आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाउने घोषणा
पोखरा — उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवं ऊर्जा विज्ञ कुशल गुरुङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर गुरुङले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
लामो समयदेखि नेपालको ऊर्जा संकट समाधान र वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील गुरुङले यसपल्टको निर्वाचनमा मुलुकको आर्थिक समृद्धि र सुशासनलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका छन् । उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशलाई लोडसेडिङको अँध्यारोबाट मुक्त गर्न प्राविधिक रूपमा आफूले योगदान दिएको स्मरण गर्दै अब नीति निर्माण तहमा पुगेर देशलाई आर्थिक रूपमा पनि 'उज्यालो' बनाउन चाहेको बताए ।
परम्परागत राजनीतिक दल र नेताहरूबाट जनता आजित भइसकेको भन्दै उनले कास्कीका मतदाताले यसपल्ट भिजन भएको र क्षमतावान् उम्मेदवारलाई रोज्ने विश्वास व्यक्त गरे । उनले पोखराको पर्यटन प्रवर्द्धन, हरित ऊर्जाको विकास र युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
राजनीतिक रूपमा चर्चामा रहने कास्की निर्वाचन क्षेत्र नम्बर २ एमालेका रश्मि आचार्य, कांग्रेसका माधवप्रसाद बास्तोला 'मधु', नेकपाका हेमबहादुर थापा, रास्वपाका उत्तमप्रसाद पौडेल लगायत विभिन्न राजनीतिक दलका उम्मेदवारह चुनावी मैदानमा छन् । यद्यपि, ऊर्जा र वातावरणका क्षेत्रमा विज्ञता हासिल गरेका गुरुङको उम्मेदवारीले यहाँको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ । उनले विशेषगरी युवा पुस्ता र तटस्थ मतदाताहरूलाई आकर्षित गर्ने रणनीति लिएका छन् । आफू विज्ञको हैसियतले संसद्मा पुगेर नेपालको परम्परागत विकास मोडललाई परिवर्तन गर्न लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको व्यावसायिक र प्राज्ञिक पृष्ठभूमि निकै सबल मानिन्छ । उनीसँग एसिया र युरोपका विभिन्न मुलुकमा करिब १५ वर्ष 'न्यून कार्बन' क्षेत्रमा काम गरेको विशेष अनुभव छ । उनी नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने 'विन्डपावर नेपाल' का संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । यसका साथै जैविक फोहोरबाट कम्प्रेस्ड बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने 'गण्डकी ऊर्जा' का उनी सह-संस्थापक एवं निर्देशक हुन् भने 'मुथा एग्रो' मार्फत उनले आधुनिक हाइड्रोपोनिक्स खेतीको पनि नेतृत्व गरिरहेका छन् ।
राष्ट्रिय स्तरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघको अध्यक्षका रूपमा कार्यरत गुरुङले नेपाल सरकारको वातावरण संरक्षण परिषद्मा विज्ञ सदस्यका रूपमा समेत सेवा पुर्याइसकेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने उक्त परिषद् र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समिति सदस्यका रूपमा उनले नीतिगत तहमा योगदान दिएका छन् । उनी अमेरिकाको एस्पेन इन्स्टिच्युटबाट 'एस्पेन आइडिया फेस्टिभल फेलो २०२४' र एसिया सोसाइटीबाट 'एसिया २१ योङ लिडर' का रूपमा छनोट भएका व्यक्तित्व हुन् ।
बेलायतको युनिभर्सिटी अफ एडिनबरा बिजनेस स्कुलले उनलाई विगत १०० वर्षका उत्कृष्ट १०० पूर्व विद्यार्थीको सूचीमा समावेश गरेको छ । उनले उक्त विश्वविद्यालयबाट 'कार्बन म्यानेजमेन्ट' र त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका छन् ।
