्ष दाहाल भारी मतले विजयी भएका थिए । दाहालले रोल्पा त्यागेपछि भएको उपनिर्वाचनमा सन्तोष बुढा निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट माओवादीका कृष्णबहादुर महरा र रोल्पा–२ बाट ओनसरी विजयी भएका थिए । २०७३ मा पुनःसंरचनापछि रोल्पा एक मात्र निर्वाचन क्षेत्र बनेको थियो । त्यसपछि पुन निर्वाचित हुँदै आएका हुन् ।
नेता पुन यस पटक पनि रोल्पामा नेकपाबाट उम्मेदवार छन् । यस पटक रोल्पाबाट रास्वपाले पनि चुनावी प्रतिस्पर्धा गर्दै छ । रास्वपाले बलराम थापालाई उम्मेदवार बनाएको छ । एमालेले गोकुल घर्तीलाई उम्मेदवार चयन गरेको छ । कांग्रेसले अर्थशास्त्री एवं युवा नेता डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी यसअघि लुम्बिनी प्रदेश योजना आयोगका सदस्यसमेत थिए । रोल्पाको परिवर्तन गाउँपालिका इरिबाङ निवासी ३५ वर्षे डा. वलीले चीनबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् ।
सशस्त्र द्वन्द्वको मुख्य आधार क्षेत्र यही भएकाले तत्कालीन माओवादीले गढका रूपमा रोल्पालाई मान्दै आएको छ । २०६४ को शान्ति प्रक्रियापछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पार्टी अध्यक्ष दाहाल यसै क्षेत्रबाट जितेर प्रधानमन्त्री पनि बने । उनले यहाँको विकास निर्माणलाई मुख्य प्राथमिकता दिने घोषणा समेत गरेका थिए । तर घोषणा गरेअनुसारको विकास हुन नसकेको स्थानीयको गुनासो छ । यस पटक दाहाल थबाङसँग जोडिएको रुकुमपूर्वबाट उम्मेदवारी दिँदै छन् ।
यो पटकको निर्वाचनमा पूर्वमाओवादीको पकड क्षेत्रमा थप शक्ति बढेको नेकपाका केन्द्रीय सदस्य पूर्ण केसीले बताए । उनका अनुसार रोल्पा र रुकुम आधार क्षेत्र भएकाले पार्टीका गढ नै हुन् । ‘यसै पनि यी क्षेत्र हाम्रा पकड क्षेत्र हुन्, धेरै पार्टीसँग एकताले झन् बलियो बनेको अवस्था छ । निर्वाचनमा हाम्रो जित सुनिश्चित छ,’ उनले दाबी गरे ।
कांग्रेसका जिल्ला सभापति किशोरकुमार आचार्यले निर्वाचनको तयारीमा जुटिसकेको बताए । ‘वडा तहदेखि नै कार्यकर्ता परिचालन गर्दै कांग्रेसको एजेन्डा राखेका छौं । चुनावी रणनीति पनि तयार गर्दै छौं,’ उनले भने । उनले नेकपासँग चुनावी प्रतिस्पर्धा हुने उनले जनाए ।
यसअघि पटकपटक चुनाव जितेका पुन थबाङको मत लिएर सत्ता र शक्तिमा पुगे पनि जिल्लामा खासै योगदान नगरेको स्थानीयको गुनासो गरे । त्यसैले रोल्पाले नयाँ पार्टी र उम्मेदवारलाई रोज्न सक्ने केहीको भनाइ छ । चन्दको पार्टीले निर्वाचनमा भाग लिने तय भएपछि कार्यकर्ताहरू खुसी भएको थबाङस्थित एक निजी विद्यालयका प्रिन्सिपल गोविन विश्वकर्माले बताए । तत्कालीन सशस्त्र द्वन्द्वका घाइते, अपांग, बेपत्ता र सहिद परिवारका पक्षमा पुनः चर्चा र छलफल सुरु भएको उनको भनाइ छ ।
थबाङ गाउँको जलजला स्केट पार्कमा भेटिएका २९ वर्षीय सन्तोष बुढा मगरले रोल्पामा चुनावी माहोल तात्दै गएको बताए । ‘चुनावी माहोलमा सहभागी हुने नहुने सोच्दै छु । यदि सहभागी हुने भए नयाँ अनुहारलाई जिताउन खटिन्छु,’ उनले भने । गाउँमा स्वास्थ्य, शिक्षा, विकास निर्माणको प्रबन्ध गर्न सक्ने नयाँ उम्मेदवारलाई भोट दिने उनले जनाए ।
रोल्पामा थबाङ गाउँपालिकासहित ९ गाउँपालिका र एक नगरपालिका छन् । ७४ हजार ६ सय ९० पुरुष र ७४ हजार ९ सय ७ महिला गरी १ लाख ४९ हजार ५ सय ९७ मतदाता छन् । जिल्लामा ८६ मतदान स्थल र १ सय ८० मतदान केन्द्र तोकिएको छ । २०७९ को निर्वाचनमा १ लाख ४५ हजार ४ सय ७१ मतदाता थिए । यसपालि ४ हजार १ सय २६ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
