म जहाँ गयो त्यहीँ पार्टीको हेडक्वार्टर हुन्छ । अब रुकुममा आएँ, रुकुम नै हेडक्वार्टर हुन्छ : दाहाल
काठमाडौँ — नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब पार्टीको हेडक्वाटर रुकुम हुने बताएका छन् । एक थान सांसद हुन मात्र नभई ‘जनयुद्ध’ को भावना सम्बोधन गर्दै राष्ट्रिय अभियान सुरु गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार भएको उनले बताए ।
‘हामीले महान् इतिहास र निर्णयको सम्मानका लागि पनि यो पटक नेपाली कम्युनिस्ट पार्टीलाई विजयी गराउन जरुरी छ। हामी देशभरि जाँदा केही अपिल गरेका छौं। यहाँ पनि म गर्वको साथ तपाईंहरूको अगाडि उम्मेदवारको हैसियतले रोल्पाबाट भने मैले रोल्पाबाट सुरु गरेको हो पहिला चौसट्टीमा,’ उनले भने, ‘अब अहिले बयासी (०८२) मा रुकुममा । यो इतिहास हो । एउटा नयाँ रेकर्ड बनेको छ र रुकुमबाट एउटा नयाँ अभियान देशले देख्नेछ । म जहाँ गयो अहिले, अब पार्टीको हेडक्वार्टर त्यहीँ हुन्छ। अब रुकुममा आएँ, रुकुम नै हेडक्वार्टर हुन्छ ।’
उनले २०६४ मा रोल्पा र काठमाडौंबाट पहिलो पटक चुनावमा भाग लिएका उनले रुकुम पूर्व अन्तिम हुन सक्ने बताए । ‘रोल्पाबाट सुरु भएर रुकुममा सम्भवतः यो मेरो प्रत्यक्ष निर्वाचनको अन्तिम पनि हुन सक्छ। यो आफैंमा एउटा रेकर्ड जस्तो बनेको छ। केन्द्रीय आधार इलाकाको रूपमा स्थापित रोल्पाबाट सुरु गरेर केन्द्रीय आधार इलाकाका रूपमा स्थापित रुकुममा आएर उम्मेदवारी दिनु आफैंमा मेरो लागि गर्वको विषय भएको छ,’ उनले भने, ‘मेरो मन मस्तिष्कमा चुनबाङ बैठक ताजा स्मरण भएको छ। जुन बैठकले नेपालमा झन्डै ढाई सय वर्ष पुरानो राजतन्त्रको अब अन्त्य गर्ने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोल्ने काम गरेको थियो त्यो रुकुम पूर्वमै छ ।’
उनले एक थापन सांसद पदका लागि मात्र रुकुम पूर्व नआएको उल्लेख गर्दै सहिद, बेपत्ता घाइतेको सपना पूरा गर्न आएको बताए ।
‘एक थान सांसद पदको लागि म आएको होइन । म तपाईंहरू सबैलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु। मैले इतिहासका ती महान् वीर विरंगनाहरू, क्रान्तिका ती सपना, शहीदका सपना, बेपत्ता योद्दाहरूका सपना कता कता यस बीचमा अलिकति धमिलो जस्तो भएको महसुस गरेको छु,’ उनले भने ।
