जनता समाजवादी पार्टी, नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले यहाँबाट उम्मेदवारी दिएका छन् ।
सिरहा — सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच जना पूर्वमन्त्रीले उम्मेदवारी दिएका दिएका छन् । मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पाँच जना पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी, नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले यहाँबाट उम्मेदवारी दिएका छन् ।
यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन् । यसअघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए । जनमतका वीरेन्द्र भने यसअघि यसै क्षेत्रबाट जसपा नेपालबाट चुनाव जितेर सांसद हुँदै मन्त्री भएका थिए ।
दुई पटक सांसद भएका उनी त्यसअघि सोही जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए । तर, जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका हुन् । यसअघि २०७४ मा प्रत्यक्ष चुनाव लडेका उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए ।
एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भएका छन् । विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री भएका हुन् । यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ, जसले यहाँको चुनावी प्रतिस्पर्धा रोचक बनाउने छ ।
यसबाहेक यस क्षेत्रबाट कांग्रेसबाट चन्द्रकला देवी यादव र राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादवले पनि उम्मेदवारी दिएका छन् । उनीहरू यसअघि चुनाव लडेका छैनन् ।
निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार, यसरी यस क्षेत्रबाट विभिन्न पार्टी र स्वतन्त्र गरी अहिलेसम्म १९ जनाको उम्मेदवारी दर्ता भइसकेको र अझै हुने क्रममा छन् ।
