नेकपा एमालेबाट विद्रोह गरी उदयपुर क्षेत्र नं १ बाट डा. देवराज रोका (कल्याण) र क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका मेजर राई (मिजास)ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उदयपुर — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पार्टीले टिकट नदिएपछि उदयपुरका दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट विद्रोह गरी उदयपुर क्षेत्र नं १ बाट डा. देवराज रोका (कल्याण) र क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका मेजर राई (मिजास)ले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराएका हुन् ।
युवा स्वरोजगार कोषका पूर्वकार्यकारी उपाध्यक्ष रहेका रोका अर्थशास्त्रीसमेत हुन् । उनले एमालेबाट टिकटको अपेक्षा गरेका थिए तर पार्टीले बेलका नगरपालिकाका पूर्वप्रमुख समेत रहेका दुर्गाकुमार थापा (स्वस्ती)लाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले पार्टीले आफ्नो लगाव, मिहिनेत र विज्ञतालाई अनादर गरेपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएको प्रतिक्रिया दिए ।
यस्तै, उदयपुर क्षेत्र नं २ मा चुनाव लड्न चाहेका लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए । अन्तिम समयसम्म पनि पार्टीको टिकट पर्खेर बसेको भए पनि नेकपाले सुरेशकुमार राई (हिमाल)लाई टिकट दिएपछि गाउापालिका अध्यक्ष पदबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । पार्टीले टिकट नदिए पनि उदयपुर क्षेत्र नं २ का मतदाताले आफूलाई न्याय गर्ने उनले बताए ।
