कातिर नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा चार दशकको राजनीतिक भारी बोक्दै अघि बढिरहेका केपी शर्मा ओली । अर्कातिर नयाँ पुस्ताको चाहना, असन्तुष्टि र ऊर्जाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र साह ।
दमक, झापा — दमक नगरपालिका–८ स्थित तरकारी मन्डीको खुला परिसर मंगलबार झापा–५ को निर्वाचन कार्यालय मात्र थिएन, त्यो दुई फरक राजनीतिक समय, दुई भिन्न ऊर्जा र दुई अलग–अलग यात्राको प्रतीकात्मक संगमस्थल बनेका थियो ।
एउटै ठाउँ, एउटै प्रक्रिया तर पात्र यति भिन्न कि उनीहरूलाई एउटै फ्रेमले समेटे पनि उनीहरूको आभा एक–अर्कालाई छोप्न सक्तैनथ्यो । एकातिर नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा चार दशकको राजनीतिक भारी बोक्दै अघि बढिरहेका केपी शर्मा ओली । अर्कातिर नयाँ पुस्ताको चाहना, असन्तुष्टि र ऊर्जाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र साह ।
ओली मलिन देखिन्थे । मानौं लामो यात्राका कारण थाकेका यात्रुजस्ता । बालेन्दै चम्किला थिए, मानौं नयाँ पहाड चढ्न तयार, भीडको ऊर्जा पिउँदै अघि बढिरहेजस्ता । राजनीतिक प्रतिस्पर्धा त थियो नै, तर त्यसभन्दा पर यी दुई व्यक्तित्वले सम्हालेको समय र मनोदशाको विरोधाभास झन् तीव्र देखिन्थ्यो ।
ओलीको मनोनयन दर्ताको समय दिउँसो १ बजे निर्धारण गरिएको थियो । बालेन्द्रको ११ बजे । तर, ओली करिब २ बजे मात्र निर्वाचन कार्यालय पुगे । समय बिथोलिनुको प्रमुख कारण थियो, बालेन्द्रको उपस्थितिले सहरभर फैलिएको भीड, चहलपहल र सुरक्षा व्यवस्थापनको दबाब ।
दमक बजार बिहानैदेखि उत्सवमय थियो । गीत बजिरहेको थियो । राष्ट्रिय झन्डा फहराइएका थिए । भीडले उत्सवको वातावरण बनाइदिएको थियो । काठमाडौंका पूर्व मेयरलाई देख्न, सुन्न, फोटो खिच्न वा भीडको भाग बन्न टाढा–टाढाबाट ‘फ्यान’हरूको ओइरो लागेको थियो ।
तामझामसहित निर्वाचन कार्यालय पुगेका बालेन्द्रको मनोनयन झन्डै एक घण्टा ढिलो भयो । कारण, आवश्यक कागजात अपूर्ण । कागज जुटेपछि उनले पौने १ बजे प्रमाणपत्र बुझेर बाहिर निस्किए । बाहिर समर्थकको वाक्लो भीड । भित्र सञ्चारकर्मीको घेरा । तर, बालेन्द्रले प्रश्नहरू अस्वीकार गरे । एकपटक त पत्रकारलाई ‘बाहिर जानोस्’ भनेर निर्देशन नै दिए । अन्ततः उनी आफैं स्टेयरिङ समातेर समर्थकमाझ निस्किए । समर्थकहरू पनि उनीसँगै पछिपछि निस्किए ।
मन्द गतिमा आएको पुरानो शक्तिको चेहरा
बालेन्द्रका पछि मनोनयन दर्ता गर्न आएका थिए, नेकपाका युवा उम्मेदवार रन्जित तामाङ । तामाङको प्रक्रिया सकिएपछि मात्रै ओली निर्वाचन कार्यालय आइपुगे । तर, उनको आगमनलाई बालेन्द्रले ‘फिक्का’ पारेर हिँडेका थिए ।
ओली न धेरै समर्थकमाझ थिए, न धेरै सुरक्षाकर्मीहरूको घेरामा । उनको हाउभाउ पनि पहिलाजस्तो गम्भीर, दृढ र आदेशात्मक थिएन । स्वर मसिनो, चाल ढिलो, अनुहारमा आत्मविश्वासको स्पष्ट चमक कम थियो । मानौं समयको भार, जिम्मेवारीको थकान र राजनीति नामक लामो यात्राले उनी थाकेका छन् ।
२०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका ओलीको यो आठौ चुनावी यात्रा हो । यस दौरान उनले जित–हार, समर्थन–विरोध, सत्ता–विपक्ष सबै अनुभव गरिसकेका छन् । तर यसपटक उनी कागजात र तालिकासँग होइन, समय र शैलीसँगै प्रतिस्पर्धा गरेझैं देखिन्थे । एक यस्तो ‘पपुलर फिगर’सँग, जसले परम्परागत राजनीतिक तालमेलका धागोहरू च्यातेको छ ।
संवादका दुई शैली
बालेन्द्रले पत्रकारको प्रश्न नै अस्वीकार गरे, जबकि ओली पत्रकारतर्फ फर्किए । यद्यपि उनको स्वर मलिन, ऊर्जा कम थियो । त्यसमाथि गाइँगुइ हल्लाले उनी बोलेकै सुनिएन ।
ओली बोले, ‘केके सोध्नुहुन्छ सोध्नूस्,’ उनका शब्दहरू चिरपरिचित तेजसहित झल्किएको देखिएन ।
जब एक पत्रकारले सोधे, ‘भर्खरै बालेनको तामझाम देख्नुभयो होला, कस्तो लाग्यो ?’
हल्का एटिच्युटमा ओलीको छोटो उत्तर थियो, ‘मैले देखिनँ ।’
यो ‘मैले देखिनँ’मा राजनीतिका धेरै तह भेटिन्थ्यो । इन्कार, उपेक्षा, बचाउ, वा स्वीकार्न नसकिएको एउटा नयाँ चुनौती थियो ।
यसै परिसरमा एकै फ्रेममा देखिएका ओली र बालेन्द्रले एउटा साझा सन्देश छोडे, ‘यो चुनाव उम्मेदवारबीचका प्रतिस्पर्धा मात्रै होइन, यो त समयको, शैलीको र जनअपेक्षाको प्रतिस्पर्धा पनि हो ।’
ओली प्रतिनिधित्व गर्छन् पुरानो राजनीतिक संरचनाको शक्ति, लामो अनुभव, पार्टी मेसिनरी र राज्यसँगको गहिरो सम्बन्धको ।
बालेन्द्र प्रतिनिधित्व गर्छन् निराशा बीचबाट जन्मिएको नयाँ खोज, बयस्क भइसकेको आक्रोश, परिवर्तनको आकांक्षा र व्यक्तिगत ‘फ्यान कल्चर’ समेतको ।
