एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, कांग्रेसबाट जिल्ला सदस्य गमप्रसाद गुरुङ, रास्वपाबाट केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसी, नेकपाका तर्फबाट तत्कालीन माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य हरिजङ तामाङ, राप्रपा जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङसहितले उम्मेदवारी दर्ता गराएका छन् ।
लमजुङ — फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि लमजुङमा १२ जनाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, कांग्रेसबाट जिल्ला सदस्य गमप्रसाद गुरुङ, रास्वपाबाट केन्द्रीय संगठन विभाग सदस्य धर्मराज केसी, नेकपाका तर्फबाट तत्कालीन माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य हरिजङ तामाङ, राप्रपा जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङसहितले उम्मेदवारी दर्ता गराएका छन् ।
सुरुमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट गुजेश्वरी प्रजापति मगजुले उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसपछि नेकपा (माओवादी) का रवीन्द्र नखोलाले उम्मेदवारी दिएका थिए ।
यस्तै, नेसनल रिपब्लिक नेपालका भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ र जनादेश पार्टीका मिलन बास्कोटा गरी १२ जनाले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए ।
उनका अनुसार ६ वटा पार्टीका लागि बिहान साढे १२ बजेदेखि दिउँसो ३ बजेको समय तोकिएको थियो । सुरुमा रास्वपा र अन्तिममा कांग्रेस उम्मेदवारका लागि समय निर्धारण गरिएको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।
