शिशिर खनालको उम्मेदवारीको असनकी युवा उद्यमी शैलेजा कसाजु प्रस्तावक र जेन-जी आन्दोलनका घाइते अभिषेक थापा समर्थक रहेका छन् ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वमन्त्री तथा निवर्तमान सांसद खनालको उम्मेदवारीमा असनकी युवा महिला उद्यमी शैलेजा कसाजु प्रस्तावक र जेन-जी आन्दोलनका घाइते अभिषेक थापा समर्थक रहेका छन् ।
उम्मेदवारी दर्तापछि खनालले भने, 'आज मेरो उम्मेदवारीको प्रस्तावक र समर्थक नै परिवर्तनका संवाहक हुनुहुन्छ। अभिषेकजीले सडकमा बगाएको रगत र शैलेजाजीले उद्यममार्फत देखाउनुभएको साहसलाई खेर जान दिने छैनौँ । राष्ट्रिय स्वतन्त्र पार्टी अब बालेन शाहको नेतृत्वमा देश हाक्न तयार छ। हामी काठमाडौं- ६ बाटै देशको नयाँ अध्याय सुरु गर्नेछौँ ।'
काठमाडौं- ६ का जनताले अघिल्लो निर्वाचनमा सुम्पेको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरेको खनालको भनाइ थियो । यो क्षेत्रको शिक्षा, सुशासन र समग्र विकासका लागि आफ्नो सक्रियता रहने खनालले प्रतिबद्धता जनाएका छन् ।
