सिरहा-३ मा २ पूर्वमन्त्रीसहित ३ दर्जनभन्दा बढीको उम्मेदवारी दर्ता

एमालेबाट पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वमन्त्री विश्वनाथ साहले यहाँबाट उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ६, २०८२

विनय आजाद

More than 3 dozen candidates, including 2 former ministers, register candidacies in Siraha-3

सिरहा — सिरहा क्षेत्र नम्बर ३ बाट दुई पूर्वमन्त्रीसहित ३ दर्जनभन्दा बढीले मनोनयन दर्ता गराएका छन् । सिरहास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गराएका हुन् ।

एमालेबाट पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र नेकपाबाट पूर्वमन्त्री विश्वनाथ साहले यहाँबाट उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जसपा नेपालबाट अशेश्वर यादवले उम्मेदवारी दिएका छन् । उनी यसअघि २०७४ मा श्रेष्ठसँग झिनो मतान्तरले पराजित भएका थिए ।

कांग्रेसले भने सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । उनी पूर्वमन्त्री एवं कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् । जनमत पार्टीबाट रोहित महतो उम्मेदवार बनेका छन् । रास्वपाबाट शम्भु यादवले मनोनयन दर्ता गराएका छन् ।

यस क्षेत्रमा यसरी विभिन्न पार्टी र स्वतन्त्र गरी अहिलेसम्म ३६ जनाको उम्मेदवारी दर्ता भइसकेको र अझै हुने क्रममा रहेको सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले जनाए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully