पत्रकारितामा लामो अनुभव हासिल गरेका दानी प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हुन् ।
काठमाडौँ — राष्ट्रिय जनमोर्चाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट पत्रकार रोशन दानीले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्णयअनुसार दानीलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको हो ।
पत्रकारितामा लामो अनुभव हासिल गरेका दानी प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हुन् । उनी पत्रकारितामार्फत सामाजिक अन्याय, भ्रष्टाचार, विभेद र उत्पीडनविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् ।
युवालाई संगठित गर्दै सामाजिक अभियानमा जोड्न सक्रिय दानी युवा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत हुन् । उनले विपद् व्यवस्थापन, राहत र मानवीय सेवाका क्षेत्रमा योगदान दिँदै आएका छन् ।
'युवा आऊ, देश बचाउ' अभियानका अगुवा दानी नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा राज्यको दायित्व हुनुपर्छ भन्ने अभियानका अभियान्नता हुन् । उनी थानकोट जेसीजका पूर्वअध्यक्ष पनि हुन् ।
