दाङ-१ मा लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उम्मेदवारी

नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

माघ ६, २०८२

दुर्गालाल केसी

Former Lumbini Chief Minister KC files independent candidacy in Dang-1

दाङ — लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा नेता केसीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उनी २०७४ मा रोल्पा १ (१) मा माओवादी केन्द्रबाट १८ हजार ५ सय १२ मतका साथ प्रदेश सांसद् निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।

संस्थापक मुख्यमन्त्री भएका एमाले महासचिव शंकर पोख्रेल अल्पमतमा परेपछि केसी दोस्रो मुख्यमन्त्री भएका थिए । पोख्रेल २०७४ फागुन ३ देखि २०७८ साउन २७ सम्म मुख्यमन्त्री भएका थिए भने केसी २०७८ साउन २८ देखि २०७९ पुस २७  सम्म मुख्यमन्त्री भएका थिए ।

पार्टीले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले एमालेसँग पनि सहकार्यको प्रयास गरेका थिए । अन्तिम समयसम्म पनि सहमति नभएपछि उनले एक्लै उम्मेदवारी दर्ता गरेका हुन् । चौधरी २०७९ मा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनबाट चौधरी निर्वाचित भएका थिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully